बुधबार , साउन १५, २०८२
नवलपुरमा बहिरा समुदायलाई लक्षित गर्दै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी एक दिने तालिम सम्पन्न – News Nepal Media
Trend

नवलपुर, कावासोतीमा बहिरा समुदायका लागि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ। शनिबार कावासोतीको सितारा रिसोर्टमा आयोजित तालिममा जिल्लाभरिबाट ४५ जना बहिरा सहभागी थिए।

तालिमको आयोजना नवलपरासी बहिरा संघले गरेको हो भने कावासोती नगरपालिकाले सहकार्य गरेको हो। कार्यक्रममा कावासोती नगरपालिकाकी उपप्रमुख तथा प्रमुख अतिथि फूल कुमारी थनेतले नवलपुर जिल्लामा ५ कक्षाभन्दा माथिको बहिरा शिक्षाको व्यवस्था नभएकोले बाध्यतावश अन्य जिल्लामा जानुपर्ने अवस्था रहेको बताउनु भयो। बहिरा विद्यार्थीहरूको शिक्षामा पहुँच वृद्धि गर्न सबै स्थानीय तहको साझा पहल आवश्यक रहेको उहाँको भनाइ थियो।

तालिममा प्रशिक्षकको भूमिकामा कावासोती नगरपालिकाका आर्किटेक्ट इञ्जिनियर पबन रुपाखेती र प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलले निर्वाह गर्नुभएको थियो। प्रशिक्षकद्वयले विपद् के हो, कस्ता खालका विपद् आउन सक्छन्, ती विपद्बाट कसरी जोगिने, पूर्वतयारी कसरी गर्ने भन्ने विषयमा सहभागीलाई व्यावहारिक प्रशिक्षण दिनुभयो।

कार्यक्रममा संस्थापक अध्यक्ष दीपावली शर्माले फरक क्षमता भएका व्यक्तिहरूलाई विपद् पूर्वतयारी र जोखिम न्यूनीकरण सम्बन्धी ज्ञान अत्यन्तै आवश्यक रहेको बताउनु भयो। उहाँले बहिराहरूले समाजमा शिक्षा, अवसर र पहुँचमा ठूलै संघर्ष गर्नुपरेको उल्लेख गर्दै, विपद्को बेला त झनै उनीहरू जोखिममा पर्ने बताउँदै यो तालिमको आयोजना गरिएको बताउनु भयो।

उहाँका अनुसार नवलपुर जिल्लामा बहिरा विद्यार्थीका लागि माध्यमिक शिक्षा प्राप्त गर्ने व्यवस्था अझैसम्म छैन। हाल जिल्लामा जम्मा ३ विद्यालयमा ५ कक्षासम्म मात्र अध्यापन हुन्छ। यसै कारण यस जिल्लाका बहिरा विद्यार्थी चितवन, गोरखा, पोखरा लगायतका जिल्लामा गएर अध्ययन गर्नुपर्ने बाध्यता रहेको छ। कार्यक्रममा २०८१ को एसईईमा उत्तीर्ण भएका नवलपुरका दुई बहिरा विद्यार्थीलाई सम्मान गरिएको थियो। एसईई उत्तीर्ण बहिरा विद्यार्थीमध्ये मध्यबिन्दु चोरमाराकी कविता कुमाल र कावासोती–३ का क्षितिज विकलाई सम्मान गरिएको हो। नवलपुरमा बहिराहरूका लागि माध्यमिक तहको विद्यालय नहुँदा उनीहरू गोरखा स्थित मनकामना बहिरा आवासीय माध्यमिक विद्यालयमा अध्ययनरत छन्।

कार्यक्रमको अध्यक्षता नवलपरासी बहिरा संघकी अध्यक्ष प्रतिमा गुरुङले गर्नुभएको थियो। उहाँले जिल्लामा दोभाषेको अभावले बहिरा व्यक्तिहरू थप समस्यामा परेको भन्दै नगरपालिकाले दोभाषे उत्पादनमा सहकार्य गर्नुपर्ने अपेक्षा व्यक्त गर्नुभयो।

कार्यक्रममा चितवनबाट दोभाषेको भूमिकामा सिता पौडेल सहभागी रहनुभएको थियो। उहाँले साइन भाषाको माध्यमबाट सहभागी र प्रशिक्षकबीच पुलको काम गर्नुभयो। तालिममा बहिरा सहभागीहरूले विपद् सम्बन्धी विषयमा पहिलो पटक यति विस्तृत रूपमा बुझ्न पाएको भन्दै खुसी व्यक्त गरे।

विपद् जोखिम न्यूनीकरण तालिमले बहिरा समुदायलाई सुरक्षित बनाउने, उहाँहरूको अधिकार सुनिश्चित गर्न सहयोग पुर्‍याउने तथा समाजमा उहाँहरूको सहभागिता अभिवृद्धि गराउने इञ्जिनियर तथा प्रशिक्षक पबन रुपाखेतीले बताउनु भयो। यस्ता कार्यक्रमले बहिरा व्यक्तिहरूले भोगिरहेका सामाजिक चुनौतीहरूमा सरकार र समुदायको ध्यानाकर्षण गराउन पनि सहयोग पुर्‍याउने अपेक्षा उहाँले व्यक्त गर्नुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नवलपुरका अधिकांस कन्सलटेन्सी दर्ताविना सञ्चालनमा, के गर्दैछ प्रशासन ?

हिमानी ट्रस्टले जुम्लामा सुत्केरी सेवा केन्द्र बनाउँदै

नवलपुर जिल्ला अदालत बार इकाइको अध्यक्षमा अधिकारी विजयी

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी खेलाडीहरूलाई सेन्ट्रल कलेजद्वारा जर्सी वितरण

आजका लागि विदेशी मुद्राको विनिमय दर

नवलपुरमा बहिरा समुदायलाई लक्षित गर्दै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी एक दिने तालिम सम्पन्न


TOP