नमूना मतदानमै मत बदर

नेपाल पत्रकार महासङ्घ तनहुँ शाखा र निर्वाचन कार्यालयको संयुक्त आयोजनामा दमौलीमा गरिएको नमूना मतदानमै मत बदर भएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आज आयोजना गरिएको मतदानमा नगरप्रमुखमा तीन, उपप्रमुखमा एक, खुला सदस्यमा चार र दलित महिला सदस्यमा तीन मत बदर भएको मतदान अधिकृतको भूमिका निर्वाह गर्नुभएका शाखाका पूर्वअध्यक्ष प्रेमप्रसाद पौडेलले जानकारी दिनुभयो । नगर क्षेत्रमै मत बदर हुनु दुःखद् रहेको भन्दै उहाँले मतदाता शिक्षालाई प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो । नमूना मतदानमा ६१ जनाले मत दिएका थिए । निर्वाचन कार्यालका प्रमुख हरिप्रसाद ढकालले मतदाता शिक्षा प्रभावकारी बनाउन राजनीतिक दल र उम्मेदवार पनि लाग्नुपर्ने बताउनुभयो । मतदानका दिन गरिने सबै प्रक्रियाका बारेमा सर्वसाधारणलाई जानकारी दिन नमूना मतदान गरिएको जानकारी दिँदै उहाँले यसपटक मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगरिएकाले राजनीतिक दल र उम्मेदवारले घरदैलो अभियानका क्रममै मतदातालाई मत हाल्ने तरिकाबारे सिकाउन आवश्यक छ भन्नुभयोे । “मतदानका दिन के के गर्नुपर्छ, मतदाताले कसरी मत हाल्नुपर्छ भन्ने जानकारी दिने उद्देश्यसहित नमूना मतदान कार्यक्रम गरिएको हो”, कार्यालय प्रमुख ढकालले जोड दिनुभयो, “यसले मतदाता शिक्षालाई प्रभावकारी बनाउने विश्वास लिएका छौँ ।” प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले मत बदर कम गराउन सचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताउनुभयो । स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष बनाउन मतदातालाई निर्भिकतापूर्वक मतदानस्थसम्म पुग्ने वातावरण निर्माण गरिने उहाँको भनाइ थियो । महासङ्घका केन्द्रीय सदस्य प्रदीप काफ्ले, पूर्वअध्यक्ष प्रेमप्रसाद पौडेल, ओमकार आचार्यलगायतले मतदाता शिक्षालाई प्रभावकारी बनाउन सञ्चारमाध्यमबाट पनि सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । नमूना मतदानमा सहभागी व्यास नगरपालिका–२ की एलिना कुमालले आफू पहिलोपटक मतदानमा सहभागी हुन लागेकाले यो कार्यक्रमले सहज बनाएको बताउनुभयो । व्यास नगरपालिका–३ निवासी दुर्गाविलास भट्टराईले मतदाता शिक्षा कार्यक्रम कमजोर रहेकाले मतदातालाई मत हाल्ने तरिकाबारे सिकाउन आवश्यक छ भन्नुुभयो ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *