हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिम, चुरीढाँडका ४८ वर्षीय खम्ब चाम्लिङको आधा उमेर विदेशमा बित्यो । रोजगारीको सिलसिलामा उनले कतारमा ६ वर्ष, साउदी अरबमा २ वर्ष र भारतका विभिन्न प्रान्तमा १५ वर्ष बढी गरी जीवनको अढाइ दशक खर्चेका छन् ।

एकातिर घरको जेठो सन्तान, अर्कातिर सानै उमेरमा विवाह । त्यसले गर्दा किशोरावस्थामै उनको काँधमा जिम्मेवारीको चाङ आइलाग्यो । परिवार चलाउन उनले सानै उमेरमा ऋणको बोझ बोक्नुप¥यो । लागेको ऋण तिर्ने र प्रशस्त पैसा कमाएर परिवारलाई सुखले पाल्ने सुनौलो सपना लिएर विदेश पसेका उनले रोजगारीको सिलसिलामा अनेक समस्या झेल्नुप¥यो । कहिले काम गर्ने कम्पनी राम्रो परेन त कहिले सोचे अनुुसारको काम पाएनन् ।

स्वभावैले मान्छे एकातिरबाट आशा गरिएको प्रतिफल प्राप्त नभएपछि अर्कातिर लाग्छ । त्यही आशाले वैदेशिक रोजगारीका दौरान यताउता गर्दागर्दै उनको आधा उमेर बित्यो । कसै गरी पनि वैदेशिक रोजगारीबाट चित्त बुझ्दो आम्दानी गर्न नसकेपछि ३ वर्षअघि उनी सधैँका लागि स्वदेश फर्किए । अहिले उनी आफ्नै देशमा कृषि पेशाबाट केही गर्छु भन्ने दृढ संकल्पका साथ ४० वर्षभन्दा बढी समयदेखि बाँझिएको जमिनमा पसिना बगाइरहेका छन् ।

चुरीढाँडमा उनको २७ रोपनी जग्गा छ । उनलाई सम्झना भएअनुसार उक्त जग्गामा उनी बाल्यकालमा छँदा बुबाआमाले खेती गर्थे । पछि बुबा घर बस्न छोडेर बाहिर हिँड्न थालेपछि जग्गा बाँझो रह्यो । किशोरावस्थामै विदेश पलायन भएका उनलाई खेती गरेर खासै फाइदा छैन भन्ने लाग्थ्यो । तर, अहिले उनको त्यो सोच बदलिएको छ । “विदेश मात्रै कमाइ गर्ने ठाउँ होइन रहेछ,” चाम्लिङले आफ्नो अनुभव सुनाउँदै भने, “मेहनत गर्ने हो भने आफ्नै देशमा पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने लागेर मैले कृषि पेशा रोजेँ ।” अहिले उनी विदेशको नामसमेत लिन चाहँदैनन् ।

कृषि पेशाबाटै समृद्धिको सपना देखेका उनले अहरोत्र नौ महिना कोदालो र झम्पल लगाएर १२ रोपनी बाँझो जग्गा फोरेका छन्, जहाँ अहिले मकै लगाइएको छ । बाँकी रहेको जमिन पनि आगामी वर्षभित्र खनिसकेर केही न केही कृषि उपज लगाउने योजना रहेको उनले सुनाए । खनिएको जमिनमा सुन्तला, कागतीलगायत फलफूल लगाउने उनको योजना छ । कृषि सामग्री बिक्री गर्न बजारको कुनै समस्या नरहेको उनी बताउँछन् ।

चाम्लिङले लगानी गर्ने पूँजीको अभावका कारण अहिले नै सोचे अनुसार काम गर्न भने सकेका छैनन् । स्थानीय सरकारबाट अनुदान पाए आफ्नो पेशामा ठूलो सहयोग पुग्ने उनी बताउँछन् । तर, वास्तविक किसानले अनुदान नपाएको उनको गुनासो छ । “स्थानीय सरकारबाट सहयोग मिले केही गर्न सकिन्थ्यो होला” उनी भन्छन्, “तर हामी मेहनत गर्ने किसानलाई अनुदान छैन । कामै नगर्ने जनप्रतिनिधिका आसेपासेले अनुदान पाएका छन् ।”
आफूसँग भएको थोरै पूँजीले उनी बाख्रापालन पनि गरिरहेका छन् । बाख्रा पालनका लागि उनले व्यवस्थित खोर बनाएका छन् । अहिले उनीसँग २० वटा बाख्रा छन् ।

“सानै उमेरदेखि कमाउनतिर लागियो तर कमाउन सकिएन” उनले भने, “जिम्मेवारीको भारीले उमेर बितेको पत्तै भएन । बुढेसकाल लागेपछि होस आयो । युवा अवस्थामै यतातिर लागेको भए आजको स्थिति अर्कै हुने थियो । तर, अहिले पनि हिम्मत हारेको छैन । केही त गरेर देखाउँछु नै ।”
उनका एक छोरा र एक छोरी छन् । छोराको विवाह भइसेकर पनि सन्तान छन् । चाहेको भए उनी छोरा वा छोरीको शरण लिएर बस्न सक्थे । तर, पाखुरीमा बल रहेसम्म उनलाई आफ्नै मेहनतको कमाइ खान मन छ । उनी भन्छन्, “मलाई परनिर्भरता पटक्कै मन पर्दैन । सकेसम्म आफैँले गरेर खाऊँ भन्ने लाग्छ ।”

चुरीढाँडमा अरूका पनि ठूलो परिमाणको खेतीयोग्य जमिन बाँझो छ । पहिला त्यहाँ मानिसहरूले खेती गर्दै आएका थिए । तर, अहिले सम्पूर्ण जमिन जंगलमा परिणत भएको छ । यही बेला चाम्लिङ बाँझो जमिन सदुपयोग गरिरहेका छन् । बाँझिएको जमिन खनेपछि कतिपयले अहिले जग्गा किन्न मागिरहेको पनि उनले सुनाए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय