कैलालीमा स्थानीय तह निर्वाचनको तयारी पूरा भएको छ । जिल्ला निर्वाचन कार्यालय प्रमुख प्रेमराज भट्टका अनुसार मतदान अधिकृत तथा सहायक मतदान अधिकृत मतदान केन्द्रमा बुधबारै पुगिसकेका र मतदान केन्द्रमा तयारी सम्पन्न गरेका जानकारी दिनुभयो । “मतदान केन्द्रमा सबै कर्मचारी पुगेर काम थाल्नुभएको छ । मतदान गर्न जाने व्यक्तिले आफ्नो मतदाता परिचयपत्र लिएर मत हाल्न जानुपर्छ । मतदाता नामावलीमा नाम छ तर मतदाता परिचयपत्र नभएको अवस्थामा नागरिकताको आधारमा पनि मत हाल्ने प्रबन्ध गरिएको छ”, प्रमुख भट्टले भन्नुभयो, “कैलालीमा २३६ मतदानस्थल र ६१९ मतदान केन्द्र तोकिएका छन् ।” मतदान केन्द्रमा एक हजार २५० मतदान अधिकृत तथा सहायक अधिकृत, तीन हजार ५० कर्मचारी र एक हजार ८७५ स्वयम्सेवक खटिएका छन् । “स्थानीय तह निर्वाचनलाई मर्यादित बनाउन सबै जिम्मेवार बन्नुपर्छ । आफ्नो मताधिकार प्रयोग गरी जनप्रतिनिधि चुन्नसमेत मतदातालाई आग्रह गर्छु”, उहाँले भन्नुभयो, “मौनअवधि सुरु भइसकेकाले आचारसंहिता पालनामा समेत सबैलाई ध्यान दिन आग्रह छ । निर्वाचनले पालिकाको दक्ष नेतृत्व चयनमा सबैलाई निधक्क मतदान गर्ने वातावरण बनाउने दायित्व सबैको हो ।” जिल्लामा पाँच लाख २५ हजार १२५ मतदाता छन् । ती मध्ये महिलाको सङ्ख्या बढी छ । जिल्लामा दुई लाख ६९ हजार १० महिला मतदाता छन् भने पुरुष मतदाता दुई लाख ५६ हजार १०४ छन् । ११ जना अन्य मतदाता छन् । मतदान केन्द्रमा पुगेका कर्मचारीले बुधबारबाट मतदाता परिचयपत्र वितरण थाल्नुभएको छ । निर्वाचनलाई लक्षित गर्दै सुदूरपश्चिमका सीमानाका तीन दिनका लागि बन्द भएका छन् । निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै वैशाख २७ गते राति १२ बजेदेखि वैशाख ३० गते राति १२ बजेसम्म सीमानाकामा आवतजावत बन्द गरिएको हो । भारतसँग सीमा जोडिएको त्रिनगर–गौरीफन्टा, खक्रौला नाका, बैतडीको झुलाघाटलगायतका सीमानाका बन्द भएका छन् ।