ऐतिहासिक झोलङ्े पुलको संरक्षण – News Nepal Media
Trend

म्याग्दी सदरमुकाम बेनी बजारको पश्चिमतर्फ म्याग्दी नदीमाथि रहेको झोलुङ्गे पुल यस क्षेत्रकै मूल्यवान ऐतिहासिक सम्पदाका रुपमा रहेको छ ।

पुरानो बजार मङ्गलाघाटमा विसं १९४४ मा निर्माण गरिएको पाति चढाउने डिल र मंगलाघाट जोड्ने उक्त पुल आजभन्दा १३५ वर्ष पहिले बागलुङको गलकोटका स्व लालप्रसाद शेरचनले लुकुर वनको काँचो फलाम र म्याग्दीको रुम गाउँका स्थानीयवासीको पुलमा काम गर्ने सीपलाई प्रयोग गरी सो पुल बनाउनुभएको थियो ।

स्थानीय प्रविधि र स्रोतसाधन प्रयोग गरी बनाइएको उक्त झोलङ्गे पुल तत्कालीन समयमा म्याग्दी खोला वारपारका लागि हालिएको यस क्षेत्रकै पहिलो पुल भएको बूढापाकाको भनाइ रहेको छ । बेनी बजारका ज्येष्ठ नागरिक ८१ वर्षीय नैनकुमार श्रेष्ठले काँचो फलामलाई गोलमा तताएर घनले कुटेर साङ्ले लठ्ठा बनाइ खोलामा वारपारका लागि सो पुल हालिएको आफूले आफ्ना बुबाबाट जानकारी पाएको बताउनुभयो ।

अहिले पुलमा प्रयोग भएको साङ्ले लठा सोही समयमा स्थानीय स्रोत र सीपलाई प्रयोग गरी बनाइएको उहाँको भनाइ छ । तत्कालीन समयमा माथि र तल गरी दुई साङ्ले लठ्ठामा फलामको पाता राखेर एउटा काठको फल्याक मात्रै राखेर वारपार गर्ने झोलुङ्गे बनाइएको उहाँले जानकारी दिनुभयो ।

विसं २०१४ मा म्याग्दीको बाबियाचौरमा बसोबास गर्ने पुलका निर्माणकर्ता शेरचनका नाति भीमप्रसाद शेरचनको पहलमा झोलुङ्गेलाई हटाएर झोलुङे पुलका रुपमा विकास गरिएको श्रेष्ठले जानकारी दिनुभयो । “यो ठाउँमा पुल बन्नुअघि यस क्षेत्रमा कुनै पनि पुल थिएन, तत्कालीन गुल्मी र बागलुङमा अड्डा रहँदा म्याग्दी र पर्वतका स्थानीयवासी सबैजसो यहीँबाटो वारपार गर्थे लामो समयसम्म म्याग्दीको म्याग्दीखोला पारिका स्थानीयवासी र वारीका स्थानीय वारपार गर्ने मुख्य बाटो यही बन्यो”, श्रेष्ठले भन्नुभयो ।

सदरमुकाम बेनीमा रहेको जिल्लाकै पुरानो यो पुल ऐतिहासिक धरोहर भएकाले यसको संरक्षणका लागि तीन वर्ष अघि बेनी नगरपालिकाले रु तीन लाख खर्चेर मर्मत गरेको थियो । पुरानो र ऐतिहासिक महत्व बोकेको यो पुलको काठ कुहिएको र जालीसमेत तितरवितर हुन थालेपछि मर्मतका लागि वडा कार्यालयको सिफारिसमा नगरपालिकाको उक्त बजेटमा प्राविधिकको सल्लाहबमोजिम जिल्लाकै पुरानो पुलकोस्वरुप नबिग्रने गरी मर्मत र संरक्षण गरिएको बेनी–७ का पूर्ववडाध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

स्थानीय स्रोत र सीपलाई प्रयोग गरी बनाइएको साङ्ले लठाको तौल धेरै भएको र अहिलेको जस्तो प्रविधि नभएकाले नदीमा लठ्ठालाई तन्काउन तत्कालीन समयमा यस क्षेत्रका प्रायजसो सबै गाउँका बासिन्दा बेनी झेरका बताइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक

नवलपुरमा ब्युटिसियन तालिमका सहभागीलाई दिईयो उद्यमशिलता विकास तालिम

नवलपुर सेवा समाज युएई द्वारा नवलपुरको दश वटा सामुदायिक विद्यालयहरुमा तिन लाखको अक्षयकोष स्थापना

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी नवलपुर कावासोती आउँदै

छिपछिपे सहकारी ठगी : ७ अभियुक्त पुर्पक्षमा जेल चलान

आजको राशिफल : वि.सं. २०८१ ज्येष्ठ २८ गते सोमवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP