कोरिया रोजगारीबाट स्वदेश फर्किएका श्रमिकलाई थप दक्ष बनाउन कोइकाको ९६ करोड अनुदान

काठमाडौं । दक्षिण कोरियाको रोजगारीबाट स्वदेश फर्किएका श्रमिकलाई थप दक्ष बनाउँदै नेपालमै रोजगारीको अवसर सिर्जना गर्न वा स्वरोजगार बनाउन कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले नेपाललाई सहयोग गरेको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) का नेपाल देशीय निर्देशक सुङहुन कोबीच सोमबार मन्त्रालयमा भएको भेटमा उनीहरुबीच इपिएसमार्फत कोरिया गइ फर्किएका नेपालीहरुको लागि संचालन हुने परियोजनाका साथै नेपाल र दक्षिण कोरिया सरकारबीचको सम्भावित साझेदारीका विषयमा विचारविमर्श भएको हो।

इपिएसमार्फत कोरिया गइ फर्किएका नेपालीहरुको लागि संचालन हुने परियोजनामा कोइकाले आठ मिलियन अमेरिकी डलर अर्थात करिव ९६ करोड रुपैंया सहयोग प्रदान गरेको हो।

कोइकाले उपलब्ध गराएको उक्त रकम सम्वद्ध सरकारी निकायको क्षमता अभिवृद्धि, पुन : एकीकरण सम्वन्धी सूचनामा पहुँच, कोरियाबाट फर्केर आएका नेपालीहरुको उद्यमशिलता सम्वन्धी क्षमता अभिवृद्धि र वित्तिय पहुँचमा खर्च हुनेछ।

उक्त रकम नेपाल सरकारको बजेट प्रणालीमा आवद्ध भइ संचालन हुनेछ। कोरियामा ६५ हजारभन्दा बढी नेपाली श्रमिकहरु इपीएसमार्फत गएका छन्। उनीहरू स्वदेश फर्किएपछि पुनःएकीकरण र सीपमूलक तालिमका लागि कोइकाले सहयोग उपलब्ध गराएको हो ।

मन्त्री श्रेष्ठले आगामी आर्थिक बर्षमा सातवटै प्रदेशमा सीप विकास तालिम प्रतिष्ठान संचालन गर्ने सरकारको योजना रहेको बताउनुहुँदै कोरिया सरकारसँग सहकार्यको लागि इच्छुक रहेको उल्लेख गरेका थिए।

दक्षिण कोरिया सरकारले रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत रोजगारीबाट करारअवधि सकिएर फर्किएका कामदारलाई पुनः एकीकरण तालिम सञ्चालन गर्न गण्डकी, बागमती, लुम्विनमा पुर्वाधार निर्माण गर्नेछ।

प्रवास खबरमा समाचार छ

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय