मेलम्चीको पानी वितरणको तयारी गर्न मन्त्री चौधरीको निर्देशन

खानेपानी मन्त्री उमाकान्त चौधरीले यही वैशाख ११ गतेदेखि काठमाडौँ उपत्यकावासीका धारामा मेलम्चीको पानी वितरण गर्न निर्देशन दिनुभएको छ । पानी प्रशोधनलगायत तयारीका काम गर्न मेलम्ची आयोजनासहित सरोकारवाला निकायलाई उहाँले निर्देशन दिनुभएको हो ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मेलम्चीको मुहानबाट गत चैत ३० गते सुरुङमा हालिएको पानी सोमबार राति सुन्दरीजलमा आइपुगेपछि आज प्रशोधन केन्द्रमै गएर मन्त्री चौधरीले सरोकारवाला निकायका अधिकारीहरुलाई समयमै पानी उपलब्ध गराउन निर्देशन दिनुभएको हो । “वैशाखमा कुनै हालतमा पानी आउँदैन भन्थे, गत वर्ष असार १ गतेको बाढीले मेलम्चीको मुहानमा ठूला ठूला ढुङ्गा आएको थियो, नेपाली सेनाको समेत सहयोग लिएर अवरोध पन्छाई चैतमै पानी काठमाडौँतर्फ पथान्तरण गरियो, घरघरमा धारामा पानी झरेपछिमात्र पथान्तरणको अर्थ हुन्छ, यसैले वैशाख ११ गते धारामा पानी वितरण गर्ने गरी प्रशोधनलगायत वितरण प्रणालीका काम गर्नुस्”, मन्त्री चौधरीले भन्नुभयो ।

संविधानमा स्वच्छ खानेपानी र सफाइको हक उल्लेख गरिएकाले पनि पानीबाट कसैलाई वञ्चित नगर्न मन्त्री चौधरीले निर्देशन दिनुभयो । काठमाडौँ उपत्यकाका १० वटै पानीपोखरीबाट समानुपातिक रुपमा पानी वितरण गर्न उहाँले आह्वान गर्नुभयो । मेलम्चीवासीलाई लेबीस्वरुप पाँच प्रतिशत रकम दिने सहमति भएकाले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)लाई महसुल उठाउन मन्त्रालयले निर्देश गरेको छ ।

मन्त्रालयका सचिव सुरेश आचार्यले खानेपानी चुहावट भएका स्थानमा सडक विभागसँग समन्वय गरेर मर्मतसम्भार गरी सडक पुनःनिर्माण गरिने बताउनुभयो । काठमाडौँ उपत्यकामा हाल तीन लाख ३७ हजार धारा रहेकामा मेलम्चीको पानी वितरणका लागि थप एक लाख ६० हजार धारा निर्माण गरिसकिएको उहाँले जानकारी दिनुभयो । मेलम्चीको पानी नयाँ र पुरानो दुवै धाराबाट वितरण गरिने बताइएको छ ।

मुहानबाट २६० लिटर प्रतिसेकेण्डका दरले सुरुङमा हालिएको पानी सोमबार राति पौने १० बजे सुन्दरीजल आइपुगेको थियो । सुरुङ पूरा भरिन दुई दिन लाग्नेछ । भरिएपछि प्रशोधन केन्द्रमा ल्याई प्रशोधन गरी मेलम्चीको पानी वितरण गर्ने गरी तयारी गरिएको छ । यसअघि राजधानी आइपुगेको पानी गत वर्ष असार १ गतेको बाढीका कारण मुहान क्षेत्रका संरचना भत्किएपछि अवरुद्ध भएको थियो ।

मेलम्ची आयोजनाले अहिले अस्थायीरुपमा पानी ल्याउन लागेको हो । वर्षा लागेसँगै फेरि पानी बन्द गरिने छ । वर्षा कम भएपछि फेरि पानी ल्याउने तयारी गरिएको बताइएको छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *