उन्नत जातले रैथाने बाली विस्थापित

रामपुर नगरपालिका–८ ढलेबर बस्ने चम्पा आचार्यले आठ वर्षयता उन्नत जातका धानको बीउ प्रयोग गर्न थाल्नुभएको छ । रैथाने बाली लगाउँदा मेहनत र लागतअनुसारको उब्जनी नभएपछि बजारबाट उन्नत जातको धानको बीउ किनेर लगाउने गरेको उहाँले बताउनुभयो । यस वर्ष करिब साढे चार रोपनी खेतमा अहिले बजारमा आएको युएस ३१२ जातको धान लगाउने उहाँले तयारी गर्नुभएको छ । एग्रोभेटबाट प्रतिकिलो रु ६०० मूल्यमा महँगो बीउ खरिद गरी धान लगाउने बन्दोबस्त गर्दै हुनुहुन्छ ।

“गाउँघरमा पहिलेदेखि नै लगाउँदै आएका बाली अहिले पाइनै छाड्यो, बजारमा विभिन्न थरिका नयाँनयाँ जातका बीउ आउँछन्, नयाँ बीउ खरिद गरेर लगाउने गरिएको छ, उन्नत जातको बीउबाट उत्पादन धेरै हुने भएकाले हिजोआज रैथाने बाली लगाउनै छाडियो”, उहाँले भन्नुभयो । उहाँले पहिला थापाचिनी, आमझोत्ते, छोटे जातका धान लगाउनुहुन्थ्यो । यी जातका बाली लगाएर वर्ष दिनसम्म गुजारा चलाउन अप्ठ्यारो, धान लगाइसकेपछि विभिन्न समस्या देखापर्ने भएकाले गाउँघरमा सबै किसानले नयाँ जातका धानखेती गर्न थालेको पाइन्छ ।

उत्पादन धेरै लिन पाइने, पराल पर्ने भएकाले सात÷आठ वर्षदेखि नै उन्नत खालका धानको बीउ प्रयोग गर्दै आएको बताउनुहुन्छ, एक्लेटार बस्ने विमला ढुङ्गाना । उहाँ भन्नुहुन्छ, “उन्नत बालीलाई जग्गा धेरै पनि चाहिएन, थोरै जग्गामा खेती गरेर धेरै उत्पादन स्याहार्न पाइन्छ, रैथाने बाली पाँच÷सात मुरी फल्ने जग्गामा उन्नत बाली ३०÷३५ मुरी फल्ने गर्दछ, दुःख गरेर खेती गरेपछि कमसेक उत्पादन पनि राम्रै हुनुप¥यो, अहिले पुराना बीउ लगाएर उब्जाउनै हुँदैन ।”

उत्पादन नबढ्ने, फल लाग्ने बेलामा ढल्ने, पराल कम पर्ने भएकाले किसानले नयाँ प्रजातिका बीउ खोजी खोजी लगाउने गरेको पाइन्छ । महँगो मूल्यमा हाइब्रिड जातको बीउ खरिद गरेर खेती गर्ने बढेका छन् ।

अहिले जिल्लामा उन्नत जातका नयाँ नयाँ प्रजाति धानको बीउ आउन थालेपछि रैथाने जातका धान देखिन छाडिसकेको छ । जिल्लाबाट रैथाने प्रजातिका धान विस्थापित हुँदै जाँदा नयाँ भनिएका विकासे धानका कारण विभिन्न खाले रोग प्रकोप समेत बढेको किसानको भनाइ छ । हाइब्रिड धानको अतिक्रमणमा परेपछि रैथाने बाली लोप हुँदै गएका हुन् ।

किसानले साँवा मन्सुली, साबित्री, बहुगुडी २, सुनौलो सुगन्ध, युएस ३१२ लगायतका धान लगाउन थालेको रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरि पाण्डेय बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “रैथाने जातमा मेहनतअनुसारको उत्पादन नहुनु, बीउ पाउन मुस्किन पर्ने, रोग, किरा बढी लाग्नेलगायतका समस्याले किसान रैथाने बाली छाडेर उन्नत जाततर्फ आकर्षित भएका छन्, पुरानो बाली त पाउन मुस्किल भइसक्यो” ।

खानका लागि मसिना, स्वादिलोका लागि अनदी, बर्मेली, झिनुवाँ जातका धान पहिला सबैका खेतमा अनिवार्यजसो लगाइन्थ्यो तर हिजोआज भने यी जातका धान पाउन मुस्किल छ । जताततै उन्नत (हाइब्रिड) जातका धानको बीउ खेतबारीमा भरिन थालेका छन् । बजारमा उन्नत जातका धानका बीउ आउन थालेपछि रैथाने बीउ किसानले विस्तारै लगाउन छाड्दै जाँदा अहिले लोप हुन पुगेको हो । रैथाने बाली संरक्षण हुनुपर्छ भनेर कतिपय किसानले सम्बन्धित निकायमा माग पनि गरेका छन् ।

धानको गुणभन्दा पनि फल्ने मात्राको लेखाजोखामा किसानको ध्यान छ । उत्पादनमा कमी, जनसङ्ख्या बढ्दो, जग्गा घट्दो भएका कारण धेरै फल्ने जातको खोजीमा किसान छन् । रैथाने धानको लागि गाईभैँसीको मल प्रयोग गर्ने र नयाँ जातको धान युरिया मलको भरमा उत्पादन हुने गरेको कृषक स्वयं बताउँछन् ।

बास्नायुक्त र औषधीय गुण भएका धान छोड्दै उत्पादन बढी लिने सोचका साथ कृषक हाइब्रिड जातका धानमा लोभिने क्रम बढेका कारण पनि हाइब्रिडले रैथाने जातलाई विस्थापन गर्दै गएको हो । उन्नतको तुलनामा रैथाने बाली स्वास्थ्यको लागि धेरै राम्रो मानिए पनि त्यसको खेती गर्नै छाडिएको छ । रैथाने बालीमा पाइने प्रोटिन, कार्बोहाइडेट, आइरन, क्याल्सियम पाइने भएकाले पनि स्वास्थ्यका लागि सेवन गर्नु राम्रो मानिन्छ । धानको मात्र नभई अन्य खाद्यका रैथाने बाली हिजोआज लोप भइरहेका छन् । पुरानो बाली संरक्षणका लागि सम्बन्धित निकायले विशेष योजना ल्याउनुपर्ने हुन्छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *