📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल
Top Ad

दश दिनदेखि उपत्यकाको फोहर सडकमा

🕒 May 3, 2022

पासाङल्हामु राजमार्गका स्थानीयको अवरोधका कारण काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन कार्य दश दिनदेखि रोकिएको छ । पासाङल्हामु राजमार्ग मर्मतको जिम्मा पाएको निर्माण व्यवासायीद्वारा पटकपटक काम रोकिँदा त्यसको प्रत्यक्ष असर भने काठमाडौँ उपत्यकाको नागरिकले भोग्नुपरेको छ । पछिल्लो समय यही वैशाख ११ गतेदेखि पुनःकाठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापन कार्य रोकिएको छ । हाल फोहर विसर्जन गरिएको स्थान नुवाकोटस्थित सिसडोलसम्म पुग्ने बाटो मर्मतको काम समयमै नगरेको भन्दै पासाङल्हामु राजमार्गका बासिन्दाको अवरोधका कारण सडकमै फोहर रोकिएको हो । काठमाडौँ महानगरपालिकाले केही दिन नेपालटार हँुदै वैकल्पिक बाटोमार्फत फोहर व्यवस्थापन गरेपनि नियमित परेको वर्षा र उक्त स्थानका स्थानीयले फोहरको गाडी लान नदिने भनेपछि अहिले फोहर लाने काम पूर्ण रुपमा ठप्प भएको छ । लामो समयसम्म सडकमा फोहर थुप्रिदा आवतजावत गर्न समस्या भएको छ । फोहर विसर्जनका लागि दीर्घकालीन समाधानका प्रयास हुन नसक्दा पटकपटक समस्या उत्पन्न भएको कामपा वातावरण विभाग प्रमुख सरिता राईले बताउनुभयो । उहाँका अनुसार विसं २०७० देखि सुरु गरिएको सडक हालसम्म पनि सम्पन्न हुन नसकेपछि स्थानीयको पटकपटकको अवरोधका कारण फोहर विसर्जनमा अवरोध हुँदै आएको छ । “यस्तो विषयमा केन्द्र सरकार संवेदनशील हुनुपर्छ”, राईले भन्नुभयो, “त्यसका लागि बाटो छिटो मर्मत गर्न सम्बन्धित निकायले पहल गर्नुपर्छ ।” उक्त स्थान भरिएकाले फोहर व्यवस्थापनमा थप समस्या हुन थालेको हो । हाल फोहर व्यवस्थापन भइरहेको स्थानभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन फोहर व्यवस्थापनस्थलको काम निर्धारित समयमा सम्पन्न हुन नसक्दा पनि समस्या आएको कामपाले जनाएको छ । हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिकटन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । यसमध्ये सबैभन्दा बढी कामपाको ५०० मेट्रिकटन फोहर निस्किने गर्दछ । निजी र कामपाको गरी दैनिक कम्तीमा २०० गाडी फोहर लाने गरिन्छ । उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत फोहर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । स्थानीयकै अवरोधका कारण गत फागुन र चैत महिनामा पनि ३२ दिन फोहरको अन्तिम व्यवस्थापन हुन सकेन । नियमित पानी पर्न सुरु गरी सकेको र वर्षाको समयमा अन्य समयको भन्दा बढी फोहर निस्कने हुँदा आगामी दिन फोहर व्यवस्थापनका हिसाबले थप कठिनाइ हुने कामपाको भनाइ छ । फोहरकै करण आउने दिन उपत्यकामा ठूलो समस्या आउने भन्दै प्रमुख राईले उक्त समस्या समाधानको लागि केन्द्र सरकारले तत्काल समाधानको पाटो खोज्नुपर्ने बताउनुहुन्छ ।