📅 2082 साल माघ 19 , मंगलबार
ब्रेकिङ
नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल चितवनमा १० तलाको सेन्ट्रल रिसोर्ट बन्दै, एसवन होम्ससंग भयो निर्माण सम्झौता चितवनका ६७ संस्थालाई भाषा तथा शैक्षिक परामर्श सञ्चालन गर्ने अनुमतिपत्र बुझाउन निर्देशन । रामदुत ड्राइभिङ सेन्टर कावासोतीले भिडियो प्रतियोगिता सन्चालन गर्ने, यस्ता छन् शर्त दाउन्नेको सडक भासियो, बैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको अनुरोध नेकपा बहुमतद्वारा ‘भूमाफिया’ भन्दै बस्याललाई कालो मोसो। माओवादी केन्द्रको पनि ऐक्यबद्धता
Top Ad

बागलुङका पालिकाको प्राथमिकता ः स्थानीय उत्पादनका ब्राण्डसहितको बजारीकरण

🕒 June 27, 2022

बागलुङको गलकोट नगरपालिकाले ढकायोको साँग, बाँको र मुलाको सिन्किको बजारीकरण गर्ने भएको छ । गलकोटको घुम्टेलेक, रमुवा, पाण्डवखानी लगाएको उच्च भागमा पाइने ढकायो साँग, बाँको र मुलाको सिन्किलाई ब्राण्ड बनाएर बजारीकरण गर्ने नीति ल्याएको छ । नगरपालिकाले ढकायो, बाँको र सिन्किलाई नगरकै पहिचानका रुपमा विकास गरी बजारीकरण गर्ने जनाएको छ । नगरप्रमुख भरत शर्मा गैरेले गलकोटले कोसेलीको रुपमा आगन्तुक पाहुना र पर्यटकलाई सिन्की दिने, विदेशमा भएका आफन्तलाई कोसेली पठाउने गरी बजारीकरणको योजनासहित बजेट तथा कार्यक्रममा समेटेको बताउनुभयो ।

“यहाँका केही घरबासले ढकायो, मुला र बाँकोको सिन्कीलाई मुख्य आकर्षक परिकारका रुपमा बनाउँदै आएका छन्, गलकोटमा दरमकोखालाको माछा जतिकै प्रख्यात छ त्यतिकै यहाँको उच्च भागमा पाइने बाँको र ढकायोलाई सिन्किको रुपमा बजारीकरण गर्ने हाम्रो नीति हो”, उहाँले भन्नुभयो “स्थानीय महिलाले उत्पादन गरेको सिक्नीलाई हामीले खरिद गरेर मायाको चिनो तथा उपहार तथा कोसेलीका रुपमा बजारीकरण गर्छौं, जसका लागि यो वर्ष बजेटको समेत व्यवस्थापन गरेका छौँ ।” नगरपालिकाले उद्यम विकासमा रु २६ लाख र लघु उद्यम विकास कार्यक्रममा रु ३० लाख बजेटसमेत व्यवस्थापन गरेको छ । नगरपालिकाले नयाँ कृषि, पशुपन्छी फर्म र घरेलु उद्योग स्थापनका लागि रु २० लाखभन्दा बढी लगानी गर्ने ५० युवाका लागि पाँच वर्षसम्मका लागि ब्याजमा ५० प्रतिशत अनुदान दिने नीति ल्याएको छ ।

गलकोटले मात्रै हैन बागलुङका १० पालिका मध्ये अधिकांश स्थानीयतहले कृषिउपज तथा स्थानीय हस्तकला र घरेलु उत्पादनलाई बजारीकरण गर्ने जिम्मा पालिकाले लिन नीति ल्याएका छन् । दश पालिकाले आफ्नो नीति तथा कार्यक्रम र बजेटमा स्थानीय उत्पादनको बजारीकरणलाई प्राथमिकतामा राखेको पाइएको छ । उत्पादन भएका घरेलु वस्तुले बजार नपाएको गुनासोपछि पालिकाले यस्तो नीति ल्याउन थालेका हुन् ।

बागलुङको जेठो पालिका बागलुङ नगरपालिकाले घरेलु उत्पादनको बजारीकरणका लागि कृषि गाडी सञ्चालन गर्ने, घरेलु मदिरा ब्राण्डिङ गर्ने नीति ल्याएको नगर प्रमुख वसन्तकुमार श्रेष्ठले बताउनुभयो । “घरेलु मदिरा फाल्ने, विदेशी मदिरा खाने प्रचलन मौलाउदो छ, नगरपालिकाले घरेलु मदिरा ब्राण्डिङ गर्ने र बिक्री वितरण गर्न दिने नीति ल्याएको छ, यस्तै अर्गानिक कृषिउपजलाई बजार ल्याउनका लागि नगरपालिकाले कृषि गाडी सञ्चालनमा ल्याउने नीति ल्यएको छ”, उहाँले भन्नुभयो, “ब्राण्ड र लेवलिङ गर्नसके घरेलु मदिरासमेत बिक्री वितरण गर्न पाइन्छ, नगरपालिकाले कृषि गाडी सञ्चालनमा ल्याएपछि गाउँको उत्पादन सर्वसुलभरुपमा बजारमा ल्याइने व्यवस्था मिलाइने छ ।” नगरले कृषि गाडी सञ्चालनसँगै दूध, अण्डा, मासु र तरकारी, आत्मनिर्भर बागलुङ नगरीरुपमा विकास गर्ने कार्यक्रम अगाडि सारेको छ ।

नगरपालिकाले स्थानीयरुपमा उत्पादन गरिने मदिरालाई सबै स्वास्थ्यका मापदण्ड पूरा गरी बजारीकरण गर्ने नीति तथा कार्यक्रममा समावेश गरिएका जनाएको छ ।

यस्तै जिल्लाको ताराखोलालले भाङ्गो र आलुलाई ब्राण्डिङ गर्ने भएको छ । गाउँपालिकाका प्रमुख उत्पादनका रुपमा रहेको भाङ्गो र आलुलाई बजारीकरण गर्न पालिकाले सघाउने गरी नीति तथा कार्यक्रम पास गरेको गाउँपालिका अध्यक्ष धनबहादुर विकले बताउनुभयो । पालिकामा व्यावसायिक पशुपालनलाई वृद्धि गरी दुग्ध सङ्कलन केन्द्र स्थापना गर्ने, दुग्धजन्य पदार्थको उत्पादन प्रशोधन भण्डारण तथा बजारीकरण गर्ने, पशुमा कृतिम गर्भदान मिसन कार्यक्रम सञ्चालन गर्ने, नर्सरी निर्माणगरी आवश्यक बीउ तथा बिरुवा उत्पादन गरिने, बाँजो जग्गालाई खेतीयोग्य जग्गामा परिणत गर्ने, कृषि बीमा कार्यक्रम सञ्चालन गर्ने र फलफूल दशक बिरुवा रोपण कार्यक्रम सञ्चालन गर्ने उहाँले बताउनुभयो ।

पालिकाले उत्पादनका आधारमा अनुदान दिने र उनीहरुले उत्पादन गरेको नेपाली कागज, अल्लो धागो, राडी, भाङ्गो र निगालोबाट निर्मित वस्तु उत्पादनका लागि सिर्जना स्तरोन्नति सीप विकास तालिम र प्रविधि हस्तान्तरण कार्यक्रम सञ्चालन गर्ने गाउँपालिकाले जनाएको । निजी तथा सार्वजिनक स्थल तथा सामुदायिक क्षेत्रमा रहेका स्लेट ढुङ्गा उत्खननका लागि वातावरणीय प्रभाव मूल्याङ्कनसम्बन्धी अध्ययन गर्न सहजीकरण गर्ने नीति लिएको छ ।

यस्तै जिल्लाको काठेखोला गाउँपालिकाले विद्यार्थीलाई दिवा खाजामा स्थानीय उत्पादनलाई प्राथमिकता दिने, नयाँ घरवासलाई प्रवद्र्धन गर्दै पाहुँनाको सत्कार काठेखोलाको संस्कार भन्ने नीति लिएको गाउँपालिका अध्यक्ष राजु थापाले बताउनुभयो । यस्तै तमानखोला गाउँपालिकाले स्थानीय उत्पादनको स्वाद चखाउने गरी घरबास पर्यटनको विकासका लागि मौलिक गाउँ घोषणा गर्ने भएको छ ।

यस्तै जैमिनी नगरपालिकाले बाँझो जग्गा एकीकृत गरी मसला बाली विकास तथा घाँस विकास कार्यक्रम सञ्चलना गर्ने नीति लिएको नगरप्रमुख नरबहादुर पुनले बताउनुभयो । उहाँले नगरपालिकाले बाँझो जग्गाको उपयोगितामार्फत रोजगारी सिर्जना हुने कार्यक्रमलाई प्राथमिकता राख्दै बाँझो जग्गाको उपयोगिता, रोजगारीको सुनिश्चितता भन्ने नाराका साथ बाँझो रहेको जग्गालाई उचित व्यवस्थापन गर्दै रोजगारी सिर्जना हुनेखालका कार्यक्रम ल्याउने नीति नगरपालिकाले सार्वजनिक गरेको हो । यस्तै आर्थिक विकासको पहिलो सूचक कृषि बनाएको नगरपालिकाले ‘कृषकसँग नगरपालिका कार्यक्रम’ सञ्चालन गरेर पशुपन्छीपालक कृषकलाई अनुदान दिने नीति लिएको छ ।