पञ्जीकरणको जिम्मा स्वास्थ्यचौकी इञ्चार्जलाई – News Nepal Media
Trend

रुकुम (पूर्व), १८ साउन(रासस) ः रुकुम पूर्वको पृथा उत्तरगङ्गा गाउँपालिकाको सबै वडा सचिवविहीन छन् । सुरुदेखि नै सचिवविहीन बनेका वडामा स्वास्थ्यचौकी इञ्चार्जले पञ्जीकरणको काम गर्दै आएका छन् ।

वडा सचिव नभएपछि गाउँपालिकाले नै सबै वडामा वडा सहायक खटाएको छ । वडा सहायकले वडाबाट हुने सबै कामकाजको कागजपत्र मिलाउने, सिफारिस तयार पार्ने गर्दछन् । वडाबाट नजिक पर्ने स्वास्थ्यचौकीका इञ्चार्जले हस्ताक्षर गरेर अहिलेसम्म कामकाज चल्दै आएको पृथा उत्तरगङ्गा गाउँपालिका– ५ का वडाध्यक्ष एवं गाउँ कार्यपालिकाका प्रवक्ता टिकासाई घर्तीले बताउनुभयो । कतिपय वडामा झन कागजात तयारको काम कार्यालय सहयोगीले पनि गर्दै आएको उहाँ बताउनुहुन्छ । घर्तीका अनुसार गाउँपालिकाको १, २, ३, ४, ९ र १२ नं वडामा वडा सचिवको काम गाउँपालिकाका स्वास्थ्य संयोजक एवं मैकोट स्वास्थ्यचौकीका इञ्चार्ज समीर गिरीले गर्दै आउनुभएको छ । वडा नं १, २, ३, ४ र ९ नं का नागरिक वडाबाट सिफारिसलगायत अन्य कागजातमा हस्ताक्षर गराउनुप¥र्यो भने फाइल बोकेर तकसेरा आउने गर्दछन् । मैकोट गएको खण्डमा मैकोटबाट झर्ने बेलासम्म १२ नं वडाका नागरिकले कागजातमा हस्ताक्षरको लागि गिरीलाई पर्खनुपर्ने अवस्था रहेको प्रवक्ता घर्तीले
बताउनुभयो ।

प्रवक्ता घर्तीका अनुसार गाउँपालिकाको ५ र ६ नं वडामा स्वास्थ्यचौकी हुकामका इन्चार्ज हेमन्त बुढाथोकीले पञ्जीकरणको काम गर्दै आउनुभएको छ । ७ र ८ नं वडामा स्वास्थ्य चौकी रिबाङचौर जाङका इन्चार्ज, १०, ११ र १३ नं वडामा स्वास्थ्यचौकी तकसेराका इञ्चार्ज कलिभान विष्ट र १४ नं वडामा स्वास्थ्यचौकी राङ्सीका इञ्चार्ज सरोज यादवले पञ्जीकरणको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ ।
भौगोलिक विकटता भएको यस क्षेत्रका नागरिक दुईतीन दिन लगाएर एउटा सिफारिस बोकेर रुकुमकोट पुग्ने र त्यही सिफारिस नमिल्दा सिफारिस बनाउन तीन दिन लगाएर मैकोट÷पेल्मा फर्कनुपर्ने अवस्था रहेको छ ।

यता गाउँपालिका स्वास्थ्य संयोजक समीर गिरीले स्वास्थ्यचौकी इञ्चार्जले पञ्जीकरणको काम सम्हाल्दा स्वास्थ्य क्षेत्रको काम प्रभावित हुने गरेको बताउनुभयो । वडा सचिवविहीन हँुदा पञ्जीकरणको सबै काम अस्तव्यस्त हुने गरेको गाउँपालिकाका अध्यक्ष पुनीराज घर्तीले बताउनुभयो । वडा सचिव नहुँदाखेरी नै यस गाउँपालिकाभित्रका धेरै नागरिकको समयमै मृत्यु, जन्म, विवाह दर्ता नहुने गरेको पाइएको छ । कतिपय नागरिकले उमेर पुगेर पनि वडाबाट आवश्यक कागजात नबन्दा सामाजिक सुरक्षा भत्ताबाट वञ्चित हुनुपरेको पाइएको गाउँपालिका अध्यक्ष घर्तीले बताउनुभयो ।

यस गाउँपालिकामा स्थानीय तहको चुनाव भइसकेपछि सुरुको वर्षमा १० नम्बर वडामा मात्र एक सचिव आएको र उहाँ पनि दुई चार महिना बसेर जानुभएको थियो । त्यसपछि आजका दिनसम्म यस गाउँपालिकामा एक जना पनि वडासचिव आएका छैनन् । पहिलो कार्यकायलको स्थानीय सरकारले एक पटक दरबन्दी अनुसारको कर्मचारी माग गरी मन्त्रालयमा पठाएको थियो ।

कर्मचारी नपठाएपछि त्यसपछि भने गाउँपालिकाले कर्मचारी माग गर्नै छोड्यो । अहिले नयाँ जनप्रतिनिधि आएपछि भर्खरै मात्रामा गाउँपालिकाको रिक्त रहेको पदमा कर्मचारी माग गरी पठाएको गाउँपालिकाका अध्यक्ष घर्तीले बताउनुभएको छ

गाउँपालिका पनि विगत तीन वर्षयता निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलेको छ । अहिले गाउँपालिकामा निमित्ति प्रमुख प्रशासकीय अधिकृतसहित लेखा, कृषि, पशु, शिक्षा, कम्यूटर अपरेटरमा एकएक जना मात्र स्थायी कर्मचारी छन् । उनीहरु पनि सबै निमित्त हुन् । प्राविधिक शाखा सबै खाली
छ । स्वास्थ्यमा २३ जना स्थायी कर्मचारी रहेका छन् ।

यस्तै गाउँपालिकाले गएको पाँच वर्षे कार्यकालमा भर्ना भएका सबै करार कर्मचारीको सम्झौता नवीकरण गरेको छैन् । नयाँ आर्थिक वर्ष सुरु भएसँगै करार सम्झौता नवीकरण नगरेको गाउँपालिकाले अहिले सबै कर्मचारी नयाँ भर्ना गरिरहेको छ । पहिलो चरणमा गाउँपालिकाले कृषि, पशु, शिक्षा र स्वास्थ्य क्षेत्रको लागि १२६ जना करार कर्मचारीको माग गरेको थियो । अहिले यी क्षेत्रमा कर्मचारी व्यवस्थापनको लागि परीक्षाको काम चलिरहेको गाउँपालिकाले जनाएको छ । अन्य रिक्त विभिन्न पदमा पनि गाउँपालिकाले कर्मचारी व्यवस्थापनको काम गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

कावासोती ट्रायल सेन्टरको नाम परिवर्तन, अब ‘नवलपुर ट्रायल सेन्टर’

नवलपुरमा एक महिने निःशुल्क ड्राइभिङ तालिम सुरु

कावासोती वडा नं ७ मा सुनौलो हजार दिन कार्यक्रमअन्तर्गत ६२ आमालाई पोषण सामग्री वितरण

आइतबार देखी अनिवार्य रूपमा विद्यालयहरू सञ्चालन गर्न हुप्सेकोट गाउँपालिकाको आग्रह

“मेवाको मिठाससँगै मिठो कमाइः मिनबहादुर बसेकाछन् कृषिमा रमाई”

हिमानी ट्रस्टले जुम्लामा सुत्केरी सेवा केन्द्र बनाउँदै


TOP