
सप्तरीको कञ्चनरुप नगरपालिकामा आज बिहान भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । कञ्चनरुप–९ विष्णु मन्दिर नजिक पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम जाँदै गरेको घोडा बोकेको प्र२–०२–००१च ०७४६ नंको बोलेरो पिकअप र पश्चिमबाट पूर्व जाँदै गरेको बा१८च ६६१७ नंको स्कारपियो एकापसमा ठोक्किँदा मृत्यु भएको हो।
मृत्यु हुने सुनसरीको दुहबी नगरपालिका–३ का सञ्जय चौधरी, राजकुमारी चौधरी र हरेराम साह रहेका छन्। उनीहरु स्कारपियोमा सवार थिए। साथै उक्त दुर्घटनामा उनीहरुको घटना स्थलमै मृत्यु भएको प्रहरी कार्यालय सप्तरीले जनाएको छ।


यस्तै दुवै सवारीमा सवार १२ जना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि स्थानिय धर्मेश्वर अस्पताल ठेलिया सप्तरीमा प्राथमिक उपचारपश्चात थप उपचारका लागि विराटनगर पठाइएको छ ।