सात दिनभित्र ढलान पुनः सुरु गर्न पत्राचार

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको अलपत्र सडक ढलान पुनः सुरु गर्न सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गा र निर्माण कम्पनीलाई पत्राचार गरेको छ । निर्माण कम्पनी सूर्य कन्ट्रक्सन विकास निर्माण सेवा जेभीले दिक्तेल बजारको सडक ढलानको जिम्मा लिएर निर्माणाधीन अवस्थामै अलपत्र छाडेकाले सात दिनभित्र पुनः सुरु नगरे कानुनी कारबाही गर्नेे चेतावनी दिँदै नगरपालिकाले सघन सहरी तथा भवन निर्माण आयोजना र निर्माण कम्पनीलाई पत्राचार गरेको हो ।

लामो समयदेखि सडक ढलान कार्य रोकिँदा यातायातका साधन अवरुद्ध हुनुका साथै पैदलयात्रुलाई समेत आवतजावतमा समस्या भएकाले लिखितरूपमा आग्रह गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभयो । “सडक ढलानको काममा निर्माण कम्पनीको चरम लापरवाही देखिएको छ”, उहाँले भन्नुभयो, “सात दिनभित्रमा पनि अवरुद्ध काम सुरु नगरे कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइन्छ ।”

दिक्तेल बजारस्थित मानवअधिकार चोकबाट त्रिवेणी चोकसम्मको सडक ढलान रु तीन करोड ९३ लाख ४४ हजारमा ठेक्का आह्वान गरिए पनि निर्माण कम्पनीले करिब ४२ प्रतिशत कम रकम रु दुई करोड ७० लाख ४० हजार १७९ मा ठेक्का पारेको थियो । साँघुरो सडक तथा पुरानो भौतिक संरचना रहेको दिक्तेल बजारको सडक विसं २०७८ मङ्सिर १० गते ढलानको सम्पूर्ण काम सम्पन्न गरेर हस्तान्तरण गर्ने गरी २०७८ असार ९ गते सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गा र निर्माण कम्पनीबीच सम्झौता भएको थियो ।

दैनिक हजारौँको सङ्ख्यामा मानिसको आवतजावत हुने दिक्तेल बजारको सरस्वती माध्यमिक विद्यालयको प्रवेशद्धार अगाडिसम्मको सडक ढलान गरेर अलपत्र छाडिएको उक्त सडकको निर्माण अवधि गत मङ्सिर १० गते नै सकिएको छ । त्यसपछि विश्वभर फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण देखाउँदै चार महिनाको म्याद थपिएको थियो ।

यस अवधिमा पनि काम नसकिएपछि फेरि नगरपालिकाका निवर्तमान नगरप्रमुख दीपनारायण रिजालको सिफारिसमा गत चैतसम्म तीन महिना थप गर्दा पनि सडक ढलानको काम अपूरै रहेको छ । निर्माणाधीन अवस्थामै अलपत्र छाडिएको सडक अहिलेसम्म ४५ प्रतिशतमात्र काम सकिएको सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गाका आयोजना प्रमुख तुलसीराम खर्बुजाले जानकारी दिनुभयो ।

निर्माण कम्पनीको लापरवाहीले यातायातका साधन तथा पैदलयात्रु आवतजावतमा समेत समस्या देखिएको सडक ढलानका लागि कामको मूल्याङ्कनको आधारमा रु ९४ लाख ८९ हजार भुक्तानी गरिएको जनाइएको छ । तोकिएको समयमा काम नसकेपछि निर्माण कम्पनीसँग ठेक्का तोडी कालोसूचीमा राख्न दुई महिनाअघि नै प्रक्रिया बढाइएको आयोजना प्रमुख खर्बुजाको जानकारी दिनुभयो ।

तोकिएको समयमा काम सम्पन्न नगरी अलपत्र छाडेपछि निर्माण कम्पनीको धरौटी जफतका लागि बैंकलाई पत्राचार गरिएको छ । सिरहास्थित सनराइज बैंकलाई धरौटी जफतका लागि पत्राचार गरिएको आयोजना प्रमुख खर्बुजाले जानकारी दिनुभयो ।

निर्माण कम्पनीले तोकिएको म्याद गुजारेपछि हर्जना भने गत चैतदेखि नै तिर्नुपरेको सघन सहरी तथा भवन निर्माण आयोजनाले जनाएको छ । आगामी असारसम्मको हर्जनावापत करिब रु १३ लाख कटाएर भुक्तानी गरिएको आयोजना प्रमुख खर्बुजाको भनाइ छ ।

निर्माण कम्पनीले पेटी ठेकेदारलाई काम जिम्मा दिएकाले यो सडक ढलानमा समस्या आएको निर्माण व्यवसायी सङ्घ खोटाङका वरिष्ठ उपाध्यक्ष कृष्ण घिमिरेले बताउनुभयो । निर्माण कम्पनीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका रोशन राईलाई नाफा खाएर पेटी ठेक्का दिएको हो ।

निर्माण कम्पनीले दिक्तेल बजारको सडक ढलान अलपत्रबारेमा प्रशासनले पनि पटक–पटक ताकेता गरेको खोटाङका प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले बताउनुभयो । “सडक ढलान अलपत्रबारेमा प्रशासनले पनि पटक–पटक ताकेता गरेको छ”, उहाँले भन्नुभयो, “ठेकेदार मात्र होइन, सम्बन्धित कार्यालय पनि जिम्मेवार हुने भएकाले दुवैलाई प्रशासनिक कारबाही अगाडि बढाउने तयारी गरिएको छ ।”

ढलानका लागि बजारको सडक भत्काइएकाले व्यापार व्यवसाय नै चौपट भएको दिक्तेलस्थित व्यवसायी गुणराज सैंजूले बताउनुभयो । प्रशासनकै अगाडि निर्माण कम्पनीले सडक ढलानको काम बीचैमा अलपत्र छाडेपछि जिल्लामा हुने हरेक कार्यक्रममा निर्माण कम्पनीको आलोचना हुने गरेको छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *