📅 2082 साल माघ 17 , आइतबार
ब्रेकिङ
सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल चितवनमा १० तलाको सेन्ट्रल रिसोर्ट बन्दै, एसवन होम्ससंग भयो निर्माण सम्झौता चितवनका ६७ संस्थालाई भाषा तथा शैक्षिक परामर्श सञ्चालन गर्ने अनुमतिपत्र बुझाउन निर्देशन । रामदुत ड्राइभिङ सेन्टर कावासोतीले भिडियो प्रतियोगिता सन्चालन गर्ने, यस्ता छन् शर्त दाउन्नेको सडक भासियो, बैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको अनुरोध नेकपा बहुमतद्वारा ‘भूमाफिया’ भन्दै बस्याललाई कालो मोसो। माओवादी केन्द्रको पनि ऐक्यबद्धता दुम्किबासको नयाँ पुल सञ्चालनमा आयो, यात्रुलाई राहत नारायणगढ–बुटवल सडक : तेस्रो पटकको म्याद सकिँदै, प्रगति ६९ प्रतिशत मात्र मधेशमा तीन महिना सरदरभन्दा कम वर्षा हुने गण्डकी प्रदेश स्तरीय अन्तर जिल्ला ब्याडमिन्टन प्रतियोगिता भोलीदेखि नवलपुरमा सुरू हुँदै
Top Ad

पर्यटकीयस्थल आँधीमूल जाने सडक कालोपत्र

🕒 July 4, 2022

तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित पर्यटकीयस्थल आँधीमूल जाने सडक कालोपत्र गरिएको छ । गाउँपालिकाकै प्रमुख पर्यटकीय धार्मिकस्थलका रुपमा रहेको आँधीमूलसम्म जाने सडक कालोपत्र गरिएको हो ।

पृथ्वीराजमार्गको एक हजार ७०० देखि साढे दुई किलोमिटरको दूरीमा आँधीमूल रहेको छ । हाल ९०० मिटर दूरीमा कालोपत्र सम्पन्न भएको आँबुखैरेनी गाउँपालिकाका इञ्जिनीयर पङ्कज चितौरे मगरले जानकारी दिनुभयो ।

गाउँपालिका र सङ्घीय सरकारको रु एक करोड ३४ लाखको लागतमा कालोपत्र सम्पन्न भएको उहाँले बताउनुभयो । गत वर्षदेखि उक्त सडक कालोपत्रका लागि काम सुरु भएको थियो । नुवाकोटस्थित मेगा डेभलपमेन्ट कन्स्ट्रक्सन प्रालीले सडक कालोपत्रको ठेक्का पाएको थियो ।

त्यहाँबाट आँधीमूलसम्मको बाँकी सडक कालोपत्रका लागि पनि ठेक्का लागेर काम भइरहेको इञ्जिनीयर मगरले बताउनुभयो । “बाँकी रहेको ठाउँमा पनि कालोपत्रका लागि ठेक्का लागेर काम सुरु भइसकेको छ, यही वर्षभित्र सडक कालोपत्र सम्पन्न हुन्छ”, उहाँले भन्नुभयो ।

गणेशकुण्ड विएम सिजल जेभीसँग कालोपत्र, ढलान र नाला निर्माणका लागि गत वैशाख १ गते सम्झौता भएको थियो । सम्झौता भएको एक वर्षभित्र काम सम्पन्न गर्नुपर्ने म्याद रहेको छ । रु तीन करोड आठ लाख २० हजार ३८० मा सडक कालोपत्रका लागि सम्झौता भएको छ ।

यसअघि कच्ची सडक हुँदा पनि आँधीमूलमा पर्यटकको भीड रहने गरेकामा सडक कालोपत्र भएपछि त्यो सङ्ख्या अझै बढ्ने विश्वास गरिएको छ । आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले सडक कालोपत्र सम्पन्न भएपछि आँधीमूलसम्म पुग्न पर्यटकलाई सहज हुने बताउनुभयो ।

आँधीमूल पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास भइरहेको छ । आँधीमूलमा रहेको मन्दिर, २३ वटा धारालगायतले यहाँ आउने पर्यटकलाई लोभ्याउने गरेको छ । आँधीमूलमा ठूलो एकादशीका दिन पनि विशेष मेला लाग्ने गरेको छ । आँधीमूल मन्दिरको दर्शन गरे मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको पाइन्छ ।

आँधीमूलस्थल रमणीय भएकाले पूजाअर्चनाका साथै वनभोजका लागि मानिस टाढाटाढादेखि आउने गर्छन् । यो मन्दिरमा साउन महिना र औँसीबाहेकका सबै दिनमा पूजा हुने गर्छ । आँधीमूल देवीको मन्दिरमा परेवा उडाउने, बोका र कुखुरालाई बलि दिने प्रचलन पनि रहेको छ ।

पर्यटकको चहलपहल बढ्न थालेसँगै यस ठाउँमा थप पूर्वाधार निर्माण गर्ने सोच राखिएको गाउँपालिकाले जनाएको छ । यस क्षेत्रको संरक्षण र विकासका लागि गाउँपालिकाले गत वर्ष तारबार लगाउनुका साथै हावाहुरी आउँदा र पानी परेको समयमा बस्न सहज बनाउने उद्देश्यले ट्रष्ट निर्माण गरेको छ ।

गाउँपालिकाले धार्मिक पर्यटकीय गन्तव्य आँधीमूलको विस्तृत आयोजना प्रतिवेदन तयार गर्न लागेको छ । प्यागोडाशैलीको मन्दिर, पार्क, दुई पोखरी र माछाको आकृतिका २३ वटा धारालगायत संरचना रहेको आँधीमूलमा दर्शन गरेमा मनले चिताएको पुग्ने जनविश्वासका कारण तनहुँ, कास्की, स्याङ्जालगायत विभिन्न स्थानबाट दर्शनार्थी आउने गरेका छन् ।

कञ्चन पानी रहेको पोखरीमा पौडिरहने माछा यस तीर्थस्थलको प्रमुख आकर्षण हो । जलदेवताका रुपमा विश्वास गरिने यहाँका माछा मरेमा अनिवार्यरुपमा संस्कार (काजकिरिया) गर्नुपर्ने प्रचलनले यहाँको सांस्कृतिक महत्वलाई थप उजागर गरेको छ ।

प्राचीनकालदेखि नै यहाँस्थित रुखको फेदमा आँधीमूल बाराहीको पूजा गरिँदै आइएकोमा विसं २०३५ मा स्थानीय पाकुली परियारको विशेष सक्रियतामा मन्दिर निर्माण गरिएको थियो । परापूर्वकालदेखि नै हरिबोधनी एकादशीका दिन फूलको डोली ल्याएर विसर्जन गर्ने एवं मन्दिर परिसरमा तोरण टाङ्ने कार्य चलिआएको छ । जल, जङ्गल, जमिनलाई पुज्दै आएका स्थानीय मगर समुदायले खेतबारीमा बाली लगाउने र भित्र्याउने समयमा पनि पूजाआजा गर्ने गरेका छन् ।

मन्दिरका पुजारी युवराज मास्के मगरका अनुसार यहाँ दर्शन गरेमा मनले चिताएको पुग्ने जनविश्वासका कारण पछिल्ला वर्षमा देशका विभिन्न भागबाट दर्शनार्थी आउनेक्रम बढ्दै गएको छ । गण्डकी प्रदेश सरकारले पनि प्रदेशमा रहेका ११० पर्यटकीय गन्तव्यमध्येमा आँधीमूललाई राख्दै यसको विकासका लागि पनि चासो दिएको छ ।