बुधबार , साउन १५, २०८२
पूर्वी नवलपरासीमा होटल खुल्ने क्रम बढ्यो – News Nepal Media
Trend

नारायण शर्मा पूर्वी नवलपरासी — पूर्वी नवलपरासीमा केही वर्षयता होटलमा लगानी थपिँदै गएको छ । नयाँ र फरक सुविधा दिने होडबाजीसहित होटल खोल्ने क्रम बढेको छ । दुई वर्षको अवधिमा यहाँ खोलिएका होटलमा ५ अर्ब भन्दा बढी लगानी रहेको तथ्यांकले देखाएको छ ।

यहाँ ठूला तारे होटलदेखि फरक फरक सुविधाका होटल छन् । नेपालकै ठूलो व्यावसायिक घराना चौधरी समूह, आईएमई समूह र कहलिएका पर्यटन व्यवसायीले यहाँका होटलमा लगानी गरेका छन् । होटलमा लगानी गर्नेमा वैदेशिक रोजगारीबाट फर्किएका युवा, ठूला व्यावसायिक घरानादेखि जग्गा कारोबारी समेत छन् । गैंडाकोट स्थित मौलाकालिका डाँडामा मौलाकाली केबुलकार सञ्चालकले करिब एक अर्बको लगानीमा ७० कोठाको होटल निर्माण गरिरहेका छन् । त्यहाँ केबुलकारसँगै सञ्चालनमा ल्याइने लक्ष्य रहेको छ । यो चारतारे होटल हो । मौलाकाली केबलकार प्रालिको लगानी रहेको छ ।

केबलकार सहित यो होटलमा करिब एक अर्ब लगानी रहको केबलकारका म्यानेजर सुरज पौडेल बताउँछन् । उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रराज ढकालको मुख्य लगानी रहेको छ । मौलाकालिका डाँडामा निर्माणाधिन यो होटलको माथिल्लो भागमा स्विमिङ पुल समेत रहेको छ । होटलको छतमा हेलिप्याड र स्विमिङ पुल सुविधा सहितको यो होटल नवलपरासीको फरक सुविधा भएको पहिलो हो ।

मौलाकालिका मन्दिरको टुप्प्पोमा निर्माणाधीन यो होटल आगामी भदौ अगाडि सञ्चालनमा ल्याउने लक्ष्य छ । स्विमिङ पुल र छतमा हेलिप्याडको सुविधा भएको यो होटलबाट देवघाट, चितवनको माडी र पूर्वी नवलपरासीका अधिकांश स्थानको दृष्यावलोकन गर्न सकिन्छ । डाँडाको जंगलमा निर्माण हुँदै गरेको यो होटल शान्त र रमणीय स्थलमा छ । केबलकारमा आउने तिर्थालुको सुविधाका लागि यो होटल खोलिएको हो । यो होटलले करिब ४० जनालाई प्रत्यक्ष रोजगारी दिने सञ्चालकको दावी छ ।

गैंडाकोट नगरपालिकाको हर्कपुरमा करिब ८० करोडको लगानीमा बगैँचा एडभेन्चर रिसोर्ट निर्माणको अन्तिम चरणमा छ । वैदेशिक रोजगारी र अध्ययनको शिलशिलामा अस्ट्रेलिया बसेका युवा व्यवसायी सन्तोष धितालले यो रिसोर्टमा लगानी गरेका छन् । यो नेपालमा फरक शैलीको होटल हो । २० वटा कोठा, हल, हरेक रुममा स्विमिङ पुल र बार सहितको यो रिसोर्ट आसार दोस्रो साताबाट सञ्चालनमा ल्याइएको छ । निर्माणाधीन रिसोर्टलाई स्थानीयले गाडा होटल भन्ने गरेका छन् । कार्ट हाउस (गाडा घर भनेर यसलाई चिनाउन खोजिएको छ । वातानुकुलित यो होटलमा बाहिर र कोठा भित्रको तापक्रममा १२ डिग्री फरक हुने व्यवसायी सन्तोष धितालको दाबी छ । ‘यस्तो फरक शैलीको रिसोर्ट यो नै नेपालको पहिलो हो’ उनले भने ।

१८ इन्च बाक्लो पर्खाल रहेको यो होटलको भित्री कोठामा एसी जडान नहुने सञ्चालकको भनाइ छ । ‘गर्मीयाममा चिसो रहने र जाडो याममा न्यानो हुने छ’ धितालले भने ‘होटल रहेको स्थानमा अर्गानिक तरकारी उत्पादन गर्न साढे ६ बिघा क्षेत्रफल छ ।’

२ बिघामा बगैंचासहित होटल निर्माण भएको छ । रिसोर्टले साढे ४ बिघा जग्गामा अर्गानिक उत्पादन गरिरहेको छ । धान, तरकारी, मकै, फापर, तोरी र लसुन सबै आफ्नै जग्गामा उत्पादन सुरु गरेको छ । ५ वटा भिल्ला परम्परागत नेपाली गाडा माथि कोठा बनाइएको छ । यहाँ नुहाउने कोठा खुला आकासमुनि, ढुंगेधारायुक्त छ । गाडा घर (होटल कक्ष) माथि छानोको ३० प्रतिशत भागमा सिसा लगाइएको छ ।

राति सुत्दा त्यहाँबाट जुनतारा देख्न सकिन्छ । होटलको सबै कोठाको माथिल्लो भागमा परम्परागत थारु समुदायले बनाउँदै आएको खपडाको छानो राखिएको छ । नारायणगढ बजारदेखि १४ किलोमिटर पश्चिम हर्कपुरमा यो होटल छ । होटलमा बाँसको ढुंग्रामा खाना पकाउने प्रविधि राखिएको छ । होटल सञ्चालकले अहिले नै १० वर्षसम्मलाई पुग्ने बाँस लगाएका छन् । होटलका पाहुनाले खानाखाने थाल, प्लेट, गिलास समेत काठबाट नै बनाइएको छ । फरक शैली र नयाँपन दिन यसो गरिएको सञ्चालक धितालको दाबी छ ।

यहाँ तोरी पेल्ने ढुंगाको कोल समेत राखिएको छ । एकैपटक ५ सय जना राखेर कार्यक्रम गर्न सकिने हल समेत संचालनमा छ । गाडा घर बाहेकका १५ वटा भिल्लामा सनबाथको पनि व्यवस्था छ । होटल पूर्णरुपमा सञ्चालनमा आउँदा ६० जनाले रोजगारी पाउने सञ्चालकको भनाइ छ । यहाँ थारु र मगर समुदायको सांस्कृतिक कार्यक्रम प्रदर्शन गरिने संचालकले बताएका छन् ।

चौधरी समूहले यहाँको दुम्कौलीमा मिराया वेलनेस एन्ड गल्फ रिसोर्ट सञ्चालनमा ल्याएको छ । नेपालका उद्योगपति विनोद चौधरीको दुम्कौलीमा रहेको सीजी औद्योगिक पार्क भित्र यो रिसोर्ट रहेको छ । मनोरम जंगलभित्र रहेको यो रिसोर्टले ठ्याक्कै नेपालको पायोनियर होटर टाइगर टप्सको झल्को दिन्छ । चितवन निकुञ्ज भित्र करिब ८० वर्षअघि निर्माण गरिएको टाइगर टप्सको झल्को दिने यो रिसोर्टमा १६ वटा विशिष्ट कोठा छन् । काठैकाठबाट निर्माण गरिएको यो रिसोर्ट फरक शैलीको छ । विगत ३० वर्षदेखि हुर्काइएको जंगलभित्र निर्माण गरिएको रिसोर्ट परिसरमा गल्फ कोर्ट, ब्याडमिन्टन, बास्केटबल कोर्ट पनि छ । शास्वतधाम मन्दिरको उत्तर पश्चिममा निर्माण गरिएको यो रिसोर्ट अगाडि मानव निर्मित शान्त तलाउ छ ।

जंगलभित्रको शान्त वातावरणमा रहेको यो रिसोर्टमा वाइन टेस्टिङ वर्कसप, क्यूरेटेड स्पा, हाइड्रो थेरापी, वेलनेस थेरापी, नेचर ट्रेलजस्ता फरक सुविधा रहेको सीजी हस्पिटालिटीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । मिराया नजिक अर्को गल्फ रिसोर्ट पनि सञ्चालनमा छ । सुन्दर गल्फकोर्स नजिकै निर्माण गरिएको यो रिसोर्टमा ध्यान र योग अभ्यास समेतको कोर्स गराइने सीजी हस्पिटालिटीको भनाइ छ । करिब ६ बिघा क्षेत्रफलमा फैलिएको यो रिसोर्ट वरपर डेढ घण्टा पैदल हिँड्न मिल्ने जंगल छ । जग्गासहित यो रिसोर्टमा करिब एक अर्बको लगानी रहेको कम्पनीले जनाएको छ । काठैकाठबाट बनाइएको रिसोर्ट अत्यन्तै फरक शैलीको छ । हेलिप्याडको समेत सुविधा रहेको यो होटल नारायणगढबाट २० किलोमिटर पश्चिम दुम्कौलीमा छ । पोखरा र लुम्बिनी आउने विदेशी पर्यटकलाई लक्षित गरेर यो होटल निर्माण भएको हो ।

कावासोतीस्थित अमलाटारी नजिकमा करिब एक अर्बको लगानीमा हिमालयन सेन्चुरी होटल सुरु भएको छ । परम्परागत थारु शैलीको झल्को दिने यो होटल नारायणी नदी किनारमा छ । बाहिरबाट झट्ट हेर्दा थारु शैलीमा बनाइएको घरले थप आकर्षण बढाएको छ । स्विमिङ पुल सहित फरक फरक भिल्ला छ । यहाँ २४ वटा कोठा रहेको छ । पाँचवटा हेलिप्याड छ । थारु साँस्कृतिक कार्यक्रम र खाना यसका फरक विशेषता हुन् । चितवन निकुञ्ज र नारायणी नदी किनारमा रहेकाले यो शान्त वातावरणमा छ । कावासोती नगरपालिका–१७ अमलटारीमा होटल रहेको छ ।

महेन्द्र राजमार्गबाट करिब ३ किलोमिटर दक्षिणमा प्रदीप थापाले रिभर साइड ग्रिन रिसोर्ट सञ्चालनमा ल्याएका छन् । उनका बाबु जग्गा व्यापारी हुन् । प्रदीप अस्ट्रेलियामा रोजगारीमा छन् । हाल रमेशले नै यो होटलको जिम्मेवारी सम्हालेका छन् । नारायणी नदी किनारमा रहेको यो रिसोर्टमा ३० वटा कोठा र भिल्ला छन् । ३ बिघा क्षेत्रफलमा रहेको यो रिसोर्टमा स्विमिङ पुलको सुविधा छ । यसमा करिब ४५ करोड लगानी भइसकेको प्रदीप बताउँछन् । नारायणगढबाट २० किलोमिटर पश्चिम फारम बजारबाट करिब ३ किलोमिटर दक्षिण नारायणी नदी किनारमा यो रिसोर्ट छ ।

सौराहामा भिडभाड बढेको भन्दै पूर्वी नवलपरासीस्थित नारायणी नदी किनारमा होटल र रिसोर्टमा लगानी गर्ने क्रम बढेको पुराना पर्यटन व्यवसायी पलट चौधरी बताउँछन् । पर्याप्त सामुदायिक वन, चितवन निकुञ्ज, नारायणी र फराकिलो ठाउँ भएका कारण यो क्षेत्रमा विदेशी पर्यटकलाई लक्षित गरेर होटल व्यवसायमा लगानी बढ्दै गएको र फरक फरक सुविधा दिनेक्रम बढेको चौधरी बताउँछन् ।

नेपालकै महँगा टाइगर टप्सको थारु भिलेज, मचान भिल्ला लगायतका होटल यही क्षेत्रमा रहेका कारण नेपाल आउने र बढी सुविधा खोज्ने पर्यटकको रोजाइँमा यहाँका होटल र रिसोर्टहरु रहेको उनको भनाइ छ । यहाँका ६ वटा मध्यवर्ति क्षेत्र र चितवन निकुञ्जमा घुम्ने चाहना राख्नेले सौराहा लगायतको क्षेत्रमा भन्दा बढी वन्यजन्तु समेत अवलोकन गर्न पाउने भएकाले यहाँ विदेशी र अधिक खर्चिला पर्यटकहरु आउने गरेको चौधरीको अनुभव छ । ७ महिना अघि पूर्वी नवलपरासीका ३ स्थानबाट चितवन निकुञ्ज प्रवेशको अनुमति दिइएपछि यहाँ विदेशी पर्यटकको चाप बढ्दै गएको छ । यहाँको अमलटारी, सिसवार र हर्कपुरबाट चितवन निकुञ्ज आउजाउ गर्ने प्रवेशद्वार खुलाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हिमानी ट्रस्टले जुम्लामा सुत्केरी सेवा केन्द्र बनाउँदै

नवलपुरका अधिकांस कन्सलटेन्सी दर्ताविना सञ्चालनमा, के गर्दैछ प्रशासन ?

नवलपुरमा बहिरा समुदायलाई लक्षित गर्दै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी एक दिने तालिम सम्पन्न

नवलपुर जिल्ला अदालत बार इकाइको अध्यक्षमा अधिकारी विजयी

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी खेलाडीहरूलाई सेन्ट्रल कलेजद्वारा जर्सी वितरण

आजका लागि विदेशी मुद्राको विनिमय दर


TOP