दोहा, कतार : नेपाली जनप्रगतिशील मञ्च कतारले इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमजानको अवसर पारेर बृहत् इफ्तार कार्यक्रम सम्पन्न गरेको छ । मञ्चका अध्यक्ष बुद्धि प्रसाद भण्डारीको सभापतित्व तथा नेपाली राजदूतावास कतारका द्वितीय सचिव प्रवीण भट्टराईको प्रमुख आतिथ्यतामा इफ्तार कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको उद्घाटन मौलानाले कुरान पाठबाट गरेका थिए । रमजानको महत्वका बारेमा धर्मगुरुहरूले प्रकाश पारेका थिए । कार्यक्रममा विभिन्न वक्ताहरूले शुभकामना राखेका थिए । आफ्नो शुभकामना मन्तव्यको क्रममा प्रनुख अतिथि भट्टराईले सार्वजनिक कार्यक्रममा सहभागी हुँदा नियोगले सुधार्नु पर्ने कुराहरूको जानकारी पनि पाइने हुँदा लाभदायक पनी रहने गरेको बताए ।

उनले कार्यक्रम निर्धारित समयमा शुरु नगर्ने प्रवृत्तिविरुद्ध इङ्गित गर्दै कहिले काँही आफूले कार्यक्रममा गएर २ घण्टासम्म कुर्नु परेको गुनासो व्यक्त गरे । वक्ताहरूले आफूले बोलेर कार्यक्रम स्थल छाड्ने प्रवृत्ति सुधार्न समेत उनले आग्रह गरे ।

मञ्चका महासचिव मोहमद कार्कीले सहजिकरण गरेको कार्यक्रममा नेपाली नियोगका सहचारी सन्दीप सापकोटा, एनआरएनए आईसिसिका विभिन्न तह तप्काका पदाधिकारीहरू लगायत कतारमा स्थापित विभिन्न जिल्ला, प्रदेश परिषद्, वैचारिक सङ्गठन, महिला समाज, पत्रकारहरू, सामुदायिक संघसंस्थाहरूका अध्यक्ष तथा प्रतिनिधीहरुको आतिथ्यता रहेको थियो । सभापति भण्डारीले रमजान, इद तथा नयाँ वर्षको शुभकामनासहित कार्यक्रमको समापन गरेका थिए ।

तिलु शर्मा पौडेल/मध्यान्ह

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय