रासायनिक मल आपूर्ति अनिश्चित

कैलालीको जानकी गाउँपालिकाका तेतराम चौधरी यतिखेर धानखेती गर्न मलको खोजीमा भौतारिनुभएको छ । कृषि सहकारीमा मल नपाएपछि उहाँ मलको जोहो गर्न भारतीय बजार तिकुनीया जाने तयारीमा हुनुहुन्छ । भारतको तिकुनीयाबाट मल ल्याउन पनि किसानलाई सहज छैन । सहजै मल ल्याउन सकिने भएको भए यहाँका किसान ढुक्कले खेती गर्ने थिए ।

“मल नेपाली बजारमा सहजरुपमा पाउँदैन, भारतीय बजारबाट ल्याउन पाइँदैन”, चौधरीले भन्नुभयो, “यस्तो बेलामा कसरी खेती गर्नु ? मल नभए धान उत्पादन घट्छ ।”

कैलालीमा यस वर्ष रासायनिक मलको चरम अभाव हुने भएको छ । हरेक वर्ष किसानले मलको समस्या झेल्दै आएको र यस वर्ष पनि अभाव हुनसक्ने देखिएको छ । कैलालीमा रासायनिक मलको आपूर्ति पर्याप्त नहुँदा यस वर्ष मल अभाव हुने भएको हो ।

सरकारले अन्तर्राष्ट्रिय बोलपत्रका अतिरिक्त कृषि सामग्री र साल्ट टे«डिङ कम्पनीले जिटुजीअन्तर्गत भारत सरकारका आधिकारिक निकायबाट मल आयात गरी किसानलाई पूर्ति गर्दै आएको छ । तर यस वर्ष समयमा मल पर्याप्त मात्रामा आपूर्ति नहुँदा धानखेती गर्ने बेला मलको अभाव देखिने कृषि सामग्री कम्पनीका मौज्दात शाखा प्रमुख रुपबहादुर कुँवर बताउनुहुन्छ ।

“यस वर्ष धान रोप्ने समयमा मल अभाव हुने देखिन्छ”, उहाँले भन्नुभयो, “सुदूरपश्चिम प्रदेशका लागि भैरहवा नाकामा दुई हजार १०० मेट्रिक टन डिएपी मल आइपुगेको छ ।” कुँवरले मल नाकामा आए पनि इन्धनको मूल्य अधिक बढेर ढुवानीमा समस्या हुँदा आएको मल प्रदेशमा भित्र्याउन नपाएको बताउनुभयो । मल ल्याउनका लागि प्रदेशमा रहेका कृषि सहकारीलाई प्रधान कार्यालय र प्रदेशको स्वीकृति लिएर भैरहवाबाटै मल ल्याउन दिने व्यवस्था गर्न थालिएको उहाँले बताउनुभयो ।

“कैलालीमा रहेका ९५ कृषि सहकारीलाई मल ल्याउनका लागि स्वीकृत दिइएको छ”, उहाँले भन्नुभयो, “भैरहवा नाकाबाट मल ल्याउनका लागि सबै क्षेत्रमा मलको समानुपातिक वितरण भई मलको सहजताका लागि सहकारीलाई सोहीअनुसार मलको कोटा निर्धारण गरिएको छ ।” आवश्यकता हेरी धनगढीबाट टीकापुरसम्म मलको कोटा निर्धारण गरिएको उहाँ बताउनुहुन्छ । अब सहकारीले ल्याएमा मात्र किसानले समयमा मल पाउने देखिएको छ ।

रासायनिक मलका लागि जिटुजीमार्फत् डेढ लाख मेट्रिक टन भारतबाट खरिदको सम्झौता भएको छ । बर्र्खे धानखेतीका लागि भनेर सरकारले आपूर्तिका लागि सम्झौता गरे पनि जिटुजीमार्फत अहिलेसम्म नआएको सम्झौताअनुसार मल असार दोस्रो सातासम्म पुग्न सक्नेमा आशङ्का रहेको उहाँको भनाइ छ ।

कैलालीमा १८ मेट्रिक टन डिएपी, १५ हजार मेट्रिक टन युरिया र पाँच हजार मेट्रिक टन पोटासको माग रहेको भए पनि आधा मात्र आपूर्ति हुने गरेको छ । त्यसैले किसान मलको प्रयोग गर्ने याममा बर्सेनि अभावमा खेती गर्न बाध्य छन् ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *