गण्डकी प्रदेश खेलकुद परिषद् नेतृत्वविहीन – News Nepal Media
Trend

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक सुरुआत हुन अब तीन दिनमात्र बाँकी छ । गण्डकी प्रदेशका आठ जिल्लामा हुने प्रतियोगिताको उद्घाटनअगावै केही खेल भने पोखरामा सुरु भइसकेका छन् भने अधिकांश खेल यही असोज २८ देखि हुँदैछन् ।

प्रतियोगिताका लागि खेलस्थलको मर्मत र अन्य व्यवस्थापकीय काम अहिले तीव्रताका साथ भइरहेको
छ । राष्ट्रिय खेलकुद यही असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुँदैछ । राष्ट्रिय खेलकुद आयोजनाको जिम्मेवारी सङ्घीय सरकारको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को भए पनि स्थानीय आयोजकका रूपमा गण्डकी प्रदेश सरकारमातहतको खेलकुदको कार्यकारी निकाय प्रदेश खेलकुद परिषद् रहेको छ ।

स्थानीय आयोजक र व्यवस्थापनको जिम्मेवारी रहेको प्रदेश खेलकुद परिषद् भने अहिले नेतृत्वविहीन बनेको छ । राष्ट्रिय खेलकुदको पूर्वसन्ध्या र केही खेलका प्रतियोगिता सञ्चालन भइरहँदा परिषद्का सदस्यसचिवको पद आइतबारदेखि रिक्त भएको हो । परिषद्का सदस्यसचिव तेजबहादुर गुरुङले ६० वर्षे उमेरहदबन्दीका कारण अनिवार्य अवकाश पाएपछि प्रदेश खेलकुदको कार्यकारी निकाय परिषद् नेतृत्वविहीन भएको हो ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आचारसंहिताका लागू भइसकेका कारण सरकारले तत्कालै परिषद्मा नयाँ नियुक्ति गर्न पाउँदैन । परिषद्को कार्यकारी प्रमुखको पद खाली भएसँगै राष्ट्रिय खेलकुदको तयारी र सरकारका खेलकुदसम्बन्धी अन्य काम प्रभावित हुने ठानिएको छ ।

युवा तथा खेलकुद मन्त्रालयले भने सदस्यसचिवको पद खाली रहँदैमा खेलकुदका काम अघि बढाउन असर नपर्ने जनाएको छ । राष्ट्रिय खेलकुद प्रतियोगितालगायतका अन्य परिषद्का सदस्यसचिवले गर्ने सबै कामको जिम्मेवारी मन्त्रालयको खेलकुद महाशाखा प्रमुखले गर्ने मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “परिषद्को नेतृत्व खाली हुँदैमा नवौँका लागि गर्नुपर्ने कुनै पनि काम रोकिँदैन । खेलकुद परिषद् ऐनमै सदस्यसचिवको पद रिक्त भएमा खेलकुद महाशाखा प्रमुखले जिम्मेवारी सम्हाल्ने भन्ने छ । सोहीअनुसार गर्छौँ ।”

प्रदेश खेलकुद परिषद् गण्डकीको स्थापनासँगै हाल अवकाश पाउनुभएका सदस्यसचिव गुरुङले खुला प्रतिस्पर्धामार्फत चार वर्षका लागि गण्डकी प्रदेश सरकारबाट नियुक्ति पाउनुभएको थियो । अवकाश हुनुभएका सदस्यसचिव गुरुङले आफ्नो कार्यकालमा प्रदेशको खेलकुदलाई चुनौतीपूर्ण घडीमा स्थापित गर्न सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले जुन भूमिका खेल्यौँ, त्यो महत्वपूर्ण र उपलब्धिमूलक रहेको छ । प्र्रदेशको खेलकुदलाई चलायमान बनाउन भूमिकामात्रै खेलेनौँ निश्चित गन्तव्यमा पुग्नका लागि ठोस रणनीतिक योजना तय गरेका छौँ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक

नवलपुरमा ब्युटिसियन तालिमका सहभागीलाई दिईयो उद्यमशिलता विकास तालिम

नवलपुर सेवा समाज युएई द्वारा नवलपुरको दश वटा सामुदायिक विद्यालयहरुमा तिन लाखको अक्षयकोष स्थापना

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी नवलपुर कावासोती आउँदै

छिपछिपे सहकारी ठगी : ७ अभियुक्त पुर्पक्षमा जेल चलान

आजको राशिफल ~ वि.सं. २०८१ ज्येष्ठ २६ गते शनिवार : श्री दाउन्ने देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP