सुरक्षित र स्मार्ट रिब्दीकोट – News Nepal Media
Trend

पाल्पाको रिब्दिकोट गाउँपालिकाले उज्यालो तथा सुरक्षित रिब्दीकोट तथा स्मार्ट रिब्दीकोट एप्स सञ्चालनलगायत योजना अगाडि सारेको छ । गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा सो विषयवस्तु समावेश गरिएको हो । गाउँपालिकाले कर तथा राजस्वलाई विद्युतीय प्रणालीमार्फत भुक्तानी गर्न स्मार्ट रिब्दीकोट एप निर्माण गरी प्रयोगमा ल्याइने जनाइएको छ । आन्तरिक आय, अन्तरसरकार वित्त हस्तान्तरण र राजस्व बाँडफाँटलाई यथार्थ विष्लेषण गरी नीति तथा कार्यक्रम तय गरिएको छ ।

प्रस्तुत नीति तथा कार्यक्रममा गाउँपालिकाको एकीकृत कृषि तथा पशु विकासको रणनीति बनाई कार्यान्वयन गर्न विज्ञसहितको संयन्त्र निर्माण गर्ने, किसान सूचीकरणको बाँकी काम पूरा गरी परिचयपत्रको व्यवस्था मिलाउने, एक वडा एक प्राविधिक सेवा कार्यक्रम सञ्चालन गर्ने, एक वडा एक नमूना उत्पादन, गाउँपालिकास्तरीय नर्सरी, एक वडा एक पोखरी, म बनाउँछु मेरो रिब्दीकोट, खनौँ आफ्नो माटो छाडौँ विदेशको बाटोलगायत नारा तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।पालिकाले खस्यौली प्राथमिक केन्द्रलाई १० शय्याको अस्पतालमा परिणत गर्ने, मेरो रिब्दीकोट मेरो गर्व मेरो स्वर्ग अभियान सञ्चालन गर्ने, मुख्य सडक क्षेत्रमा सडक बत्ती र सिसिक्यामेराको प्रबन्ध मिलाउने, गाउँपालिकास्तरीय उद्योग वाणिज्य सङ्घ स्थापना गर्ने योजना पलिकासँग रहेको छ ।

दीर्घरोगीको प्रोफाइल निर्माण गरी स्वास्थ्योपचारमा सहजीकरण गर्ने, पालिकाभित्रका बर्थिङ सेण्टरबाट रिफर गरिएका गर्भवतीलाई निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने, विद्यालयका किशोरीलाई निःशुल्क सेनिटरी प्याडको व्यवस्था गर्ने, गाउँपालिकास्तरीय नमूना विद्यालय निर्माण गरिने, विद्यालयमा सिक्दै कमाउँदै कार्यक्रम सञ्चालन गरिने, कक्षा छ सम्मका बालबालिकालाई दिवा खाजा कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ । कृषि कार्य गर्नका लागि गाउँपालिकाभित्र बसाइँसराइ गरी आउने नागरिकलाई प्रोत्साहन रकम उपलब्ध गराउने जनाइएको छ । कृषि व्यवसाय सफलताको आधार सबै खेतीयोग्य जमिनमा सिँचाइ पूर्वाधारलगायत कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP