कुमार षष्ठी (सिठी नख) मनाइँदै

प्रत्येक वर्ष जेष्ठ शुक्लषष्ठीका दिन मनाइने कुमार षष्ठी (सिठी नख) पर्व आज देवताहरूका सेनापति कुमार कार्तिकेयको पूजा आराधना एवं व्रत गरी मनाइँदैछ ।

सत्य युगमा महादेवका ज्येष्ठ सुपुत्रका रूपमा कुमार कार्तिकेय जन्मिएको सम्झनामा उहाँको पूजा आराधना गरी यो पर्व मनाउने गरिएको हो । षष्ठीबाट अपभ्रङश भएर कुमार कार्तिकेयलाई सिठी पनि भनिन्छ ।

यस दिन राजधानीलगायत सहरमा नेवार समुदायले कुवा, इनार, पोखरी, धारालगायत पानीका स्रोतको सफाइ गरी पूजा आराधना गर्छन् । मार्कण्डेयलगायत पुराणमा सिठी देवताका रूपमा पानीका स्रोतमा पूजा गर्नुपर्ने विषय उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । संयोगले यो वर्ष सिठी नख पर्वका दिन जुन ५ अर्थात् विश्व वातावरण दिवस पनि परेको छ ।

पुराणको वचनअनुसार नै यो पर्व मनाउने परम्परा सुरु भएको हो । शिव पार्वतीले पृथ्वी घुमेर आउनेलाई पहिलो पूजा गर्ने रीत बसाल्ने घोषणा गरेपछि कुमारले आफ्नो बाहन मयूर चढेर ब्रह्माण्डको परिक्रमा गरे पनि गणेशले विश्व ब्रह्माण्ड भनेकै शिव पार्वती भनी पहिलो पूजाको अवसर पाएको कथा पनि विभिन्न पुराण उल्लेख गरिएको छ ।

गणेशपछि भने कुमारको पूजा गर्ने गरिन्छ । गणेशकुमाराभ्यां नमः भन्ने वाक्यले दुवैको पूजा गरिने उहाँले बताउनुभयो । यस दिन छ थरीका पूजा सामग्रीले सिठी नखको पूजा आराधना गरिन्छ । छ वटा पात भएको कमलको पूmल, मास, मुगी, केराउ, चामलको पिठो, गहुँको पिठो, कुमकुम आदिबाट बनाइएका खाद्य पदार्थ, छ थरी व्यञ्जनका साथ सिठी नखको पूजा आराधना हुन्छ ।

यसअघि कुनै कारणवश कूल पूजा गर्न रोकिएकाले आजैका दिन गर्ने चलन छ । यो चलन विशेषगरी नेवार समुदायमा बढी छ । पानीको पूजा आराधना गरी आजैदेखि रोपाइँको सुरुवात् हुने भनाइसमेत छ । यस दिन स्थान विशेषअनुसार असारे गीत, कौला राग आदि गाउने गरिन्छ ।

पद, धन र मानको हानी भएका व्यक्तिले यस दिन व्रत गरी पूजाआराधना गरेमा गुमेको स्थान फिर्ता हुन्छ भन्ने विश्वाससमेत छ । यस पर्वका अवसरमा मध्यकालमा काठमाडौँका दुई टोलका मानिस युद्ध गरेको नाटक गर्ने परम्परा थियो । लडाइँमा चोटपटक लागि मानिस घाइते हुन थालेपछि जङ्गबहादुर राणाले यो चलन बन्द गराएको भन्ने भनाइसमेत छ ।

ज्येष्ठ शुक्ल सप्तमीका दिन क्षेत्रपाटीस्थित नघल टोलमा रहेको कुमार कार्तिकेय ९सिठी देवता० को मन्दिरमा पूजा सामग्रीसहित विभिन्न प्रकारका नैवेद्य लिएर पूजा गर्न जाने चलन छ । ज्येष्ठ शुक्ल सप्तमीका दिन राति कुमार कार्तिकेयलाई खटमा राखी राजधानी सहरका विभिन्न स्थानमा घुमाउने गरिन्छ ।

काभ्रेपलाञ्चोकको सदरमुकामा धुलिखेलमा छ वटा टाउको भएको कार्तिकेयको मूर्ति छ । त्यो मूर्तिले कुमारका छ शक्तिको चारित्रिक प्रभाव दर्शाउने जनाइएको छ । कुमारका छ टाउका भएकाले छ प्रकारका सामग्री एवं नैवेद्यले पूजा गर्ने चलन बसेको भन्ने भनाइसमेत छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *