भैरहवामा वैदेशिक रोजगार व्यवस्थापन शाखा सञ्चालन भएको हप्ता दिन वितिसक्दा पनि मेडिकल र कतार भिसा सेन्टरको सेवा उपलब्ध हुन सकेको छैन ।

त्यहाँ शाखा सञ्चालनमा आएपछि पूर्व श्रम स्वीकृति, अन्तिम श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको लागि काठमाडौं आउनुपर्ने बाध्यता हटेको ठानिएपनि अवस्था सहज नभएको सांसद प्रमोद कुमार यादवले

बताए । गत असार १ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले जिल्ला प्रशासन कार्यालय रूपन्देही अगाडि भैरहवामा वैदेशिक रोजगार व्यवस्थापन शाखाको शुभारम्भ गरेका थिए ।

केही समयपछि उपसचिव खटाउने गरी कार्यालयमा शाखा अधिकृतको नेतृत्वमा काम शुरु गरिएको थियोे । त्यसअवसरमा मन्त्री श्रेष्ठले भैरहवामा अब अन्य पूर्वाधार, भिसा सेन्टर, मेडिकलको व्यवस्था तत्काल गरिने आश्वासन दिएका थिए ।

तर बुधबार साँझ मध्यान्हसँगको कुराकानीमा सांसद प्रमोद यादवले गाम्का मेडिकल, मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने बायोमेट्रिक मेडिकल, कतार भिसा सेन्टर र म्यानपावर कम्पनीहरूले स्थानीय स्तरमा कार्यालय खोलेर सेवा प्रदान गर्न आलटाल गरेको गुनासो गरे ।

‘रोजगार कार्यालयको शाखा कार्यालय खोलेर मात्रै हुँदैन’, सांसद यादवले भने, ‘वैदेशिक रोजगारमा जानेहरूलाई विना झन्झट आवश्यक सेवा सहज ढंगबाट हुने व्यवस्थाको ग्यारेन्टी चाहिएको छ ।’ श्रम स्वीकृतिका धेरै सेवाहरु अनलाइनबाट शुरु भइसकेकाले म्यानपावर व्यवसायीलाई भैरहवाबाट सेवा दिन समस्या नरहेको उनको भनाइ छ ।

वैदेशिक रोजगार व्यवस्थापन शाखा सञ्चालनमा आएपछि नारायणी नदी पश्चिम मात्रै नभएर मधेश प्रदेशसहित तराईका २२ वटै जिल्लाका लागि भैरहवा सहज देखिएको पनि यादवले बताए । वैदेशिक रोजगार श्रम स्वीकृतिका आवश्यक पुर्वाधार स्थापना गर्न ढिलाइ गर्न नहुने सांसद यादवको सुझाव छ । यात्रुको चापको आधारमा भैरहवाबाट अन्य वायुसेवा कम्पनीहरूले पनि उडान भर्ने चासो देखाएका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय