नेपाल वैदेशिक रोजगार व्यवसायी संघले नेपालका लागि साउदी अरेबियाको राजदूतावासमा भिसा स्ट्याम्पिङका प्राविधिक समस्याबारे छलफल गरेकोे छ । संघका संयोजक बिमल ढकाल, सदस्यद्वय पूर्व

अध्यक्ष प्रेम कटुवाल र प्रज्ञान न्यौपानेले बुधबार दूतावासका कार्यवाहक राजदूत तथा कन्सुलर सेवाका कर्मचारीसँग साउदी भिसा स्ट्याम्पिङका समस्याबारे छलफल गरेका हुन् ।

संघका तर्फबाट साउदी आईडी नवीकरण र कम्पनी ब्ल्याकलिष्टको समस्या राखिएको पूर्व अध्यक्ष कटुवालले मध्यान्हलाई जानकारी दिए । जवाफमा कार्यवाहक राजदूत र कन्सुलर शाखाका कर्मचारीले नेपाली व्यवसायीहरूलाई दुःख सास्ती दिने कुनै मनसाय नभए पनि भिसा स्ट्याम्पिङका लागि जाने म्यानपावर कम्पनीहरूले कामदारको विवरण साउदी अरबले तोके अनुसारको ढाँचामा नराख्ने गरेका कारणले समस्या हुने गरेको बताएका छन् ।

पूर्व अध्यक्ष कटुवालले व्यवसायीले कामदार पठाएको कम्तिमा पाँच वर्ष उक्त कामदारको विवरण जुनसुकै बेला दूतावासमा बुझाउन सक्ने गरी चुस्त दुरुस्त राख्नुपर्ने देखिएको बताए । म्यानपावर कम्पनीहरूले भिसा स्ट्याम्पिङ गर्दा रोजगारीमा जाने कामदारको राहदानी, मेडिकल रिपोर्ट, प्रहरी रिपोर्ट पेश गर्ने गरेका हुन्छन् ।

दूतावासले ती रिपोर्ट पाँच वर्षसम्म कुनै पनि बेला पेश गर्न लगाउने अवस्था रहेको र मागेको कागजात र रिपोर्ट पेश गर्न नसक्ने कम्पनीको आईडी नवीकरणमा समस्या देखिएको भन्दै पूर्व अध्यक्ष कटुवालले रेकर्ड राख्न अल्छी र लापरबाही नगर्न व्यवसायीहरूलाई आग्रह गरे ।

हाल कायम ८ सय ६० म्यानपावर कम्पनीमध्ये करिब ६ सय म्यानपावर कम्पनीसँग साउदी दूतावासको परिचयपत्र ‘साउदी आईडी’ रहेको छ । संघले यसअघि गत वैशाखमा पनि राजदूत मुसैद बिन सुलैमान अल–मारवानेलाई नेपाली कामदारको भिसा प्रक्रिया सहज बनाई साप्ताहिक कोटा बढाउन आग्रह गरेकोे थियोे ।

दूतावासले हाल एउटा म्यानपावर कम्पनीबाट पेश भएको फाइलमा साप्ताहिक २५ जना कामदारको मात्र भिसा जारी गर्ने गरेकोे छ । तर कार्यवाहक राजदूतले आवश्यकताका आधारमा जनशक्ति र कम्प्युटर थपेर साउदी अरबबाट आएको डिमाण्ड अनुसार नेपाली कामदारको भिसा जारी गर्ने प्रतिवद्धता जनाएका छन् ।
मध्यान्ह

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय