गर्मी छल्ने उपयुक्त स्थान मूलपानी

भजनी २७ जेठ (रासस)ः कैलालीको टीकापुर नगरपालिका वडा नं. २ को जनशक्ति सामुदायिक वन क्षेत्र भित्रको मूलपानी आन्तरिक पर्यटकहरुको आकर्षणको केन्द्र बन्न थालेको छ । कर्णाली नदी किनारमा नदीजन्य पदार्थ उत्खनन् गर्दा भएको खाल्डोमा जमिनबाट पानी आउन थालेपछि त्यसलाई स्थानीयवासीले गर्मी याममा नुहाउने स्थान बनाएका थिए । विस्तारै त्यस स्थानको प्रचारप्रसार हुन थालेपछि मूलपानीका नामले परिचित बनेको स्थल अहिले आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र बनेको हो ।
यतिबेला गर्मीबाट शितलताको अनुभूति गर्न मूलपानीमा नुहाउन जानेको भिड लाग्ने गरेको छ । गर्मी यामका लागि मूलपानी उपयुक्त स्थान बनेकाले दैनिक पाँच सयदेखि एक हजारसम्म आन्तरिक पर्यटकहरु नुहाउनकै लागि पुग्ने गरेका छन् । टीकापुर नगरपालिकाका विकास चौधरीले मूलपानी क्षेत्रको संरक्षण र प्रचारप्रसार गर्न सके आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि राम्रो गन्तव्य बन्न सक्ने बताउनुभयो । नजिकैको कर्णाली नदीको पानी उपयोग गर्न सके मूलपानी क्षेत्रको महत्व बढ्ने उल्लेख गर्दै उहाँले पर्यटकीय क्षेत्रको प्रचारप्रसार र संरक्षणमा स्थानीय सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयोे । “मूलपानीमा नुहाउनका लागि मात्रै नभइ पिकनिक स्थलको रुपमा पनि प्रयोग गर्न सकिने भएकाले सामुदायिक वनसँग समन्वय गरेर स्थानीय सरकारले त्यस स्थानको संरक्षण र संवर्धन गर्न सक्नुपर्छ,” स्थानीवासीचौधरीले भन्नुभयो, “एकाएक पर्यटकका लागि आकर्षणको केन्द्र बनेको मूलपानी भविष्यको राम्रो गन्तव्य बन्न सक्छ ।”
टीकापुर नगरपालिकाका भूपेन्द्र साउदले मूलपानी गर्मी यामका लागि निकै उपयुक्त पर्यटकीय गन्तव्य भएको बताउनुभयो । उहाँले गर्मी छल्न आउने पर्यटकहरुको मूलपानीमा भिड नै लाग्ने गरेको बताउँदै संरक्षणको अभावले बन्न लागेको पर्यटकीय गन्तव्य ओझेलमा पर्न दिननहुनेमा जोड दिनुभयो । “यसक्षेत्रमा राज्यको लगानी हुन जरुरी छ । नजिकैको टीकापुर पार्क र कर्णाली चिसापानीका कारण पनि मूलपानीको प्रचारप्रसार भए पर्यटकका लागि नयाँ गन्तव्य स्थापित हुनसक्छ ।” साउदले भन्नुभयो, मूलपानीलाई समेत जोडेर पर्यटकीय प्याकेज बनाउन सकेको खण्डमा पर्यटकहरुलाई झन आकर्षित गर्न मद्दत मिल्नेछ ।”
मूलपानीमा अहिले दुईवटा तलाउ बनेका छन् । एकातिर महिलाहरू र अर्कोतिर पुरुषहरुले नुहाउने व्यवस्था छ । तलाउको वरिपरि तारबार लगाएर सुरक्षित बनाइएको छ । सामुदायिक वनले मूलपानी क्षेत्रमा भ्यू टावर निर्माण गरेको छ । कर्णाली नदीको अवलोकनका लागि निर्माण गरिएको भ्यू टावर पूर्ण भने हुन सकेको छैन । बजेटको अभावका कारण निर्माणका लागि सुरु गरिएका संरचना पूरा गर्न नसकिएको सामुदायिक वनका अध्यक्ष दीर्घबहादुर तिरुवाले बताउनुभयो । नजिकै पार्क निर्माणको सुरुवात गरिएको छ । पार्कमा केही खेलौनाहरु समेत राखिएका छन् । “मूलपानीलाई व्यवस्थिात गर्न सके बाह्य पर्यटकलाई समेत भित्र्याउन सकिन्छ । त्यसका लागि नगरपालिका क्षेत्र भित्रका सबै पर्यटकीय गन्तव्यहरुलाई समेटेर एउटै प्याकेज बनाउनु पर्छ ।“ अध्यक्ष तिरुवाले भन्नुभयो, “ती स्थललाई त्यसैअनुसार प्रचारप्रसार गर्न सक्नुपर्छ । बजेटको उचित व्यवस्था गरिनुपर्छ । सम्भावित क्षेत्रको पहिचान गरी संरक्षणमा समेत ध्यान पु¥याउनुपर्छ ।“
अहिले मूलपानी क्षेत्र पर्यटकहरुको आकषर्णको केन्द्र बन्दा सामुदायिक वनको आम्दानीको स्रोत पनि बढेको छ । वनले मूलपानी प्रवेश गरेको १० रुपैयाँ लिन्छ । त्यही आम्दानी भएको रकमले थप पूर्वाधारहरु निर्माणमा सहयोग पुगेको वनका अध्यक्ष तिरुवाले बताउनुभयो ।
टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौंराले नगरपालिका क्षेत्र भित्रका पर्यटकीय गन्तव्यको पहिचान गरी सबै क्षेत्रको संरक्षण सम्बर्धन र प्रचारप्रसारका लागि नगरपालिकाले पहल गर्ने बताउनुभयो । उहाँले टीकापुर पार्कलाई मात्रै नभई डल्फिन क्षेत्र, पदमप्रकाश्वर मन्दिर, मूलपानी क्षेत्रलगायत सबै सम्भावित क्षेत्रलाई समेटेर टीकापुरलाई पर्यटकको हबको रुपमा विकास गर्न सकिने जानकारी दिँदै त्यसका लागि सबै क्षेत्रको समन्वय र सहकार्य आवश्यक भएको उल्लेख गर्नुभयो ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *