नेपाली पत्रकारिता क्षेत्रका विज्ञहरुले आमसञ्चारमाध्यमको सङ्ख्यात्मक वृद्धिभन्दा पनि विषयवस्तुको गुणस्तरमा जोड दिनुभएको छ ।
व्यावसायिक पत्रकारिता अध्ययन केन्द्रले आज आयोजना गरेको ‘देशका मिडियाः बदलिँदो समयमा प्रेसका चुनौती’ विषयक अन्तरक्रियामा सञ्चार क्षेत्रका विज्ञले पछिल्लो समयमा बजारको अध्ययन नगरीकन आफ्नो सोख पूरा गर्ने उद्देश्यले मिडिया खोल्ने तर विषयवस्तुमा मतलब नराख्ने प्रवृत्ति बढ्दै गएको बताउनुभयो ।
पत्रकारिताका प्राध्यापक पी खरेलले नेपाली पत्रकारिता क्षेत्रलाई सोसल मिडियासँग तुलना गर्न नहुने भन्दै आमसञ्चारमाध्यम मुख्य गरी जनताका विषयवस्तुमा बढीभन्दा बढी ध्यान केन्द्रित गर्नुपर्ने धारणा राख्नुभयो ।
वरिष्ठ पत्रकार रामकृष्ण रेग्मीले सूचना, सञ्चार र प्रविधिको तीव्र विकाससँगै आमसञ्चारमाध्यमले पनि आफूलाई समयअनुरुप परिवर्तन गर्दै लैजानुपर्ने र विशेषगरी समाचार कक्षको विश्वसनीयतालाई कायम राख्नुपर्नेमा जोड दिनुभयो । सञ्चारसम्बन्धी कानुनका विज्ञ डा रामकृष्ण तिमिल्सेनाले भन्नुभयो, “वास्तवमा नेपालमा कति मिडिया हाउसको आवश्यकता हो, कति पत्रकार हुनुपर्ने हो, पत्रकारिता अध्ययन गर्ने कलेज कति हुनुपर्ने हो, त्यसबारेमा अहिलेसम्म पनि अध्ययन हुन सकेको छैन, अध्ययन हुन जरुरी छ ।”
प्राडा कुन्दन अर्यालले नेपाली पत्रकारिताका विषयवस्तुका बारेमा सम्पादक बीचमा पनि छलफल हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । बागमती प्रदेशका प्रेस रजिष्ट्रार रेवती सापकोटाले पत्रकारले लेखेका समाचार गुणस्तरीय र विश्वसनीय हुनुपर्ने धारणा राख्नुभयो । राष्ट्रिय समाचार समिति (रासस) का महाप्रबन्धक सिद्धराज राईले राससले सम्प्रेषण गर्ने समाचार सामग्रीमा अझै सुधार गर्ने प्रयत्न गरिरहेको बताउनुभयो ।
अधिवक्ता रामकृष्ण निरालाले पत्रकारिता क्षेत्रलाई अझै व्यवस्थित बनाउन पत्रकार र सञ्चारमाध्यमले पत्रकार आचारसंहिताको पूर्ण पालना गर्नुपर्नेमा जोड दिनुभयो । व्यावसायिक पत्रकारिता अध्ययन केन्द्रका अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर नेपालले पछिल्लो समयमा पत्रकारिता क्षेत्रका निम्ति ‘सोसल मिडिया’ चुनौती बन्दै गएको सन्दर्भ उल्लेख गर्दै आमसञ्चारमाध्यमले आफूलाई परिमार्जन गर्नुपर्ने धारणा राख्नुभयो ।