📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल
Top Ad

पालिका प्रमुखहरुको पहिलो निर्णय ः विपन्न र स्वास्थ्य केन्द्रीत

🕒 May 25, 2022

जिल्लाका सात पालिकाका नवनिर्वाचित प्रमुखहरुले आफ्नो पहिलो निर्णय विपन्न वर्ग र स्वास्थ्यलाई प्रमुख बनाएका छन् । पदभार ग्रहणसँगै गरेको पहिलो निर्णय स्वास्थ्य क्षेत्रमा केन्द्रीत भएको हो ।

जिल्लाको एकमात्रै गाउँपालिका ईच्छाकामनाका अध्यक्ष दानबहादुर गुरुङले पदभार ग्रहण गर्दै गर्दा पालिकाभित्रका विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने निर्णय गर्नुभयो । उहाँको निर्णयमा विपन्न वर्गको पहिचान गरी स्वास्थ्य बीमा गर्ने उल्लेख छ । राप्ती नगरपालिकाले विपन्नलाई गाँस, बास, कपास, शिक्षा र स्वास्थ्य निःशुल्क गर्ने पहिलो निर्णय गरेको छ । नगर प्रमुख शम्शेर लामाले खाना नहुनेलाई खानाको व्यवस्था, घर नहुनेलाई घरको व्यवस्था, कपडा नहुनेलाई कपडाको व्यवस्था, माध्यमिक तहसम्मको शिक्षा निःशुल्क गर्ने र उपचार गर्न नसक्नेका लागि उपचारको व्यवस्था गरिने निर्णय गरेको बताउनुभयो ।

खैरहनी नगरपालिकाले पहिलो निर्णय छोरीबुहारी पढाउँ, अघि बढाउँ अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । थारु समुदायको बाक्लो बस्ती रहेको यस नगरपालिकाका प्रमुख शशी खनियाँले नगरभित्रका सामुदायिक विद्यालय, सार्वजनिक कलेज तथा क्याम्पसमा अध्ययनरत थारु, दलित, अपाङ्गता, अल्पसङ्ख्यक तथा विपन्न छात्राको शिक्षामा पहँुच पुरयाउन स्नातक तहको अध्ययनमा सहयोग पुग्ने गरी कोषको स्थापना गर्ने निर्णय गरेको बताउनुभयो ।

छात्रवृत्ति कार्यक्रममा परेका छात्राबाहेक उक्त समूहका अन्य छात्रालाई उच्च शिक्षासम्मको अध्ययन पूरा गर्न लाग्ने रकम कोषमार्फत विद्यार्थीलाई प्रदान गर्ने उहाँले बताउनुभयो । माडी नगरपालिकाले बघौंडा अस्पतालको बहिरङ्ग सेवामा सबै महिलालाई टिकट निःशुल्क गर्ने पहिलो निर्णय गरेको छ । नगर प्रमुख तारकुमारी काजी महतोले नगरभित्रका सम्पूर्ण महिला दिदीबहिनी उपचार गर्न जाँदा टिकट निःशुल्क गरेको बताउनुभयो ।

कालिका नगरपालिकाले विपन्नलाई स्वास्थ्य बीमा गर्ने पहिलो निर्णय गरेको छ । नवनिर्वाचित नगर प्रमुख विनोद रेग्मीले पालिकाभित्रका विपन्नको नगरपालिकाले बीमा गर्ने निर्णय गरेको बताउनुभयो । नगरभित्रका विपन्नताको तथ्याङ्क सङ्कलन गरेर उनीहरुको बीमा नगरपालिकाले गरिदिने नगर प्रमुख रेग्मीले बताउनुभयो ।

यसैगरी पालिकाभित्रका साना किसानको दूधमा प्रतिलिटर एक रुपैयाँ अनुदान दिने निर्णय पनि उहाँले गर्नुभएको छ । किसानले उत्पादन गरेको दूध सहकारीमार्फत् बिक्री गर्दा प्रतिलिटर एक रुपैयाँ अनुदान दिने उहाँले बताउनुभयो । नगरपालिकामा छुट्टै हेल्प डेस्क स्थापना गरेर सेवाग्राहीलाई सहजीकरण गर्ने व्यवस्था मिलाइने रेग्मीले बताउनुभयो ।

रत्ननगर नगरपालिकाले गरिब तथा विपन्न परिवारका सदस्यलाई निःशुल्क स्वास्थ्य बीमा गर्ने निर्णय गरेको छ । नगर प्रमुख प्रल्हाद सापकोटाले दूधमा प्रतिलिटर रु १, घाँस खेतीमा प्रतिकठ्ठा रु दुई हजार अनुदान दिने निर्णय गरेको बताउनुभयो । उहाँका अनुसार काम गर्न सकिने योजना मात्रै अघि बढाउने निर्णय गरिएको छ ।

भरतपुर महानगरपालिकाको पदभार ग्रहण गर्दै प्रमुख रेनु दाहालले महानगरभित्रका स्थायी बासिन्दाबाट सरकारी स्वास्थ्य संस्थामा जन्मिएका छोरीहरुको रु एक लाखको जीवन बीमा र मासिक ७ हजार लिटरसम्म पानी उपयोग गर्नेलाई निःशुल्क गर्ने निर्णय गर्नुभएको छ । उहाँका अनुसार पहिलो कार्यकालमा भरतपुर अस्पतालमा महिला र ज्येष्ठ नागरिकलाई बहिरङ्ग टिकट सेवा निःशुल्क गर्दा प्रभावकारी देखिएपछि दोस्रो कार्यकालको पहिलो निर्णय छोरी केन्द्रीत गरिएको हो । यस निर्णयसँगै एक वर्षमा महानगरभित्रका एक हजार ७५० छोरीहरु लाभान्वित हुने अनुमान महानगरको छ । महानगरभित्रका ५२ प्रतिशत जनताले निःशुल्क खानेपानी पाउने अपेक्षा गरिएको छ