नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला सङ्घको ७५औँ स्थापना दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

दैनिक चुलोचौकामा सीमित महिलालाई नेपाली राजनीतिमा स्थापित गर्नका लागि महिलानेत्री मङ्गलादेवी सिंहको सक्रियतामा विसं २००४ साउन २४ गते नेपाल महिला सङ्घको स्थापना भएको हो । सिंहको सक्रियतामा काठमाडौँको भेडासिंस्थित चिनियाँलाल श्रेष्ठको घरमा भूमिगतरूपमा महिला भेला भएको थियो । सो भेलाले मङ्गलादेवी सिंहका अध्यक्षतामा सङ्घको पहिलो ११ सदस्यीय तदर्थ कार्यसमिति गठन भएको थियो । नेपाली कांग्रेस स्थापना भएकै ताका सङ्घको स्थापना भएको हो ।

महिला अधिकारका लागि स्थापना भएको राजनीतिक सङ्गठन स्थापना भएको साउन २४ लाई नै नेपाली राजनीतिमा महिलाहरूको प्रवेशका लागि कोशेढुङ्गाका रूपमा लिने गरिन्छ । नेपाली कांग्रेसकी नेत्री एवं पूर्वउपप्रधानमन्त्री सुजाता कोइराला नेपाली राजनीतिमा महिलाको ठूलो योगदान रहेको बताउनुहुन्छ । “लोकतन्त्र स्थापनामा नेपाली महिलाको महत्वपूर्ण भूमिका रहेको छ”, उहाँ भन्नुहुन्छ । नेत्री कोइराला नेपाली महिलाले नेपाली राजनीतिमा गरेको योगदानको आधारमा आगामी निर्वाचनमा महिलालाई टिकट दिनुपर्ने बताउनुहुन्छ ।

घरभित्रको काममा सीमित महिला विसं २००४ मा सङ्गठित भएसँगै विसं २००७, २०३६, २०४६ र २०६२÷६३ मा भएको राजनीतिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो ।

नेपाल महिला सङ्घकी निवर्तमान अध्यक्ष एवं महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी महिला आन्दोलनका कारण प्रतिनिधि तथा प्रदेशसभामा ३३ प्रतिशत महिलाको अधिकार सुनिश्चित भएको हो भन्नुहुन्छ । “स्थानीय तहको प्रमुख र उपप्रमुखमध्ये एक महिला हुनुपर्ने, राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एक महिला हुनुपर्ने, सभामुख र उपसभामुखमध्ये एक महिला हुनुपर्ने नियम महिला आन्दोलनका कारण भएको हो”, उहाँ भन्नुहुन्छ ।

देशको कुल जनसङ्ख्याको आधा जनसङ्ख्या भएको महिलालाई हरेक क्षेत्रमा बराबर अधिकार स्थापित गर्नका लागि आगामी दिनमा महिला सङ्घ लाग्नुपर्ने उहाँको भनाइ छ ।

सङ्घकी पूर्वअध्यक्ष एवं सांसद डा डिला सङ्ग्रौला पन्त महिलाले निर्वाचनमा जुन हिसाबले टिकट पाउनुपर्ने हो त्यो पाउन नसकेको गुनासो गर्नुहुन्छ । “देशको कुल जनसङ्ख्याको आधाभन्दा बढी जनसङ्ख्या रहेको महिलालाई जनसङ्ख्याको अनुपातमा टिकट दिँदा पुरुष पनि समानुपातिकमा जाने मौका पाउन सक्छन्, यो पुरुष र महिला दुवैका लागि राम्रो कुरा हो”, उहाँ भन्नुहुन्छ । राजनीतिक दलले महिलालाई प्रत्यक्षमा निर्वाचन लड्ने मौका दिनुपर्ने उहाँको भनाइ छ ।

विसं २००३ मा कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा विराटनगर जुटमिलमा भएको आन्दोलनमा दिव्यादेवी कोइराला, नलिनी उपाध्याय, इन्दिरा आचार्य, कामिनी गिरीलगायतका जेल पर्नुभएको थियो । उहाँहरू महिला अधिकार र श्रमिक अधिकारका लागि आन्दोलन गर्दागर्दै जेल पर्नुभएको हो । विसं २००७ को क्रान्तिपछि पार्टीहरू स्वतन्त्र भएपछि नेपाल महिला सङ्घले पनि खुलारूपमा काम गर्न थालेको थियो ।

कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतम महिला आन्दोलनका कारण पछिल्लो समय महिलाहरू राजनीति र देशका अन्य तहमा पुगेको बताउनुहुन्छ । “महिला आन्दोलनको उपलब्धि जुन हिसाबले अगाडि बढ्नुपर्ने हो, त्यो बढ्न नसक्नु दुःखको कुरा हो, तर संविधानमा ३३ प्रतिशत महिला अधिकार सुनिश्चित गरेको छ त्यो महिला आन्दोलनका कारण भएको हो”, उहाँ भन्नुहुन्छ ।

महिला नेत्री गौतम अहिले प्राप्त महिला अधिकारको रक्षा गर्दै आगामी दिनमा अगाडि बढ्नुपर्ने बताउनुहुन्छ । महिला आन्दोलनकै कारण देशको कार्यकारी पदमा महिला पुगेको उहाँको भनाइ छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय