कर्मचारी अभावले अनुगमनमा समस्या

जेठ २४ अर्थात् १४औँ खाद्य स्वच्छता दिवस देशभर धुमधामका साथ मनाउने कार्यक्रम छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय समेतको सहभागितामा यो दिवस मनाउन लागिएको हो । दिवसमा आयोजना हुने कार्यक्रम सम्पादन गर्न डिभिजन कार्यालय बागलुङ भने अभावको सामना गरिरहेको छ ।

‘स्वच्छता सन्तुलित आहार, स्वस्थ जीवनको आधार’ भन्ने नारासहित मनाउन लागिएको दिवसका अवसरमा समेत डिभिजनले आँफैले मात्रै उपभोक्ता हितमा कुनै पनि कार्यक्रम गर्न सक्ने अवस्था छैन् । कारण हो डिभिजन कार्यालयमा कर्मचारीको अभाव । साविकको धौलागिरीका तीन जिल्लाका उपभोक्ताले उपभोग गर्ने खाद्यवस्तुको स्वच्छता अनुगमन गर्ने कार्यालय स्थापना कालदेखिनै कर्मचारी अभावको समस्या भोग्दै आएको छ ।

बागलुङ, म्याग्दी र मुस्ताङ जिल्ला हेर्नेगरी स्थापना भएको डिभिजन कार्यालय सहयोगीसहित तीन जना मात्रै कर्मचारी छन् । दुई जना कर्मचारीमध्ये एक जना अधिकृत र एक जना सुब्बा तहका कर्मचारीले काम गरिरहेका छन् । डिभिजन कार्यालयका लागि तोकिएको दरबन्दी तीन जनामध्ये एक जना सुब्बा सरहका प्राविधिक कर्मचारी खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागले काजमा स्याङ्जामा रहेको कार्यालयमा पठाएको छ ।

“काम गर्नका लागि भ्याइनभ्याइ काम छ, दरबन्दीनै कम छ”, कार्यालय प्रमुख सौरभ श्रेष्ठले भन्नुभयोे, “दुई जनाले मात्रै काम गर्न त निकै कठिन हुँदोरहेछ ।” उपभोक्ता हितको क्षेत्रमा काम गर्ने कार्यालय भएकाले अधिकांश काम उत्पादन र बजारसँग जोडिएको हुन्छ । तर खाद्यप्रविधि तथा गुणनियन्त्रण डिभिजन कार्यालय बागलुङमा भने भएका प्राविधिक काममा निस्किए कार्यालय खाली हुने र कार्यालयमा बसे अनुगमन तथा नियमनका काम प्रभावित हुने गरेका छन् ।

डिभिजनले उपभोक्ता अधिकारका क्षेत्रमा अनुगमन तथा नियमन, जनचेतना, खाद्य उद्योगका लागि अनुज्ञा पत्र जारी गर्ने र परामर्श दिने लगायतका काम गर्दै आएको छ । कर्मचारी अभावको सामना गर्दै होटल तथा रेष्टुराँको स्तरीकरण र स्टिकर वितरणको कामसमेत गरिँदै आएको श्रेष्ठले बताउनुभयो । “विभागले हामीलाई वार्षिक लक्ष्य दिएको छ, त्यो लक्ष्य पुरा गर्नका लागि हामीले यहाँका अन्य उपभोक्ता अधिकारसँग सरोकार राख्ने संस्थासँग मिलेर काम गरिरहेका छौँ”, उहाँले भन्नुभयोे“कतिपय अवस्थामा प्रयोगशालाको आवश्यकता हुन्छ, त्यसका लागि पनि हामी क्षेत्रीय डिभिजन कार्यालय पोखरा पुग्नुपर्ने अवस्था छ ।”

डिभिजन कार्यालय स्थापना भएको तीन वर्ष भएको छ । तीन वर्षको अवधिमा डिभिजनले गरेको अनुगमनका क्रममा सबैभन्दा धेरै समस्या खाद्यबस्तु बिक्री गर्ने पसलमा देखिने गरेको छ । म्याद गुज्रेका वस्तु नछुट्याउने गरेको पाएको सौरभ बताउनुहुन्छ । तर यस्ता समस्या निराकरण गर्नसमेत आफूहरुसँग जनशक्तिको अभाव रहेको उहाँको भनाइ थियो ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *