बुधबार , असार ६, २०८१
राजनीतिक सहयोद्धा नै चुनावमा मुख्य प्रतिस्पर्धी – News Nepal Media
Trend

बागलुङ, २१ कात्तिक (रासस) ःविद्यार्थी राजनीतिबाट एकाएक उदाउनुभएका डिल्लीराम सुवेदी बागलुङ–१ (२) बाट प्रदेशसभा सदस्य उम्मेदवार हुनुहुन्छ । ससंदीय राजनीतिमा ‘डेब्यु’ मार्ने दाउसहित ३९ वर्षीय सुवेदी चुनावी मैदानमा उत्रनुभएको हो । सत्ता गठबन्धनका साझा उम्मेदवार सुवेदी यसअघि नेपाल विद्यार्थी सङ्घमा सक्रिय हुनुहुन्थ्यो । नेविसङ्घको केन्द्रीय उपाध्यक्ष हुँदै सिधै मूलधारको राजनीतिमा आउनुभएका उहाँ नेपाली कांग्रेसका कान्छा उम्मेदवारमध्येमा पर्नुहुन्छ ।

काठमाडौँस्थित शिक्षा क्याम्पसको स्ववियु सभापति भइसक्नुभएका सुवेदी कांग्रेसका महाधिवेशन प्रतिनिधि हुनुहुन्छ । शिक्षाका लागि राष्ट्रिय अभियानका केन्द्रीय अध्यक्ष सुवेदीले सार्वजनिक शिक्षाको सुधारका पक्षमा वकालत गर्दै आउनुभएको छ ।

बागलुङ नगरपालिका–१४ मा जन्मनुभएका उहाँलाई सो निर्वाचन क्षेत्रका ४६ हजार ८६ मतदातामध्ये कतिले पत्याउने हुन् त्यसका लागि त मङ्सिर ४ नै कुनुपर्छ । बरु रोचक पक्ष त के छ भने हिजोका राजनीतिक सहयोद्धा नै यो चुनावमा सुवेदीका मुख्य प्रतिस्पर्धी हुनुहुन्छ ।

कांग्रेस त्यागेर नेकपा (एमाले)बाट उम्मेदवार बन्नुभएका नवराज पौडेलले सुवेदीलाई चुनौती दिनुभएको छ । सुवेदी र पौडेल सँगसँगै गत वर्ष कांग्रेसको महाधिवेशन प्रतिनिधिमा विजयी बनेका थिए । पौडेल कांग्रेसका निवर्तमान जिल्ला सचिवसमेत हुनुहुन्छ । दुवै पहिलोपटक प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेका हुन् ।

सो क्षेत्रबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका गोविन्द सापकोटा र मङ्गोल नेशनल अर्गनाइजेशनका सहवीर थापा पनि उम्मेदवार हुनुहुन्छ । बागलुङ–१ (२) ले जैमिनी नगरपालिका, बरेङ गाउँपालिका र बागलुङ नगरपालिकाका वडा नं १२, १३ र १४ लाई समेट्छ ।

पचास हजार पाँच सय ८० मतदाता रहेको बागलुङ–१ (१) मा भने मुख्य प्रतिस्पर्धीका रुपमा पुरानै अनुहार देखिएका छन् । विसं २०७४ को प्रदेशसभा सदस्य चुनावमा पराजित दीपेन्द्रबहादुर थापा यसपालि पनि उम्मेदवारमा दोहोरिनुभएको छ । उहाँका विरुद्ध एमालेले युवा नेता हीराबहादुर खत्रीलाई उतारेको छ ।

थापाले अघिल्लो चुनावमा एमालेका इन्द्रलाल सापकोटासँग हार व्यहोर्नुपरेको थियो । वाम गठबन्धनबाट साझा उम्मेदवार रहनुभएका सापकोटाले १७ हजार नौ सय १५ र थापाले ११ हजार नौ सय ८९ मत ल्याउनुभएको थियो । अहिलेको चुनावमा भने थापालाई पाँच दलीय गठबन्धनको साथ छ भने एमाले एक्लै चुनावी मैदानमा छ ।

कांग्रेसका पूर्वजिल्ला सभापति थापाले यसपालिको चुनावलाई हारको बदला लिने अवसरका रुपमा लिनुभएको छ । थापालाई एमालेका जिल्ला अध्यक्ष खत्रीको चुनाती छ । विसं २०७० को दोस्रो संविधानसभा चुनावमा पराजित खत्रीलाई एमालेले प्रदेशसभा उम्मेदवार बनाएको छ । यी दुवै यसअघिका चुनावमा परीक्षण भइसकेका पात्र हुन् ।

थापा र खत्रीबीचको प्रतिस्पर्धा रोचक हुने ठानिएको छ । यो अन्यत्रको तुलनामा एमालेको जनमत बढी भएको क्षेत्र पनि हो । गत स्थानीय चुनावमा भने यहाँका दुईवटै स्थानीय तहमा कांग्रेस उम्मेदवारले जितेका थिए । बागलुङ–१ (१) मा काठेखोला गाउँपालिका र बागलुङ नगरपालिकाका १ देखि ११ सम्मका वडा पर्छन् ।

यो क्षेत्रमा राप्रपाका डिल्लीप्रसाद आचार्य, सामाजिक एकता पार्टीका भक्तबहादुर विक र स्वतन्त्र उम्मेदवार दीपेन्द्र हमाल पनि उम्मेदवार हुनुहुन्छ । यी पनि प्रदेशसभा सदस्य उम्मेदवारमा नयाँ अनुहार हुन् ।

बागलुङ–२ (१) मा दुई जना मात्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । सत्ता गठबन्धनबाट कांग्रेसका जीत शेरचन र एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवार प्रकाश घर्ती चुनावमा होमिनुभएको छ । घर्ती पहिलोपटक ससंदीय चुनावमा उम्मेदवार बन्नुभएको हो भने शेरचन तेस्रोपटक ।

कांग्रेसका जिल्ला सभापति शेरचन विसं २०७४ र विसं २०७६ को उपचुनावमा बागलुङ–२ (२) बाट चुनाव लड्नुभएको थियो । तेस्रोपटकमा जित निकाल्ने दाउसहित उहाँ चुनावी मैदानमा हुनुहुन्छ । दुई–दुई पटकसम्म जसले हराए उनै दलको साथ लिएर शेरचन स्वतन्त्र उम्मेदवार घर्तीसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।

अघिल्लो चुनावमा वाम गठबन्धनको एक्लै सामना गर्नुपर्दा उहाँ पराजित हुनुपरेको थियो । यसपालि शेरचनले चुनाव क्षेत्र पनि बदल्नुभएको छ । बागलुङ–२ (२) का शेरचन (१) बाट चुनाव लड्दै हुनुहुन्छ । एमालेले आफ्नै उम्मेदवार उठाउन नसकेपछि शेरचनका विरुद्ध स्वतन्त्र उम्मेदवार घर्तीलाई समर्थन गरेको छ । लालटिन चिह्न लिएर उम्मेदवार बन्नुभएका घर्ती गत स्थानीय चुनावमा ताराखोला गाउँपालिकाको अध्यक्ष पदमा स्वतन्त्रबाट हार्नुभएको थियो ।

विसं २०७४ को स्थानीय तह चुनावमा नेकपा (माओवादी केन्द्र)बाट ताराखोला गाउँपालिकाको अध्यक्ष बन्नुभएका घर्ती गत चुनावमा पार्टीले उम्मेदवार नबनाएपछि असन्तुष्ट हुनुहुन्थ्यो । प्रदेशसभा चुनावमा एमालेको साथ पाएपछि उहाँ फेरि स्वतन्त्र उम्मेदवारी दिएर प्रतिस्पर्धामा उत्रनुभएको छ ।

विसं २०६२ मा काठमाडौँको ताहचल क्याम्पसको स्ववियु सभापति हुँदै विद्यार्थी राजनीतिबाट जिल्ला पार्टीको नेतृत्वसम्म आइपुग्नुभएका शेरचन र स्वतन्त्र उम्मेदवार घर्ती एकार्काका लागि कति चुनौती बन्ने हुन् त्यो त हेर्न बाँकी छ ।

दुई जना मात्र उम्मेदवार रहेकाले सो क्षेत्रको चुनावलाई चासोपूर्वक हेरिएको छ । गलकोट नगरपालिका, ताराखोला र बडिगाड गाउँपालिका सो क्षेत्रमा पर्छन् । त्यहाँ ५४ हजार तीन सय ३४ मतदाता छन् ।

बागलुङ–२ (२) मा भने मुख्य प्रतिस्पर्धी उम्मेदवार नयाँ छन् । युवा पुस्ताको प्रतिनिधित्व गर्ने कांग्रेसका द्रोर्ण कुँवर र एमालेका लक्ष्मण पुन चुनावी मैदानमा हुनुहुन्छ । कांग्रेस महाधिवेशन प्रतिनिधि कुँवर र एमालेका जिल्ला उपाध्यक्ष पुन दुवै पहिलोपटक ससंदीय चुनावमा उम्मेदवार बन्नुभएको हो ।

कुँवरलाई पाँच दलीय गठबन्धनको साथ छ भने पुन एमालेको आफ्नै शक्तिका आडमा जित्ने रणनीतिमा हुनुहुन्छ । सो क्षेत्रमा विसं २०७४ को चुनाव र त्यसपछिको उपचुनावमा राष्ट्रिय जनमोर्चाका उम्मेदवारले जितेका थिए । वाम गठबन्धनसामु त्यतिबेला काँग्रेस कमजोर देखिएको थियो ।

अहिले जिल्लाका निर्णायक दुई वाम शक्ति माओवादी केन्द्र र जनमोर्चालगायतसँग मिलेर कांग्रेस चुनाव लड्दैछ । एकचालीस हजार दुई सय २७ मतदाता रहेको सो क्षेत्रमा ढोरपाटन नगरपालिका, निसीखोला र तमानखोला गाउँपालिका पर्छ ।

जनता समाजवादी पार्टीका गङ्गाबहादुर घर्ती, नेशनल अर्गनाइजेशन पार्टीका ताराबहादुर घर्ती, सामाजिक एकता पार्टीका टेकप्रसाद कामी, स्वतन्त्रबाट नरबहादुर गुरुङ र दुर्गादेवी घर्ती पनि सोही क्षेत्रबाट प्रदेशसभा सदस्यका लागि प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । मुख्य प्रतिस्पर्धा भने गठबन्धन र एमालेका उम्मेदवारबीच हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक

नवलपुरमा ब्युटिसियन तालिमका सहभागीलाई दिईयो उद्यमशिलता विकास तालिम

नवलपुर सेवा समाज युएई द्वारा नवलपुरको दश वटा सामुदायिक विद्यालयहरुमा तिन लाखको अक्षयकोष स्थापना

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी नवलपुर कावासोती आउँदै

छिपछिपे सहकारी ठगी : ७ अभियुक्त पुर्पक्षमा जेल चलान

आजको राशिफल ~ वि.सं. २०८१ ज्येष्ठ २६ गते शनिवार : श्री दाउन्ने देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP