सेवाग्राहीको चाप बढेपछि आलोपालो प्रणाली

राष्ट्रिय परिचयपत्र बनाउनका लागि विवरण भर्न आउने सेवाग्राहीको चाप बढेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आलोपालो प्रणालीअनुसार सेवा दिने भएको छ ।

दुईवटा दर्ता स्टेशनको व्यवस्था गरी विवरण दर्ता गराउने व्यवस्था मिलाइए पनि सेवाग्राहीको चाप बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले बिहीबार सूचना जारी गर्दै यही असार ७ गतेदेखि आलोपालो प्रणालीअनुसार सेवा दिने व्यवस्था मिलाउने भएको हो ।

काभ्रेपलाञ्चोकका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारले राष्ट्रिय परिचयपत्र विवरण दर्ता गर्न आउने सेवाग्राहीहरुको चापका कारण विवरण दर्ता गर्न नसकिने भएकाले सेवाग्राही फिर्ता जानुपरेको अवस्थालाई ध्यानमा राखेर आलोपालो प्रणालीमा सेवा दिन लागिएको बताउनुभयो ।

उहाँका अनुसार आजदेखि असार ६ गतेसम्मका लागि टोकन वितरण गरिसकेकाले ७ गतेदेखि स्थानीय पालिकाका नागरिकहरुलाई बारअनुसार सेवा दिने व्यवस्था मिलाइएको छ । स्थानीय तहगत आधारमा धुलिखेल र बनेपा नगरपालिका तथा रोशी र चौरीदेउराली गाउँपालिकाका सेवाग्राहीलाई आइतबार र बुधबार तोकिएको छ ।

त्यस्तै पनौती र नमोबुद्ध नगरपालिका तथा बेथानचोक र तेमाल गाउँपालिकाका सेवाग्राहीलाई सोमबार र मङ्गलबार तोकिएको छ भने पाँचखाल र मण्डनदेउपुर नगरपालिका तथा भुम्लु गाउँपालिकाका सेवाग्राहीलाई बिहीबार र शुक्रबार तोकिएको कार्यालयले जनाएको छ । जिल्लाको डाँडापारिस्थित महाभारत र खानीखोला गाउँपालिकाका सेवाग्राहीहरुका लागि भने हरेक दिन सेवा उपलब्ध हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *