
पाल्पाको रामपुरमा शहीद स्मृति पार्क निर्माण गरिएको छ । पर्यटकीय विकास गर्ने उद्देश्यले रामपुर नगरपालिका–३ स्थित सानीअमराई सामुदायिक वन क्षेत्रमा पार्क निर्माण गरिएको हो ।
रु १४ लाख ४२ हजार केन्द्रीय बजेट तथा स्थानीयको रु एक लाख ४५ हजार जनश्रमदान गरी करिब रु १५ लाख ८७ हजारको लागतमा पार्क निर्माण गरिएको समितिका अध्यक्ष सूर्यनारायण श्रेष्ठले
बताउनुभयो ।

यहाँ नवनिर्मित पार्कको प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री दलबहादुर रानाले आइतबार उद्घाटन गर्दै शहीदको सम्झनाका लागि निर्माण गरिएको पार्कले पर्यटकीय विकासमा टेवा पुग्ने बताउनुभयो । पार्कलाई व्यवस्थित बनाउन यहाँ विभिन्न संरचना थप गर्दै जानुपर्ने उहाँको भनाइ छ ।
डिभिजन वन कार्यालय पाल्पा र रामपुर डिभिजन वन कार्यालयको व्यवस्थापनमा पार्क निर्माण गरिएको हो । डिभिजन वन कार्यालयका प्रमुख दीपक ज्ञवालीले सामुदायिक वनको संरक्षणसँगै पर्या–पर्यटनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।