आइतबार , जेठ १२, २०८२
प्राध्यापकलाई अनुसन्धानलेखन तालिम – News Nepal Media
Trend

म्याग्दीको सदरमुकाम बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा अनुसन्धानलेखन तालिम सम्पन्न भएको छ । विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोग र क्याम्पसको व्यवस्थापनमा अनुसन्धान लेखनसम्बन्धी तालिम सञ्चालन गरिएको हो ।

साताव्यापी रुपमा सञ्चालित तालिमको समापन कार्यक्रममा प्रशिक्षक कमलराज देवकोटाले नयाँ परिस्थितिमा म्याग्दी जिल्लाले आफैँ ज्ञान उत्पादन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । “ज्ञान काठमाडौँबाट जहाज चढेर आउँदैन”, डा देवकोटाले भन्नुभयो, “प्रशिक्षकले सबै कुरा सिकाउँछ भन्ने भ्रममा कोही पनि पर्न भएन । मुख्य कुरा ज्ञान उत्पादन गर्ने म्याग्दी आफैँले हो ।”

तालिमका क्रममा सहभागीहरूले सिकाइमा निकै चाख दिएको बताउँदै देवकोटाले भन्नुभयो, “काठमाडौँबाट हेर्दा म्याग्दी जिल्ला दुर्गम देखिन सक्छ । तर त्यसो होइन । विज्ञान प्रविधिको विकासले इच्छाशक्ति हुनेलाई ज्ञान उत्पादनमा निकै सहयोग गरेको छ । म्याग्दी क्याम्पसले पनि यसको उपयोग गर्नुपर्छ ।”

म्याग्दी बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष सोमनाथ ढुङ्गानाले म्याग्दी बहुमुखी क्याम्पसमा अनुसन्धानको वातावरण तयार भएको बताउनुभयो । म्याग्दीमा अनुसन्धानको संस्कृति सुरु गर्ने जिम्मेवारी पनि म्याग्दी क्याम्पसको काँधमा आएको उहाँले बताउनुभयो ।

प्रशिक्षणका लागि बेनी आउनुभएका त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डाक्टर वासुदेव काफ्लेले ‘क्युएए’ मूल्याङ्कनका लागि अबका सूचकहरू पहिलेभन्दा फरक र कठोर हुन सक्ने सङ्केत गर्दै त्यसतर्फ सचेत हुन सरोकारवालालाई सुझाव दिनुभएको छ ।

तालिम समापनका अवसरमा बोल्दै क्याम्पस प्रमुख गोरखबहादुर जिसीले पनि म्याग्दी बहुमुखी क्याम्पसले क्युएए पुनः मूल्याङ्कनमा पर्नका लागि अनुसन्धान लेख प्रकाशनलाई जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । तालिमका विषयवस्तुमाथि त्रिभुवन विश्वविद्यालयका प्रा डा वासुदेव काफ्ले, अनुसन्धान संस्था सेरिडका प्रमुख डा कमलराज देवकोटा, पृथ्वीनारायण क्याम्पसका उपप्राध्यापकहरू खिमराज सुवेदी र पिताम्बर पौडेलले सहजीकरण गर्नुभएको थियो ।

तालिममा म्याग्दी बहुमुखी क्याम्पस बेनी, मङ्गला बहुमुखी क्याम्पस बाबियाचौर, प्रकाश माध्यमिक विद्यालय बेनी र पौलस्त्य मावि, भिरमुनिका २८ जना शिक्षक तथा प्राध्यापकहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नवलपुरमा एक महिने निःशुल्क ड्राइभिङ तालिम सुरु

कावासोती ट्रायल सेन्टरको नाम परिवर्तन, अब ‘नवलपुर ट्रायल सेन्टर’

कावासोती वडा नं ७ मा सुनौलो हजार दिन कार्यक्रमअन्तर्गत ६२ आमालाई पोषण सामग्री वितरण

आइतबार देखी अनिवार्य रूपमा विद्यालयहरू सञ्चालन गर्न हुप्सेकोट गाउँपालिकाको आग्रह

“मेवाको मिठाससँगै मिठो कमाइः मिनबहादुर बसेकाछन् कृषिमा रमाई”

सेन्ट्रल कलेजले जापान जान चाहने विद्यार्थीलाई ५० प्रतिशत छुट दिने घोषणा


TOP