असार तेस्रो सातासम्ममा यहाँ ६० प्रतिशत रोपाइँ सकिएको छ । वर्षा भइरहे यसै महिनाभित्रमा अधिकांश भेगमा रोपाइँ सकिने कृषि ज्ञान केन्द्रले जनाएको छ । “छ हजार हेक्टरमा धानखेती हुने गरेकामा अहिलेसम्म तीन हजार ६०० हेक्टरमा रोपाइँ भइसकेको छ”, केन्द्रका प्रमुख भानुभक्त भट्टराईले भन्नुभयो, “ किसान रोपाइँको चटारोमा छन्, मनसुनले पनि साथ दिएको छ ।”
मकैबाली लगाइने खेतमा भने रोपाइँ केही ढिलो हुने गरेको उहाँको भनाइ छ । सिञ्चित र दुई बाली फल्ने खेतमा रोपाइँ छिटो हुन्छ । जिल्लाकै धेरै धानखेती हुने गलकोटको मजुवाफाँट, चिसापानी, ब्राहमुरी, आँगाखेतलगायतका ठाउँमा जेठमै रोपाइँ सकिएको थियो ।
ती ठाउँमा बाह्रैमास सिँचाइ सुविधा पुगेको र खोला आसपासमा खेत भएका कारण रोपाइँ छिटो गरिएको हो । त्यस क्षेत्र भएर बग्ने दरमखोला र गौँदी खोलाबाट आएका कुलाले त्यहाँको ठूलो उब्जाउ भूमिलाई सिञ्चित गर्छन् । केन्द्रका अनुसार गलकोटसहित कुश्मीसेरा, खरबाङ, ग्वालीचौर, निसी, बुर्तिबाङलगायतका क्षेत्र छिटो रोपाइँ हुनेमा पर्छन् । रोपाइँ हुने मुख्य महिना असार भए पनि ती ठाउँमा पहिल्यै रोपाइँ सुरु भइसक्छ । मकैबाली हुने खेतमा भने किसानले मकै झिकेपछि असार अन्तिम र साउनसम्मै रोपाइँ गर्छन् ।
यहाँको दक्षिण अमलाचौर, नारायणस्थान, बिहुँ, पाला, मालिका, बुर्तिबाङको उपल्लो भेगलगायतका ठाउँमा भने रोपाइँ ढिलो हुन्छ । जिल्लाको कूल छ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । त्यसमध्ये १० हेक्टरमा मात्र चैतेधान लगाइन्छ । “यस वर्ष धानखेती हुने क्षेत्रफल बढ्ने अनुमान छ”, उहाँले भन्नुभयो, “उन्नतमा कम र स्थानीय जातकै धानमा किसानको बढी आकर्षण देखिन्छ ।” परालको जोहो र चामलको स्वादका लागि किसानले स्थानीय जातकै धान रोज्ने गरेको उहाँको भनाइ छ ।
उन्नत धानतिर किसानलाई आकर्षित गर्न केन्द्रले बीउ वितरण, बिज वृद्धिलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ । उन्नत जातको धान लगाउँदा १५ प्रतिशतसम्म उत्पादन बढाउन सकिने प्रमुख भट्टराईले बताउनुभयो । जिल्लाको २० प्रतिशत सिञ्चित क्षेत्रमा मात्रै धानखेती हुँदै आएको छ । यहाँका किसानले स्थानीय जातका साथै उन्नततर्फ माछापुच्छ«े, छुन्दुङ, हिमाली, सावित्री, जेठोबुढो, सुक्खा–१, २, ३ लगायत उन्नत धानको खेती गर्दै आएका छन् ।