कपिलवस्तु २ : एमाले र गठबन्धनबीच प्रतिस्पर्धा – News Nepal Media
Trend

बुद्धभूमि, २७ कात्तिक (रासस) : तीन प्रतिनिधिसभा रहेको कपिलवस्तुमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ सबैको चासोको केन्द्रमा छ । विसं २०५६ देखि लगातार चुनाव जित्दै आउनुभएका वृजेशकुमार गुप्ता लडेको यो निर्वाचन क्षेत्रलाई चासोपूर्वक हेरिएको हो ।

आसन्न मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा गुप्तालाई जिल्लामा सदावहार सांसदका रुपमा हेर्छन् । जिल्ला सदरमुकामसमेत पर्ने यो निर्वाचन क्षेत्रमा गुप्ता नेकपा (एमाले) बाट चुनावी मैदानमा हुनुहुन्छ ।

गुप्तासँग नेपाली कांग्रेसका लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्य भिड्दै हुनुहुन्छ । विसं २०७४ को निर्वाचनमा दुवै जना चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।

गुप्ता २०५६ सालदेखि लगातार सङ्घीय सांसद रहँदै आउनुभएको छ । उहाँसँग २०५६ मा नेपाली कांग्रेसका नेता दीपकुमार उपाध्याय पराजित हुनुभएको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चुनाव जित्नुभएका गुप्तालाई एमालेले अघोषितरुपमा सघाएको थियो ।

विसं २०५६ मा एमालेबाट अघोषितरुपमा साथ पाएका गुप्ता विभिन्न दल बदल्दै अन्ततः यो निर्वाचनमा एमालेबाट आधिकारिक उम्मेदवार बन्नुभएको हो । पूर्वमन्त्रीसमेत रहेका गुप्ता विसं २०६४ र २०७० मा तत्कालीन तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) बाट संविधानसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । तत्कालीन संविधानसभा निर्वाचन क्षेत्र नं ३ रहेको यो क्षेत्र हाल सङ्घीय संरचनाअनुसार क्षेत्र नं २ पर्दछ ।

विसं २०७४ मा वाम–गठबन्धनको साझा उम्मेदवार बन्नुभएका उहाँ हृदेश त्रिपाठी समूहबाट सूर्य चिह्न लिएर चुनावमा होमिँदा तत्कालिन कांग्रेस जिल्ला सभापति तथा सिँचाइ राज्यमन्त्री आचार्यलाई झण्डै चार हजार मतान्तरले पराजित गर्नुभयो । गुप्ताले ३५ हजार उक सय २७ मतका साथ विजयी हुँदा आचार्यले ३१ हजार पाँच सय ६६ मत ल्याउनुभएको थियो ।

कांग्रेस उम्मेदवार आचार्य २०७० को संविधानसभामा निर्वाचित भए पनि त्यसउता र यता कुनै चुनाव जित्नुभएको छैन् । विसं २०५६ मा कांग्रेसबाट टिकट नपाएपछि बागी उम्मेदवार बन्नुभएका आचार्यले २०७० सालमा संविधानसभा निर्वाचन क्षेत्र नं ४ बाट चुनाव जित्नुभएको हो । गुप्ता र आचार्यबीचको प्रतिस्पर्धा भने दोस्रो पटक हुन थालेको छ ।

गुप्ताले विसं २०६४ र २०७० मा कांग्रेस नेता सुधाकरण पाण्डेयलाई पराजित गर्दै चुनाव जित्नुभएको थियो । आचार्यले २०७० मा एमालेका नेत्रराज अधिकारीलाई पराजित गरेर विजयी हुनुभएको थियो । विसं २०७४ मा मात्र उहाँ दुवैबीच प्रतिस्पर्धा हुन पुगेको हो ।

प्रतिनिधिसभा क्षेत्र नं २ मा बुद्धभूमि नगरपालिकाका १० वडा, कपिलवस्तु नगरपालिकाका सात वडा, यशोधरा गाउँपालिकाका आठ वडा र महाराजगञ्ज नगरपालिकाका सात वडा छन् । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणामअनुसार बुद्धभूमि नगरपालिकाको नगर प्रमुख, उपप्रमुख कांग्रेसले जित्दा वडा नं १, २,ं ६, ८ र ९ गरी पाँच वडामा कांग्रेस विजयी भएको छ । एमालेले वडा नं ३, ४, ५ र ७ मा जीत हात पारेको छ । वडा नं १० मात्र जनता समाजवादी पार्टी (जसपा) ले जितेको छ ।

यशोधरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष एमालेले जितेको छ । आठ वडामध्ये वडा नं १, २ र ८ एमाले उम्मेदवारले जितेका छन् । वडा नंं ३ र ७ कांग्रेसले जितेको छ । वडा नं ६ जनमत पार्टीले जित्दा वडा नं ४ जसपाले जितेको छ भने वडा नं ५ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

कपिलवस्तु नगरपालिकाको नगर प्रमुख र उपप्रमुख जसपाले जितेको छ । बाह« वडामध्ये वडा नं ७, ८, ९, १० र ११ प्रतिनिधिसभा क्षेत्र नं १ मा पर्दछन् । प्रतिनिधिसभा क्षेत्र नं २ मा पर्ने वडामध्ये एमालेले वडा नं २, ४ र ६ मा जीत हात पारेको छ । कांग्रेसले वडा नं ३, ५ र १२ जितेको छ । जसपाले वडा नं १ मात्र जितेको छ ।

महाराजगञ्ज नगरपालिकाको नगर प्रमुख र उपप्रमुख कांग्रेसले जितेको छ । एघार वडा रहेको यो नगरपालिकाका वडा नं १, २, ३, ४, ८, ९ र १० यो निर्वाचन क्षेत्रमा पर्दछन् । सोमध्ये वडा नं १, २, ३, ८ र १० कांग्रेसले जितेको छ । वडा नं ४ लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले जित्दा वडा नं ९ मा एमालेले जितेको छ ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा नेपाली कांग्रेस अगाडि देखिन्छ । कांग्रेसको ३० हजार नौ सय ९८, एमालेको २७ हजार दुई सस ९८, जसपाको छ हजार नौ सय आठ, लोसपाको छ हजार तीन सय ८६, माओवादीको चार हजार चार सय ५९, राप्रपाको दुई हजार ३५, नेकपा (एस)को छ सय ९१ मत रहेको छ ।

कांग्रेस उम्मेदवार आचार्यलाई नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)को दरिलो साथ छ भने गुप्तासँग एमाले मात्र रहेको छ । यो निर्वाचन क्षेत्रमा जसपाले उम्मेदवारी दिएको छैन भने लोसपाले पूर्वमन्त्री अकवाल शाह चुनावी मैदानमा हुनुहुन्छ । उहाँको पार्टीको उपस्थिति कमजोर भए पनि व्यक्तिगत प्रभावका कारण राम्रै मत ल्याउने मतदाता बताउँछन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभा क्षेत्र नं २ मा एक लाख २१ हजार छ सय ७६ मतदाता रहेका छन् । त्यसमा पुरुष मतदाता ६६ हजार रहेका छन् भने महिला मतदाता ५५ हजार छ सय ७६ रहेका छन् ।

यस क्षेत्रमा ८३ मतदानस्थल र एक सय सय ५५ मतदान केन्द्र तय गरिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी अनिता क्षेत्रीले जानकारी दिनुभयो । प्रदेशसभा ‘१’ तर्फ सत्तागठबन्धनबाट नेपाली कांग्रेसका विक्रमसिंह थापा चुनावी मैदानमा हुनुहुन्छ । नेपाल प्रहरीका पूर्वएसएसपीसमेत रहनुभएका थापा यो क्षेत्रको नयाँ अनुहार हुनुहुन्छ । एमालेबाट नवराज लामिछाने उम्मेदवार हुनुहुन्छ । विसं २०७४ को चुनावमा समेत यो प्रदेशसभामा जितेको एमालेले लामिछानेलाई उम्मेदवार बनाएको हो । उहाँ पनि नयाँ अनुहार हो । प्रदेशसभाभित्र दुवै जना नयाँ अनुहार प्रतिस्पर्धामा उत्रिएपछि चुनाव रोचक बन्ने अनुमान छ ।

प्रदेशसभा ‘२’ तर्फ सत्तागठबन्धनले नेपाली कांग्रेसका सुधाकर पाण्डेयलाई उम्मेदवार बनाएको छ । संविधानसभाका दुई चुनाव र प्रदेशसभाको एक चुनाव हार्नुभएका पाण्डेय कांग्रेसका पूर्वजिल्ला सभापतिसमेत हुनुहन्छ । पाण्डेयलाई एमालेका उम्मेदवार धर्मबहादुरलाल श्रीवास्तवले कडा टक्कर दिनुभएको छ । गत चुनावमा समेत प्रदेशसभा जित्नुभएका श्रीवास्तव लुम्बनी प्रदेशबाट मन्त्रीसमेत बन्नुभएको थियो । यो निर्वाचन क्षेत्रमा पाण्डेय र श्रीवास्तवबीच मात्र चुनावी प्रतिस्पर्धा हुने छैन । जसपाका अब्दुल रसिद पनि बलिया प्रतिस्पर्धी देखिनुभएको छ । यहाँ त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ ।

उम्मेदवारहरु विकासका एजेण्डा लिएर घरदैलोमा व्यस्त छन् । जिल्लाको मध्यभागमा पर्ने यो क्षेत्र पूर्वतया कृषिमा आधारित क्षेत्र हो । जिल्लाका अरु दुई निर्वाचन क्षेत्रभन्दा बसाइँसराइ गरी यहाँ आउनेको सङ्ख्या कमै छ । उद्योगधन्दा, कलकारखाना खासै नभएको यो क्षेत्रमा खेतीपाती नै यहाँका मतदाताको प्रमुख काम हो । सिँचाइ सुविधा नहुँदा बर्सेनि किसान मर्कामा पर्दै आएका छन् । उम्मेदवारहरुसँग सिँचाइको माग गरेको बुद्धभूमि वडा नं ९ की लक्ष्मी चौधरीले बताउनुभयो ।

हरेक निर्वाचनमा सिँचाइ माग्दै आए पनि खासै सुनुवाइ नभएको उहाँको भनाइ छ । यो निर्वाचनमा पनि सिँचाइ नै आफूहरुको माग रहेको उहाँ बताउनुहुन्छ । घरदैलोमा व्यस्त उम्मेदवार पनि सिँचाइ, लालपूर्जा, नदी कटान नियन्त्रण, पक्की सडकजस्ता चुनावी नारा लिएर घरदैलोमा गइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक

नवलपुरमा ब्युटिसियन तालिमका सहभागीलाई दिईयो उद्यमशिलता विकास तालिम

नवलपुर सेवा समाज युएई द्वारा नवलपुरको दश वटा सामुदायिक विद्यालयहरुमा तिन लाखको अक्षयकोष स्थापना

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी नवलपुर कावासोती आउँदै

छिपछिपे सहकारी ठगी : ७ अभियुक्त पुर्पक्षमा जेल चलान

आजको राशिफल ~ वि.सं. २०८१ ज्येष्ठ २६ गते शनिवार : श्री दाउन्ने देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP