सोमबार (६ वैशाख) बिहान नेपालखबर टिम विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालसँग भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ‘टर्मिनल टुर’ गरिरहेका थियौँ। बुद्धपूर्णिमाको दिनदेखि उडान थाल्ने तयारी गरिरहेको विमानस्थलका कामदारहरु यत्रतत्र जमेका धुलो सफा गरिरहेका थिए। केही कामदार जमेका लेउ हटाउन भुइँ घोटिइरहेका थिए।

टर्मिनलभित्र फत्ते गर्नुपर्ने अझै धेरै काम अपुरा देखिन्थे। तैपनि हामीलाई विमानस्थल सञ्चालन, व्यवस्थापन र प्राविधिक पक्षबारे ब्रिफिङ गर्दै महाप्रबन्धक दाहाल सम्पूर्ण रुपमा निर्माण कार्य सम्पन्न भइसकेको र अब उडान सुरु गर्ने काम मात्र बाँकी रहेको बताइरहेका थिए।महाप्रबन्धक दाहाललाई हामीले सोध्यौँ– ‘यही अवस्थामा यो विमानस्थलबाट २६ दिनपछि अन्तर्राष्ट्रिय विमान उडान भर्न र अवतरण गर्न सक्षम छ?’

दाहालको जवाफ थियो– ‘त्यतिन्जेल हामी सबै तयारी सकाउँछौँ।’२०७१ सालमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरी निर्माणकार्य थालेको विमानस्थललाई ८ वर्षपछि उनकै दलबाट निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरी सुचारु गर्न खोजिएको छ। तर, विमानस्थल निर्माणकार्यलाई नजिकबाट नियालिरहेका स्थानीय उद्यमी–व्यवसायीहरु भने महाप्रबन्धक दाहालको भनाइमा आश्वस्त हुन सकिरहेका छैनन्।

निर्माण अवधिमा भएका अनेकन ‘लफडा’का कारण ४ वर्षमा सम्पन्न गर्ने भनिएको विमानस्थल अहिलेको स्वरुपमा आउन ८ वर्ष लाग्यो। जग्गा अधिग्रहणका निम्ति २५ अर्ब र भौतिक संरचना बनाउन ७ अर्ब खर्च भएको विमानस्थल समयमा सञ्चालन हुनु र नहुनुसँग यस भेगका व्यवसायीहरुको स्वार्थ प्रत्यक्ष जोडिएको हुनाले उनीहरु विमानस्थलभित्र भइरहेका स–साना कुरामा पनि ध्यान दिएर बसिरहेका छन्।

भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने चर्चासँगै लुम्बिनी क्षेत्र वरपरका जग्गाजमिनको भाउ अकासिएको छ। यहाँ जग्गा किनेर हजारौँको संख्यामा तारे होटलदेखि स–साना रेस्टुरेन्टसम्म सञ्चालनमा आएका छन्।अन्तर्राष्ट्रिय विमानस्थलले लुम्बिनी भ्रमणमा आउने पर्यटक ह्वात्तै बढ्ने र त्यसले आफ्नो व्यवसाय चम्किने आशमा व्यवसायीहरुले खर्बौ लगानी गरेकोले पनि विमानस्थलसँग यस भेगका व्यवसायीहरुको ‘लाइफलाइन’ जोडिन गएको छ। त्यसैले उनीहरु विमानस्थल सञ्चालनसम्बन्धी भइरहेका कामकार्बाहीका खबर सुन्न आतुरताका साथ पर्खिरहेका हुन्छन्।

व्यवसायीका तर्फबाट गौतमबुद्ध विमानस्थलसँग प्रारम्भदेखि अहिलेसम्म निरन्तर जोडिइरहेका उद्योग वाणिज्य संघ सिद्धार्थनगरको पर्यटन विभाग प्रमुख सञ्जय बजिमयको हिसाबकिताबमा विमानस्थललाई केन्द्रमा राखेर लुम्बिनी वरपर खोलिएका पर्यटन व्यवसायमा करिब ३ खर्ब बराबरको लगानी भइसकेको छ।

दुई वर्ष कोरोनाका कारण ठप्प भएको तिनका व्यवसाय भारतीय र आन्तरिक पर्यटकले केही भरथेग गरिदिए पनि अधिकांशलाई बैंकको ऋणको भारले थिचेको छ। कतिपयले ऋण तिर्न चर्काे ब्याजमा ‘मिटरब्याजी’ कर्जा लिइरहेका छन्।कोरोना संकट छाँटिदै गए पनि देशमा आइपरेको आर्थिक संकटले थप अत्यास लगाइरहेको बेला विमानस्थल सञ्चालनको खबरले उनीहरु उत्साहित नै छन्। तर सञ्चालन भैरहेका कामकार्वाहीको ढिलासुस्तीले ती अत्तालिएका जस्ता पनि देखिन्छन्।

जिल्ला प्रशासन कार्यालय अगाडि आफ्नो ‘टुर एन्ड ट्राभल्स’ कार्यालयमा भेटिएका यसक्षेत्रकै पुराना पर्यटन व्यवसायी बजिमय भन्छन्, ‘असारसम्ममा विमानस्थल सञ्चालन नआए यस क्षेत्रका व्यवसायीहरु टाट पल्टिएको घोषणा गर्ने अवस्थामा पुग्नेछन्।’​​​

विमानस्थलसँग जोडिएको ‘लाइफलाइन’
सानाठूला गरी दैनिक पाँच वटा अन्तर्राष्ट्रिय उडान एकैचोटि भर्नसक्ने तीन हजार मिटर लामो धावनमार्ग भएको गौतमबुद्ध विमानस्थलले गर्ने व्यवसायबारे महाप्रबन्धक दाहाल र व्यवसायी बजिमयको आकलन करिब एउटै थियो। दुवैका भनाइमा बारादेखि धनगढीसम्मको समतल भू–भागबाट वैदेशिक रोजगारीका लागि दैनिक उड्ने श्रमशक्ति र बौद्ध धर्मावलम्बी पर्यटकको चापले नै यो विमानस्थलले मनग्गे ‘बिजनेस’ पाउनेछ। त्यसका निम्ति पर्यटन व्यवसायीहरुले ‘बिजनेस प्लान’ बनाई सम्बन्धित निकायहरुलाई सुझाव समेत दिइसकेका छन्।

ती योजनालाई यसरी वर्गीकृत गर्न सकिन्छः

योजना १– तराई–मधेश र पश्चिमका पहाडी भेगमा भएका विमानस्थललाई गौतमबुद्ध विमानस्थललसँग जोडी श्रमबजारमा जाने जनशक्तिलाई भैरहवामा ल्याउने र तिनलाई गन्तव्य देशमा उडाउने। त्यसका निम्ति हवाई यातायात व्यवसायीहरुसँग विभिन्न चरणमा छलफल पनि भएको छ। जसले यो क्षेत्रबाट देशको अर्थतन्त्रमा सबैभन्दा बढी योगदान पुर्याउने खाडी मुलुकमा जाने जनशक्तिलाई एकीकृत गर्छ र हवाई मात्र होइन, आन्तरिक पर्यटन व्यवसायलाई पनि गुल्जार बनाउने सामथ्र्य राख्दछ। जहाजबाट आउन नचाहने श्रमिकहरुलाई यसक्षेत्रमा पछिल्ला समय बनेका चौडा र चिल्ला सडकले भैरहवासँग जोड्न सहज बनाइदिएकै छ। यसले बुटवल, भैरहवा क्षेत्रलाई व्यापारिक केन्द्रको रुपमा शक्तिशाली बनाउन मद्दत गर्नेछ।

योजना २– अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि लुम्बिनीमा सिधै आउने बौद्ध पर्यटकका कारण यहाँको व्यवसाय प्रबद्र्धन हुने विश्लेषणका आधारमा तिनलाई बढीभन्दा बढी समय टिकाइराख्न ‘टुर प्याकेज’ बनाउने तयारी भैरहेको छ। त्यसका निम्ति गौतम बुद्धको जन्मस्थल लुम्बिनीसँग जोडेर कपिलवस्तु नगरपालिकामा रहेको सिद्धार्थ गौतमको दरबार तिलौराकोट, कपिलवस्तुमै रहेको निग्लिहवाको अशोक स्तम्भ, रुपन्देहीमा रहेको मावली थलो देवदह र बुद्धको अष्टधातु रहेको रामग्राम नगरपालिकालाई ‘बुद्ध सर्किट’ बनाई एक साताको ‘टुर प्याकेज’ बनाइँदैछ।

यो सर्किटमा कपिलवस्तु जिल्लामै पर्ने गौतम बुद्धभन्दा अगाडिका कक्रुछन्द र कनकमणि बुद्धसँग सम्बन्धित स्थललाई पनि जोडिँदैछ। कक्रुछन्द बुद्ध कपिलवस्तुको गोटीहवामा र कनकमणि बुद्ध कपिलवस्तुकै निग्लिहवामा जन्मिएको ठानिन्छ।

तर, भारतले बौद्ध सर्किटबाट विदेशी पर्यटक तान्न कुशीनगर, गया र सारनाथमा अन्तर्राष्ट्रिय विमानस्थल बनाइसकेकोले भैरहवाले कति पर्यटक तान्न सक्छ भन्ने चाहिँ यो विमानस्थल सञ्चालन भएपछि नै देखिनेछ। अहिलेसम्म विदेशी पर्यटक भारतले बनाएको ‘बौद्ध सर्किट’ सँग जोडिएर सडकमार्गबाट आई लुम्बिनी, कपिलवस्तु र रामग्रामको अवलोकन गरी फर्कने गरेकोमा विमानस्थल बनेपछि त्यता जाने पर्यटक सिधै यता आउने भएकोले आफूहरु उत्साहित रहेको बजियम सुनाउँछन्।

यहाँनेर एउटा ध्यानयोग्य कुरा के छ भने गौतमबुद्ध विमानस्थलका लागि अहिलेसम्म भारतले दुईतर्फी रुट उपलब्ध गराएको छैन। भारतले दिए महेन्द्रनगर–धनगढी–नेपालगन्ज रुट अहिले प्रयोगमा आउने भनिएको लखनउ–गोरखपुर–सिमराको रुटभन्दा सस्तो र समयको बचत हुनजान्छ। त्यसैले रुटका कारण पनि बौद्ध पर्यटक भारत ओर्लिएर सदाझैँ सडकमार्ग भई नेपाल आउँछन् या सिधै भैरहवा झर्छन्, त्यो चाहिँ भविष्यमै देखिनेछ।​​

अपुरो तयारी
तर, यसका निम्ति गर्नुपर्ने तयारीको लामो फेहरिस्त नै छ, जुन अझै पुरा भएको देखिँदैन। नेपालखबरले पाएको सूचनाअनुसार विमान कम्पनीहरुले दुई पक्षीय बैठकमा मुखै फोरेर यस्ता कमजोरीमाथि प्रश्न उठाउने गरेका छन्।

खाडी मुलुकमा जाने लाखौँ श्रमिकलाई लक्ष्य गरी विमानसेवा सञ्चालन गर्न इच्छुक जजिरा एयरलाइन्सले भैरहवाबाटै श्रम स्वीकृति दिने व्यवस्था मिलाउन, मेडिकल चेकअपका निम्ति स्थानीय रुपमै पूर्वाधार तयार पार्न, मेनपावर कम्पनीका शाखा खोल्न र भिसा एक्सटेन्सन गर्ने अधिकार भैरहवामै राखे सहज हुने बताएको छ। अहिले भिसा एक्सटेन्सन गर्न पोखरा र काठमाडौँ जानुपर्ने अवस्था छ भने मेडिकल चेकअपका लागि केन्द्रमै भर पर्नुपर्ने बाध्यता छ। यी सबै विषयमा आश्वस्त नहुँदासम्म नियमित अन्तर्राष्ट्रिय उडान हुन कठिनाइ छ।

फागुनको पहिलो साता एरोनटिकल रेडियो अफ थाइल्यान्डको जहाजद्वारा १० दिने उपकरण जाँच (क्यालिब्रेसन फ्लाइट टेस्ट) गरे पनि अहिलेसम्म वाइडबडी ल्याई रनवेको जाँच गरिएको छैन। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले वैशाख १ गतेदेखि नेपाल एयरलाइन्सको वाइडबडी जहाज ल्याई उडान परीक्षण गरिने भने पनि अहिलेसम्म त्यो काम हुनसकेको छैन।

वैशाखमा अहिले चलिरहेको ‘डोमेस्टिक विमानस्थल’ को रनवेलाई ‘ट्याक्सी वे’ का लागि प्रयोग गरिने र नयाँ रनवे सञ्चालन गर्नेगरी तयारी पुरा भएको नेपाल एयरलाइन्सका गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललका प्रमुख सुदीप महर्जन बताउँछन्।

‘बिहिबारदेखि चार्टर्ड उडान सञ्चालन गर्न सकिनेछ। यति भैसकेपछि ट्राफिक जाममा परेका वा आकस्मिक अवतरण गर्नुपर्ने अन्तर्राष्ट्रिय जहाजलाई लखनउ र दिल्ली पनि जानुपरेन,’ उनले भने।

तर बुद्धजयन्तीको दिन सुरु गर्ने भनिएको र नेपाल एयरलायन्सको वाइडबडीले परीक्षण गर्ने नगर्नेबारे महर्जन पनि केही भन्नसक्ने अवस्थामा देखिएनन्।

वजिमय भन्छन्, ‘सफ्टवेयर (उपकरण ) जाँच त भयो हार्डवेयर (रनवे) अझै हुनसकेको छैन। त्यो नहुँदासम्म ढुक्क भएर अन्तर्राष्ट्रिय वाइडबडी जहाज आउने कुरै भएन।’

जजिरा एयरको पहिलो उडान
घोषणा गरिएझैँ बुद्धपूर्णिमाबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन्छ कि हुँदैन हेर्न बाँकी छ। तर जजिरा एयरलाइन्सले भने बुद्धपूर्णिमाकै दिन कुवेतबाट २७८ जना यात्रु बोक्नसक्ने क्षमताको न्यारोबडीमा यात्रु ल्याई गौतमबुद्ध विमानस्थलमा उतार्ने भएको छ। त्यसको भोलिपल्ट बिहान अढाई बजे यात्रु बोकी कुवेतका लागि उडान भर्नेछ। त्यसपछि साताको तीन दिन (सोमबार, बुधबार र शुक्रबार) नियमित उडान भर्नेगरी प्रक्रिया अगाडि बढाइसकेको र आफ्नो ट्राभलले यताबाट जाने ३० जना यात्रुको बुकिङ गरिसकेको व्यवसायी बजिमय सुनाउँछन्।

पुरानो विमानस्थलमा अहिले दैनिक २४ वटा जहाजले उडान भर्छन्। एउटा मात्र रनवेले कारण ट्राफिक जाम हुनेगरेका कारण जाम व्यवस्थापन गर्न अन्तर्राष्ट्रिय विमानको उडानलाई रातिको समयमा राखिएको छ।

जजिराको उडान हुने खबरले व्यवसायीहरु उत्साहित देखिए पनि ती नेपाल एयरलाइन्सले वाइडबडी जहाज परीक्षण गरी अन्तर्राष्ट्रिय विमान कम्पनीहरुलाई आश्वस्त नपार्दासम्म विमानस्थल राम्ररी सञ्चालन नहुने हुँदा सरोकारवालाहरुलाई तारन्तार दबाब दिइरहेका छन्। त्यसमाथि काममा पनि ढिलाइ भैरहेको छ। सबै काम सकिएको भनिए पनि अहिलेसम्म विमानस्थल हस्तान्तरण हुन सकेको छैन।

अहिलेसम्म अन्तर्राष्ट्रिय विमानस्थललका लागि चाहिने आधारभूत सर्त हेलिप्याड राखिएको छैन। प्रतीक्षालयमा आवश्यक ३५० वटा कुर्सी र ट्रली पनि पुरै नल्याई तीन सय वटा मात्र ल्याइएको छ। ती पनि गोदामबाट बाहिर निस्किएका छैनन्। त्यो भन्दा मुख्य कुरा विमानस्थल निर्माणमा संलग्न स्थानीय व्यवसायीहरुलाई दिइनुपर्ने करिब ५० करोडको बक्यौता बाँकी रहेकोले पनि सञ्चालनमा बाधा पर्नसक्ने बजियमको चिन्ता छ।

बजिमय भन्छन्, ‘यी सबै समस्या किनारा लगाई शीघ्रातिशीघ्र विमानस्थल सञ्चालन गरिए अर्थतन्त्र धर्मराएको बेला त्यसले व्यवसायीलाई मात्र होइन सरकारलाई नै राम्रो टेको दिने थियो।’ नेपाल खबर बाट

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय