छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटनामा परि आज ४ जनाको मृत्यु भएको छ। नेपाल ट्राफिक प्रहरीको अनुसार धनुषा र धादिङमा भएको दुर्घटनामा ४ जनाले ज्यान गुमाएका छन।
धनुषाको लक्ष्मीनिया गाउँपालिका ४ मा गएराती ट्याक्टरलाई ठक्कर दिएर मोटरसाइकल पल्टिदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइक चालक स्थानीय ४५ वर्षीय राम एकवाल ठाकुर र पछाडी सवार ६० वर्षीय सतो साह सुडी रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागी प्रादेशिक अस्पताल जनकपुर पु-याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । महेन्द्रनगरबाट लक्ष्मीनिया तर्फ जादै गरेको ज १ त ५२ ४५ नम्बरको ट्याक्टरको टेलरमा सोही दिशा तर्फ जादै गरेको ज १० प ६४ २९ नम्बरको मोटरसाइकल गएराती ९ बजे ठोकिएर पल्टिएको थियो । दुबै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने ट्याक्टर चालक फरार भएकाले खोजि भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।
यस्तै धनुषाको गणेशमान चारनाथ नगरपालिका ९ बरमझियामा हिजो मोटरसाईकल दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । दुर्घटनामा मृत्यु हुनेमा मोटरसाईकलमा पछाडी सवार शहिदनगर नगरपालिका ९ कि ४५ वर्षिया कुमारी देवी मण्डल रहेकी छिन् ।
उनलाई उपचारको लागि अस्पताल पु-याउन साथ चिकित्सकले मृत घोषणा गरेका थिए । मोटरसाईकल चालक निजकै छोरा २८ वर्षिय उदय कुमार मण्डल भने घाईते भएकाले प्रादेशिक अस्पताल जनकपुरमा उपचार भैरहेको छ । हिजो बेलुकी ७ बजे विरेन्द्रबजारबाट बरमझिया तर्फा जादै गरेको प्रदेश २ ०२ ००६ प २६५१ नम्बरको मोटरसाईकल अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरी चौकी बरमझियाले जानकारी दिएको छ ।
यस्तैगरी धादिङको बेनिघाट रोराङ गाँउपालिका ३ हिलटपमा गएराती सवारी साधनको ठक्करबाट पैदलयात्री पुरूषको मृत्यु भएको छ । नम्बर नखुलेको सवारी साधनको ठक्करबाट गम्भीर घाईते भएका अन्दाजी ५१ बर्षीय पुरुषको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा राती पौने २ बजे मृत्यु भएको हो ।
मृतकको नाम थर वतन खुल्न बाँकी रहेको छ । गएराती सवा १ बजे भएका सवरी दुर्घटनामा संलग्न भइ हाल सवारी साधन सहित फरार चालकको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।