सोमबार , साउन १३, २०८२
छिपछिपे सहकारी ठगी : ७ अभियुक्त पुर्पक्षमा जेल चलान – News Nepal Media
Trend

पूर्वीनवलपरासी — कावासोतीस्थित छिपछिपे सहकारीको रकम हिनामिना आरोपमा पक्राउ परेका १० मध्ये सात जनालाई जिल्ला अदालत पूर्वी नवलपरासीले पुर्पक्षका लागि थुनामा पठाएको छ । अदालतले तीन जनालाई धरौटीमा छाडेको छ ।

न्यायाधीश कुलप्रसाद पाण्डेको इजलासले आइतबार सहकारीका व्यवस्थापक योगेन्द्र पाण्डे, पूर्वसचिव नगेन्द्रबहादुर रिमाल, संजीवकुमार महतो, कृष्णप्रसाद ज्ञवाली, ढुण्डीराज गौतम, विकास सापकोटा, शिवलाल लामिछानेलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको हो । सहकारीका हालका अध्यक्ष गोपीकृष्ण शर्मा र कोषाध्यक्ष सुनीताकुमारी न्यौपानेलाई जनही साढे २ लाख तथा सहकारी कर्मचारी तीर्थराज कैनीलाई १० लाख धरौटी तोकिएको छ ।

यही जेठ २० मा जिल्ला सरकारी वकिलको कार्यालयले राप्रपाकी सांसद गीता बस्नेतसहित ३५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । छिपछिपेको १६ करोड ५८ लाखभन्दा बढी हिनामिना गरेको आरोप उनीहरुमाथि छ । उनीहरुविरुद्ध रकम असुल उपर, हर्जना र कैद सजायको समेत माग गरेर मुद्दा दर्ता भएको थियो । दुई महिनाअघि छिपछिपे सहकारीका ४ सयभन्दा बढी सेयर सदस्यले रकम हिनामिना गर्नेबिरुद्ध प्रहरीमा उजुरी दिएका थिए । प्रहरीको छानबिनअनुसार छिपछिपेका २३ सय ९४ जना बचतकर्ताको रकम हिनामिना भएको छ । अधिकांश बचतकर्ता ज्यालादारी मजदुर, कृषक र साना व्यवसायी हुन् ।

छिपछिपेको सदस्य नभई सांसद बस्नेतले आफू अध्यक्ष रहेको बर्दियाको कृष्णसार रिसोर्टमा सहकारीको ९६ लाख रुपैयाँ लगानी गरेको पाइएको छ । पुर्पक्षकालागि थुनामा रहेका रिमाल सांसद बस्नेतका ज्वाई हुन् । उनैले विनाधितो यो रकम लगेर रिर्सोटमा लगानी गरेका हुन् । रिसोर्टकी अध्यक्ष सांसद बस्नेत भएका कारण उनीविरुद्ध पनि सहकारीको रकम हिनामिना र ठगी अपराधमा मुद्दा दर्ता भएको हो । सहकारीका सेयर सदस्य र नियमित बचतकर्ताबाहेक अन्यलाई ऋण दिन नपाइने सहकारी ऐनमा व्यवस्था छ ।

प्रहरी हिरासतमा रहेका अभियुक्तहरुको हकमा आइतबार जिल्ला अदालतले पहिलो निर्णय सुनाएको हो । अन्य आरोपित सांसद बस्नेतसहित २५ जना फरार छन् । फरार प्रतिवादीका हकमा आइतबार नै अदालतबाट ३५ दिने म्याद जारी भएको जिल्ला न्यायाधिवक्ता हरि घिमिरेले बताए । छिपछिपे सहकारीको रकम हिनामिनाका मुख्य योजनाकार व्यवस्थापक पाण्डे भएको प्रहरीको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । बर्दिया घर भएका पाण्डेले सात वर्षसम्म आफै सहकारीको अध्यक्ष र व्यवस्थापक रहेर काम गरेका थिए ।

रिमाल र पाण्डेले चितवनमा रहेको सनराइज सहकारी र बर्दियाको नमस्ते सहकारीको पनि बचत हिनामिना गरेको अनुसन्धानका क्रममा खुलेको छ । रिमाल छिपछिपे सहकारीमा सञ्चालक समिति सचिव रहँदा सनराइज सहकारीमा अध्यक्ष थिए भने पाण्डे सनराइजको सचिव थिए । – कान्तिपुर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हिमानी ट्रस्टले जुम्लामा सुत्केरी सेवा केन्द्र बनाउँदै

नवलपुरका अधिकांस कन्सलटेन्सी दर्ताविना सञ्चालनमा, के गर्दैछ प्रशासन ?

आजका लागि विदेशी मुद्राको विनिमय दर

नवलपुरमा बहिरा समुदायलाई लक्षित गर्दै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी एक दिने तालिम सम्पन्न

नवलपुर जिल्ला अदालत बार इकाइको अध्यक्षमा अधिकारी विजयी

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी खेलाडीहरूलाई सेन्ट्रल कलेजद्वारा जर्सी वितरण


TOP