बनेपावासीले छिट्टै एकीकृत खानेपानी आयोजनाको पानी उपभोग गर्ने – News Nepal Media
Trend

खानेपानीको समस्या झेल्दै आएका काभ्रेपलाञ्चोकको बनेपा नगरवासीलाई खानेपानीको व्यवस्था हुन लागेको छ । नेपाल खानेपानी संस्थानले पानी वितरण गर्दै आए पनि अपर्याप्त भएकाले नगरवासीलाई काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको पानी ख्वाउनका लागि नगर प्रमुख शाक्य नेतृत्वमा आवश्यक पहल थालिएकामा अहिले अन्तिम आयोजनाको काम चरणमा पुगेको छ ।
करिब नौ वर्ष अगाडि निर्माण सुरु भएको उक्त आयोजनाको पानी अहिले बनेपाको आजाद डाँडामा रहेको खानेपानी संस्थानको मुख्य ट्याङ्कीमा खसालीसकिएको छ । एकीकृत खानेपानीको पानी खानेपानी संस्थानको ट्याङ्कीमा खसेसँगै पानी वितरणमा सहज भएको संस्थानले जनाएको छ ।

नगर प्रमुख शाक्यले निर्वाचनका बेलामा नगरवासीलाई चार महिनाभित्रमा खानेपानी उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएकामा चार दिन अगाडि उक्त आयोजनाको पानी ल्याउन सफल भइएको हो । ट्याङ्कीमा पानी खसालेसँगै अब पानी प्रवाह गरेर परीक्षण गर्दै उपभोक्तालाई वितरण गर्ने काममा आफू लागिरहेको उहाँले बताउनुभयो ।

“आफ्नो नेतृत्वमा नगरपालिकाका इञ्जिनीयर, प्लम्बर र पनौती नगरपालिका प्रमुखसमेतको सहयोगमा एकीकृत खानेपानी आयोजनाको मुहानसम्म पुगेर फुटेको पाइप मर्मत तथा जडान गरेपछि पनौतीस्थित खानेपानी ट्याङ्कीमा पानी खसालेर यहाँबाट बनेपामा रहेको खानेपानी ट्याङ्कीसम्म ल्याउन सफल भएका छौँ ।” नगर प्रमुख शाक्यले भन्नुभयो,“पाइप लाइन जोड्नुपर्ने, सरसफाइ गर्नुपर्ने र सुधार गर्नुपर्ने काम बाँकी रहेकाले खानेपानी संस्थानका प्राविधिकको सहयोगमा अब छिट्टै दुवै खानेपानीलाई एकै ठाउँमा मिसाएर खानेपानी वितरण गर्ने कार्यमा लागिरहेका छौँ ।”

अहिले पहिलो पटकका लागि संस्थानले वितरण गर्दै आएको उपभोक्तालाई मात्रै पानी वितरण हुने र आयोजनाले जोडेको नयाँ पाइपलाईनमा पानी प्रवाह गरेर परीक्षण गर्दै नयाँ उपभोक्तलाई पनि विस्तारै वितरण गर्ने प्रक्रियामा रहेको उहाँले बताउनुभयो । बनेपास्थित संस्थानको ट्याङ्कीमा खसेको पानीलाई धनेश्वरमा रहेको पानी ट्याङ्कीसँग पनि लिङ्क गर्नुपर्ने र पहिलादेखिको मुहान शशीपानीबाट उक्त संस्थानले ल्याएको पानीलाई आयोजनाले बनाएको मगर गाउँ र कुँइकेल गाउँमा रहेको ट्याङ्कीमा इन्टरलिङक गर्न बाँकी रहेकाले पानी प्रवाहको कामलाई परीक्षण गर्दै वितरणको तयारी भइरहेको छ। एकीकृत खानेपानीलाई बनेपा नगरपालिका–५, ६, ७, ८ र ९ का बान्सिदालाई वितरण गर्ने आयोजनाको लक्ष्य छ । यसअघि काभ्रेपलाञ्चोकको बनेपा, धुलिखेल र पनौती नगरपालिकाका बासिन्दालाई खानेपानी उपलब्ध गराउनका लागि २०६९ साल मङ्सिर २७ गते सम्झौता भई २०७० जेठ २९ गतेबाट कार्य प्रारम्भ भएको सो आयोजना सम्झौता अनुसार २०७२ साल जेठ ३२ गते सम्पन्न गर्ने गरी निर्माण कार्य थालनी भएको थियो ।

एक लाख ३६ हजार जनसङ्ख्यालाई चौबिसै घण्टा शुद्ध खानेपानी खुवाउने योजनाका साथ कूल एक अर्ब २९ करोड ९२ लाखको लागतमा काम सुरु गरिएकामा आठौँं पटकसम्म पनि म्याद थप गरेर गरिरहेको कार्य सम्पन्न नभएपछि काम अगाडि बढेको थिएन । नेपाल सरकार, एसियाली विकास बैंक(एडिबी) नगरपालिका र खानेपानी बोर्डको सहयोगमा उक्त आयोजना निर्माण गरिएको हो । आयोजनामा नेपाल सरकारको २१ प्रतिशत, एडिबीको २९ प्रतिशत, स्थानीय सहभागिता(प्रत्येक नगरपालिकाबाट ५÷५ प्रतिशत) १५ प्रतिशत र नगर विकास कोषको ऋण ३५ प्रतिशत रकम जुटाइ आयोजना निर्माण थालिएको थियो । पैँतिस प्रतिशतमा पानी उपभोग गर्ने उपभोक्ताबाट लिएको महसुलबाट सम्झौता भएको १५ वर्षभित्रमा तिरिसक्ने गरी योजना अगाडि बढाइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP