📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल
Top Ad

धार्मिक वन हस्तान्तरण

🕒 June 6, 2022

म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनको पीपलबोटमा धार्मिक वन समुदायलाई हस्तान्तरण गरिएको छ । सार्वजनिक जग्गाको संरक्षण र वन विकासमार्फत पर्यटन विकास गर्ने उद्देश्यले पीपलबोटको कैलाशफाँटमा धार्मिक वन स्थापना गरिएको हो । १.०६५ हेक्टर क्षेत्रफलमा फैलिएको वन आइतबार समुदायलाई हस्तान्तरण गरिएको डिभिजन वन कार्यालय, म्याग्दीले जनाएको छ ।

कार्यालय प्रमुख मनोज रानाभाटले विश्व वातावरण दिवसको अवसरमा औपचारिक रुपमा धार्मिक वन समुदायलाई हस्तान्तरण गरिएको जानकारी दिनुभयो । “नापचाँज, क्षेत्रफल पहिचान, विधान, कार्ययोजना र समूह दर्तालगायत सबै प्रक्रिया पूरा गरेर हस्तान्तरण गरेका हौँ”, उहाँले भन्नुभयो, “वन विकास, जैविक विविधता र वातावरण संरक्षणसँगै धार्मिक पर्यटन विकास गर्ने उद्देश्यले धार्मिक वन बनाएका हौ ।”

प्राचीन कालमा ऋषिमुनिले तपस्या गरेर ज्ञान आर्जन गरेको कैलाशफाँटमा शिव मन्दिर रहेको छ । म्याग्दी नदी किनारको शिव मन्दिर परिसरको बगर र सार्वजनिक जग्गा संरक्षण गरेर वृक्षरोपण गरेर वन बनाइएको समूहका अध्यक्ष छविलाल कँडेलले बताउनुभयो ।

वातावरण दिवसको अवसरमा वनमा १०८ पीपलका बिरुवा रोपिएको छ । घेराबार र संरक्षणका लागि डिभिजन वन कार्यालयले चालु आर्थिक वर्षमा रु तीन लाख सहयोग गरेको छ । एकै ठाउँमा १०८ वटा पीपलको बिरुवा भएको ठाउँमा पूजाआजा गरेमा मोक्ष प्राप्त हुने धार्मिक विश्वास छ ।

यसअघि स्थानीयवासी १०८ पीपलको पूजा गर्न बागलुङको बलेवा पुग्ने गरेका थिए । कैलाशफाँट धार्मिक वन जिल्लाको दोस्रो हो । यसअघि बेनी नगरपालिका–३ भकिम्लीमा धार्मिक वन समुदायलाई हस्तान्तरण गरिएको थियो । म्याग्दी जिल्लाभर ३१८ सामुदायिक वन उपभोक्तालाई हस्तान्तरण गरिएको सहायक वन अधिकृत चन्द्रमणि सापकोटाले बताउनुभयो ।