फोहोर उठ्न थालेकोमा गगनले गरे बालेन र झाँक्रीको प्रशंसा, अनुगमनका लागि संसदीय समितिको प्रस्ताव

फोहोर उठ्न थालेकोमा गगनले गरे बालेन र झाँक्रीको प्रशंसा, अनुगमनका लागि संसदीय समितिको प्रस्ताव
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौंको फोहोर उठ्न थालेकोमा खुसी व्यक्त गरेका छन्। यस कार्यमा पहलकदमी गरेको भन्दै थापाले काठमाडौंका मेयर वालेन्द्र साह र सहरी विकास मन्त्री रामकुमारी झाँक्रीको प्रशंसासमेत गरेका छन्।

‘काठमाडौंबाट फोहोर उठ्न थालेको छ। यसका निम्ति काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह र शहरी विकास मन्त्री रामकुमारी झाक्रीको निरन्तरको पहलकदमी प्रंशसनीय छ,’ आइतवार बिहान सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमार्फत थापाले भनेका छन्, ‘अब फेरी फोहोरको यस्तै सङ्कट आउन नदिन केहि काम तत्काल र तदारुकताका साथ गर्नुपर्ने छ।’

थापाले काठमाडौंको फोहोरलाई दीर्घकालीन व्यवस्थापनका लागि ६ बुँदे सुझावसमेत पेश गरेका छन्। फोहोर विसर्जनका क्रममा पटकपटक यस्ता समस्या आइपर्ने र टालटुले सम्झौताले पुन सम्झौताको अवस्था आइलाग्ने भन्दै अब यस्तो नहुने गरी काम गर्न थापाले आग्रह गरेका छन्।

‘शहरी विकास मन्त्रालयले बोलाएको छलफलमा सहभागी सिसडोल-बन्चरेडाडा क्षेत्रका बासिन्दाहरूले भन्दै हुनुन्थ्यो, मन्त्रालयले गरेको पछिल्लो सम्झौता १७५औं सम्झौता हो। हरेक पटक सङ्कट परे पछि यस्तो सम्झौता हुन्छ तर कार्यान्वयन हुँदैन,’ थापाले भनेका छन्, ‘त्यसैले सम्झौता कार्यान्वयन नहुनेमा गहिरो आशंका व्याप्त छ। यो स्वभाविक संशयलाई यो पटक सम्झौता अक्षरस र भनेकै समय सिमा भित्र कार्यान्वयन गरेर चिर्नुपर्ने छ।’

महामन्त्री थापाले जग्गा अधिग्रहणको विषय यही आर्थिक वर्षमा टुंग्याउनुपर्ने र प्रधानमन्त्री कार्यालयले यसमा पहलकदमी गर्नुपर्ने सुझावसमेत दिएका छन्।

‘सम्झौतामा लेखिएका केही काम शहरी विकास मन्त्रालय भन्दा अन्य मन्त्रालयको क्षेत्राधिकार भित्र पर्छ। ती मन्त्रालयले समयमा काम सम्पन्न गराउन कतिपय अवस्थामा प्रधानमन्त्री कार्यालयकै पहलकदमी चाहिन्छ,’ थापाले भनेका छन्, ‘खासमा जग्गा अधिग्रहणको विषय यही आर्थिक वर्षमा टुङ्गाउन पर्छ। कानुन बमोजिम तोकिए पछि मानसिव क्षतिपूर्ति दिन, यही आर्थिक वर्षको बजेटमा पुग्दो रकम बिनियोजनको व्यवस्था प्रधानमन्त्रीले गर्न लगाउनै पर्छ।’

यसैगरी थापाले संघीय सरकारले फोहोरको क्षेत्रमा गर्ने भनिएको कामको अनुगमन र सहजीकरण गर्न तीन जिल्लाको सांसदहरुको समितिसमेत प्रस्ताव गरेका छन्। समस्या आएपछि तात्नेभन्दा समस्या आउनै नदिने गरी समितिले अनुगमन र सहजीकरण गर्दा राम्रो हुने उनको भनाई छ।

‘संघीय सरकारको निश्चित समयभित्र गर्ने भनिएको कामको अनुगमन गर्न र आवश्यक पर्दा सहजिकरण समेत गर्न काठमाडौं,धादिङ र नुवाकोटका सांसदहरूको अनुगमन, सहजिकरण समिति प्रस्तावित गरेका छौं,’ उनले भनेका छन्, ‘यो समितिले हरेक हप्ता बैठक बसी सहमतिमा भएको प्रत्येक बुँदाको कार्यन्वयन भए नभएको अनुगमन गर्ने छौँ, कहिँ अफ्ट्यारो परेमा सहजीकरण गर्ने छौँ, काम नगर्ने निकायलाई झक्झकाएर काम गर्न बाध्य बनाउने छौँ। समस्या आएपछि तात्नेभन्दा समस्या नै आउन नदिने गरी काम गर्नु पर्ने छ।’

थापाले काठमाडौं महानगरपालिकाले फोहोर प्रभावित क्षेत्रको लागि गर्ने भनि निर्दिष्ट गरिएको काम समयभित्र सम्पन्न गर्नुपर्ने कतिपय विषय महानगरपालिकाको एकल क्षेत्राधिकार भन्दा बाहिरको विषयलाई सम्बन्धित निकायले सम्पूर्ण साथ दिनुपर्ने बताएका छन्। त्यसैगरी कामनपाले साउन १ गतेबाट स्रोतमै छुट्याइएको फोहोरमात्र संकलन गर्ने भनी जारी गरिएको सूचनालाईसमेत साथ दिन

उनले आग्रह गरेका छन्। ‘सम्पूर्ण महानगरबासीहरूले साथ दिएर यो अभियानलाई सार्थक बनाउनु पर्छ। कामनपाका सबै वडाहरूले किन्तुपरन्तु केही नभनी यो अभियानलाई सफल बनाउन असार महिना भरी आफ्नो बडाभित्र नगरवासीलाई सु-सुचित गर्ने लगायत को सम्पूर्ण तयारी गर्नुपर्छ,’ थापाले भनेका छन्, ‘यसरी हामी प्रत्येकले आजैबाट, अहिल्यैबाट आ-आफ्नो जिम्मामा परेका काम गर्दै गयौं भने फेरी १७६ औं पटक सम्झौता गर्नुपर्ने अवस्था आउदैन। काठमाडौ फोहोरको संकटबाट मुक्त हुन्छ।pahilo post

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय