‘शुद्ध खानेपानी चाहियो’

बलेवा, ३१ जेठ (रासस)ः एक महिनादेखि धमिलो पानी आएपछि बागलुङका उपभोक्ताले तत्काल शुद्ध पानी दिनुपर्ने माग गरेका छन् । उनीहरुले नगर खानेपानी सरसफाइ तथा उपभोक्ता समिति, बागलुङ नगरपालिका र प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षणसमेत गराएका छन् । उनीहरुले ती संस्थामा ज्ञापनपत्र बुझाउनाका साथै सयौँ उपभोक्ताको हस्ताक्षर पनि बुझाएका हुन् ।

अधिवक्ता बद्रीप्रसाद उपाध्याय, उपभोक्ता टेकबहादुर सार्की, डिल्लीप्रसाद गौतम लगायतको टोलीले सोमबार जिल्ला प्रशासनमा पनि ध्यानाकर्षण गरेका हुन् । प्रजिअ रमेश ढकाललाई शुद्ध पानी खुवाउन पहल गरिदिन पनि आग्रह उहाँहरुले गर्नुभयोे ।

गत वर्ष पनि यस्तै समस्या हुँदा प्रशासनको पहलले शुद्ध पानी खुवाउन पहल भएको थियो । उच्च अदालत पोखरा, बागलुङ इजलासले पनि शुद्ध पानी खुवाउन उपभोक्ता समिति र नगरपालिकालाई आदेश दिएको थियो । प्रशासनलाई नियमित अनुगमन गरेर शुद्ध पानी आए नआएको प्रतिवेदन दिन भनेको थियो । तर अझै पनि सो सम्बन्धी काम नभएको अधिवक्ता उपाध्यायाले बताउनुभयो । पीडित उपभोक्ताले धमिलो पानीको फोटोसहित प्रशासनमा उपस्थित भएका थिए ।

त्यस्तै आम नागरिकमा पखाला र छालासम्बन्धी रोग देखिएर परीक्षण गर्दा प्रदूषित पानीको प्रयोगले भएको भन्दै उपभोक्ता संस्थाले आम नागरिकको स्वास्थ्यमा खेलबाड गरेको पनि उपभोक्ताले आरोप लगाउनुभयो । “आम नागरिकको स्वास्थ्यमा आएको समस्याको जिम्मा लिने कि शुद्ध पानी खुवाउने ?” गौतमले भन्नुभयोे, “खानेपानीमा चरम लापरबाही भएको छ ।” वर्षौंदेखिको यो समस्या समाधानमा संस्था गैरजिम्मेवार बनेको समेत उहाँहरुले आरोप लगाउनुभयो ।

नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको म्यादसमेत सकिएको छ । डेढ वर्ष म्याद सकिँदा पनि संस्थाले साधारणसभा गरेको छैन । बरु उपभोक्ताले पानीको समस्या र सास्तीबारे जानकारी गराउन खोज्दा धम्क्याउने काम भएको स्थानीयवासीले गुनासो गरे ।

“पानीको पाइपहरु गाडिएको छैन, कतै चुहिने स्थानमा अलपत्रै छाडिएको छ,” बानपा–४ स्थित गौरीधाम शिवमन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायण केसीले भन्नुभयो, “यहाँका वडा नंं १, २, ३ र ४ का मानिस पीडित भइरहे पनि संस्थाले जनताको जीवनमा खेलबाड गरेको छ ।” खानेपानी उपभोक्ता संस्थालाई बोलाएर गत वर्ष नगरपालिकाले पनि शुद्ध पानी खुवाउन दबाब दिएको थियो । प्रजिअ रमेश ढकालले तत्काल संस्थाका पदाधिकारीलाई झिकाएर छलफल गर्ने र निष्कर्ष निकाल्ने बताउनुभयो ।

बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले पनि पानी शुद्ध खुवाउने विषयमा गम्भीर भएको बताउनुभयो ।

हिलाम्मे मध्यपहाडीले सधैँको सास्ती

निर्माण कम्पनीले समयमा काम नगर्दा (पुष्पलाल) मध्यपहाडी लोकमार्गको बागलुङ घोडाबाँधे खण्ड हरेक वर्षामा हिलाम्मे र हिउँदको समयमा धुलाम्मे हुने गरेको छ । बागलुङका अधिकांश स्थानीय तहको सदरमुकामसँग जोडिने मुख्य मार्ग लोकमार्गको काम समयमा नहुँदा सर्वसाधारणले सास्ती खेप्दै आएका छन् ।

ट्र्याक खोलेको २२ वर्ष बितिसक्दासमेत उक्त खण्डमा कालोपत्र हुन नसक्दा सडकको अवस्था बिजोग बन्दै गएको हो । २०५६ सालमा ट्र्याक खोलिएको सडक खण्डमा बाँकी जम्मा २५ किलोमिटर कालोपत्र गर्न पटक–पटक म्याद थप गरिए पनि समयमै काम सम्पन्न गर्न निर्माण कम्पनीले गरेको हेलचक्र्याइँका कारण आफूहरुले सास्ती भोग्न बाध्य भएको स्थानीयवासी गुरुप्रसाद कँडेल बताउँनुहुन्छ ।

वर्षा सुरु भएसँगै ठाउँठाउँमा पहिरो जाने, खाल्डाखुल्डी भएका सडकमा पानीको पोखरी हुने हुँदा सवारी साधन चलाउन र पैदल यात्रा गर्न समस्या हुन थालेको स्थानीयवासीले गुनासो गरेका छन् ।

हिउँदमा धूलो र बर्खामा हिलो खाँदा तनाव भएको उनीहरुको भनाइ थियो । निर्माण व्यवसायी कम्पनीले आर्थिक वर्ष सकिनै लाग्दा काम गरेजस्तो गर्ने तर काम नगर्ने कारणले यस्तो समस्या भोग्नु परेको स्थानीय कमला केसीले बताउनुभयो । २०७७ साल मङ्सिर २१ गते तत्कालीन प्रजिअ सुरेश न्यौपानेले निर्माण व्यवसायी कम्पनीका प्रतिनिधिलाई ६ महिनाभित्र निर्माण गर्ने लिखित सम्झौता गराए पनि कम्पनीले सम्झौता कार्यान्वयनलाई बेवास्ता गरेका छन् ।

कालोपत्र गर्न बागलुङ–अक्षेते सडक खण्डका लागि भारत सिद्धिसाई जेभीले ठेक्का लिएको छ भने बिहुँ खण्ड एमपी एसिएफ इसिसी जेभीले ठेक्का लिएको छ । दुईवटा खण्ड गरी रु ७३ करोडमा ठेक्का सम्झौता भएको थियो । भारत सिद्धि साई जेभीका सुपरभाइजर गणेश सुवेदीले तोकिएको समयमा काम नसक्दा आफूहरुले जरिवाना तिरेको बताउनुभयो । उहाँले कोभिड–१९ र स्थानीय तहको निर्वाचनका कारण समयमै काम हुन नसकेको बताउनुभयो । बागलुङ–घोडाबाँधे खण्डमा काम नहुनुको मुख्य दोष निर्माण कम्पनीको रहेको मध्यपहाडी लोकमार्गको कार्यालय पर्वतका प्रमुख नारायणदत्त भण्डारीले बताउनुभयो ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *