बिहिबार , बैसाख ११, २०८२
म्याग्दीमा चौतारी संरक्षण अभियान – News Nepal Media
Trend

दुई दशक अघिसम्म भरिया र बटुवाले भरिभराउ हुने चौतारी अहिले सुनसान छन् । कुनै समय गाउँघरमा भेला, बैठक, कचहरी, सभा चौतारीमै बस्दथे ।

धर्मका लागि चौतारी चिन्ने, वर र पीपलका रुख रोप्ने, पानी धारा बनाउने, पोखरी खन्ने चलन थियो । सडक यातायातको विकास र समाजमा आएको परिवर्तनसँगै चौताराको प्रयोग घटेको छ । सार्वजनिक जग्गा जमिन र खाली ठाउँ नभएको म्याग्दी सदरमुकाम बेनी बजारमा रहेका परम्परागत चौतारीलाई संरक्षण र व्यवस्थित गर्न जनप्रतिनिधिले चासो दिएका छन् । बेनी नगरपालिका–७ मा पर्ने चौतारीको संरक्षण थालिएको छ ।

वडाध्यक्ष रमेशकुमार श्रेष्ठले बजारवासीलाई शीतलता र बटुवालाई विश्रामका लागि पुराना चौतारीलाई व्यवस्थित गरेर प्रतीक्षालयमा रुपान्तरण गर्न थालिएको बताउनुभयो । “अहिलेका प्रतीक्षालयजस्तै पहिलेका चौतारीको महत्व छ”, उहाँले भन्नुभयो, “धार्मिक, जैविक विविधताको संरक्षण र विश्रामको सुविधाका लागि जीर्ण चौतारीको पुनःनिर्माण गर्न थालेका हौँ ।”

बेनी नगरपालिकाको वडा नम्बर ७ मा १८ वटा चौतारी र एक वटा पोखरी छन् । चौतारी मर्मतका लागि चालु आर्थिक वर्ष २०७९÷८० मा बेनी नगरपालिकाले रु चार लाख ५० हजार विनियोजन गरेको छ । सो बजेटबाट नगरपालिकाको प्रवेशद्वार, बेनी सामुदायिक र जिल्ला प्रशासन कार्यालय अगाडिको चौतारी संरक्षण गर्न थालिएको छ ।

गत आवमा विनियोजन भएको रु एक लाख २७ हजार बजेटबाट मालपोत कार्यालय अगाडिको चौतारी मर्मत गरिएको थियो । सो चौतारीको नजिकै बेनी बजार अवस्थित बेनी नगरपालिकाको ७ र ८ नम्बरबाहेकका वडाको पहिचान झल्कने होडिङ बोर्ड राख्ने तयारी भएको छ ।

पीपलको रुखको फेदीमा पूजा गर्न र बत्ती बाल्न सहज होस् भनेर पालासमेत राखिएको छ । नगरपालिकाको प्रवेशद्वारअघिको चौतारीसँगै म्याग्दीका छ वटा स्थानीय तहको पहिचान झल्कने होडिङ बोर्ड राख्न लागिएको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो । होडिङ बोर्डबाट म्याग्दी जिल्लाको प्रचारप्रसारमा सहयोग पुग्ने उहाँको भनाइ छ ।

चौतारी बनाएका दातासँग समन्वय गरेर मर्मत थालिएको हो । परम्परागत समाजमा धर्म र पुण्यका लागि चौतारा बनाउने चलन थियो । त्यसबेला बनाएका पोखरी अहिले झाडीमा परिणत भएका छन् । फेरिएको परिवेशमा चौतारीलाई विश्रामस्थल, प्रतीक्षालय र धार्मिकस्थलको रुपमा विकास गराउने योजना रहेको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो । चौतारीसँगै पूजा गर्ने ठाउँ बनाएमा मानिसले फोहोर नगर्ने र सरसफाइ कायम गर्न सकिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

जान्छु प्यारी बोलमा एकल लोकगीत भिडियो सार्बजनिक

मगर दिवसमा नवलपुर महोत्सवमा मगर भेषभुसामा आउने दर्शकलाई प्रवेश निशुल्क

मदरबाबा मेलामा दर्शन गर्न आएका एक जना भारतीय नागरिकको मृत्यु

नवलपुर महोत्सवमा जनजाति महासंघमा आवद्ध जातीय घटक उपस्थित नहुने

कावासोती ट्रायल सेन्टरको नाम परिवर्तन, अब ‘नवलपुर ट्रायल सेन्टर’


TOP