रोगले सुन्तला सखाप भएपछि तरकारी खेती गर्दै किसान – News Nepal Media
Trend

भरतपुर, १४ मङ्सिर (रासस): चितवनको तामिन कुनैबेला सुन्तला उत्पादन राम्रो हुने ठाउँका रूपमा प्रख्यात थियो । इच्छाकामना गाउँपालिका–५ तामिनका किसानले एउटा याममै लखौँ रुपैयाँको सुन्तला बिक्री गर्थे । सुन्तला उत्पादनको पकेट क्षेत्रसमेत घोषणा गरेर केही वर्ष कृषि कार्यालयका कार्यक्रमसमेत यहाँ सञ्चालन भए । तर अहिले रोगका कारण यहाँ सुन्तलाका बोट मरेर सखाप भएका छन् । बर्सेनि उत्पादनमा ह्रास आएको छ ।

तामिन क्षेत्रभित्र ८० बिघा क्षेत्रफलमा लगाइएको सुन्तलाका बोट मर्दै गएर १० बिघामा मात्रै बाँकी छ । तामिन कृषि सहकारीका अध्यक्ष हरिबहादुर नेपालका अनुसार यहाँ ७० प्रतिशत सुन्तलाका बोट मरेर सखाप भएका छन् । उहाँले २०७५ सालदेखि सुन्तलाको बोटमा रोग देखा पर्न थालेको बताउनुभयो । विसं २०५० देखि यहाँका किसानले व्यावसायिकरूपमा सुन्तला खेती गर्दै आएका हुन् ।

“विसं २०५७ देखि व्यावसायिकरूपमा सुन्तला बिक्री गर्न थालेका हौँ”, उहाँले भन्नुभयो, २०७५ सालसम्म उत्पादन र आम्दानी बढेको थियो, त्यसपछि क्रमशः बोट मर्न थाले ।” एउटा याममै रु १२ लाखको सुन्तला बेच्नुभएका नेपाल आफ्नो बारीमा अहिले एउटा पनि बोट नरहेको बताउनुहुन्छ । तामिनमा अब दुई सुन्तलाका बगैँचा मात्रै बाँकी छन् । अन्य सबै सखाप भएका छन् ।

बोटमा टुप्पा सुक्ने र फेद कुहिने समस्या छ । एक हजार मिटरभन्दा तलको जमिनमा रहेका सुन्तलाको बोटमा यस्तो समस्या छ । तामिन सहकारीमा आवद्ध तामिन, ठङराङ, साठीमुरे, नेपेडाँडा, न्याङ्दीखोला, कमेरघाट, निबुवाडाँडाका कृषकले व्यावसायिकरूपमा सुन्तला खेती गर्दैआएका थिए । अहिले नेपेडाँडा र ठङराङका बगँैचामा मात्रै सुन्तलाका बोट बाँकी रहेको नेपालले बताउनुभयो ।

कृषि ज्ञान केन्द्रले अनुदानमा दिएको सुन्तलाको बेर्नामा पनि ठूलो बोटमा जस्तै रोग देखापरेपछि यहाँका किसानले नयाँ बोट लगाउन छाडेका छन् । तामिनका कृषक रामप्रसाद बोहोराले सुन्तलाको बोटमा लागेको रोगका कारण किसान चिन्तित बनेको बताउनुभयो । “रोगले तामिनमा विगतका वर्षमा जस्तो सुन्तला नै छैन”, उहाँले भन्नुभयो । सुन्तलामा रोगले पात झर्दै गएका छन् । बोट सुक्दै गएका छन् ।

सुन्तला मासेर तरकारी खेती

तमिनका किसानले रोगले सुन्तला सखाप भएपछि तरकारी खेती गर्न थालेका छन् । किसानले मौसमी र बेमौसमी तरकारी उत्पादन गरेर बेच्न थालेको स्थानीय विश्वप्रकाश नेपालले बताउनुभयो । करिब ५० किसानले व्यावसायिक सुन्तला खेती गर्ने गरेकामा सबैले तरकारी लगाउन थालेको उहाँले जानकारी दिनुभयो ।

तरकारीको पकेट क्षेत्रसमेत सञ्चालन भएको उल्लेख गर्दै उहाँले कृषि ज्ञान केन्द्रबाट बीउ र कृषि औजारसमेत सहयोग प्राप्त भएको बताउनुभयो । यहाँ किसानले टमाटर, काँक्रो, करेला, सिमी व्यावसायिकरूपमा लगाएका छन् । साउनदेखि मङ्सिरसम्म यहाँ तरकारी उत्पादन राम्रो हुन्छ । दैनिक ३० देखि ५० क्विन्टल तरकारी बजार पठाउने गरेको नेपालले बताउनुभयो । उहाँका अनुसार तामिनमा उत्पादन भएको तरकारी सिधैँ मुग्लिन बजारमा लगेर बिक्री गर्ने गरिएको छ ।

फाइदा र सजिलो सुन्तला खेतीमै थियो । फल्न थालेपछि सुन्तलामा लगानी कम पर्छ । तरकारीको तुलनामा मेहेनत पनि कम हुन्छ । तरकारीमा प्रतिस्पर्धा धेरै छ । जोखिम बढी छ । तरकारीको तुलनामा फलफूलको उत्पादन र व्यापार स्थायित्व छ । उहाँले तामिनमा सिँचाइका लागि पानीको व्यवस्थापन हुन नसकेको बताउनुभयो । “पानीका स्रोत छन् तर किसानका बारीसम्म लैजाने व्यवस्था गर्न सकिएको छैन”, उहाँले भन्नुभयो ।

इच्छाकामना गाउँपालिकाका निवर्तमान कृषि अधिकृत आनन्दराज घिमिरेले तामिनमा किसानले सुन्तलाको व्यवस्थापनको पक्षमा ध्यान नदिँदा समस्या आएको बताउनुभयो । उहाँले सुन्तलाको गोडमेल, काँटछाँट र मलजलमा ध्यान दिनुपर्ने भन्दै सुन्तलाको बोटको टुप्पा सुक्ने समस्या देशभर रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक

नवलपुरमा ब्युटिसियन तालिमका सहभागीलाई दिईयो उद्यमशिलता विकास तालिम

नवलपुर सेवा समाज युएई द्वारा नवलपुरको दश वटा सामुदायिक विद्यालयहरुमा तिन लाखको अक्षयकोष स्थापना

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी नवलपुर कावासोती आउँदै

छिपछिपे सहकारी ठगी : ७ अभियुक्त पुर्पक्षमा जेल चलान

आजको राशिफल ~ वि.सं. २०८१ ज्येष्ठ २६ गते शनिवार : श्री दाउन्ने देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP