खडेरीले रोपाइँ गर्न समस्या

समयमै वर्षा नहुँदा किसानलाई रोपाइँ गर्न समस्या भएको छ । आकाशे पानीको भरमा धान रोप्दै आएका यहाँका किसान कहिले पानी पर्ला भनेर आकाश हेरेर बसेका छन् । यहाँ अधिकांश क्षेत्रमा आकाशे पानीको भरमा रोपाइँ गर्ने गरिएको छ ।

यो समय रोपाइँका लागि उत्तम समयको रहेको भए पनि वर्षा नहुँदा समस्या भएको किसानले बताएका छन् । ब्याड राखिएको बीउ रोप्न योग्य भए पनि पानीको अभावमा खेत बाँझै रहेको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटका किसान मानसिंह विष्टले जानकारी दिनुभयो । रोप्नका लागि बनाइएको बेर्नासमेत पानीका मूल सुक्दै जाँदा बचाउन मुस्किल भएको छ । उहाँले भन्नुभयो, “हाम्रो खेतमा सिँचाइ सुविधा छैन । आकाशे पानी पर्खिरहेका छौँ । अहिलेसम्म धान रोप्न पाएका छैनौँ, बेर्ना सुक्दै गएका छन् ।”

गत जेठ १५ गतेदेखि असार मसान्तसम्म रोपाइँका लागि उत्तम समय मानिन्छ । जिल्लामा हालसम्म बढीमा १५ प्रतिशतमा मात्रै रोपाइँ भएको अनुमान कृषि ज्ञान केन्द्रको छ । बेसीक्षेत्र तथा सिँचाइ सुविधा भएका क्षेत्रमा मात्रै रोपाइँ भएको केन्द्रका कृषि प्रचार अधिकृत नरेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो । रोपाइँका लागि यो उपयुक्त समय हो । वर्षा नहुँदा यो समयमा रोपाइँ गर्न सकिएको छैन । उहाँले भन्नुभयो, “असारभित्र धान रोप्नका लागि उपयुक्त समय हो तर यो समयमा रोपाइँ गर्न सकिएन भने उत्पादनमा कमी हुन्छ ।” रोप्नका लागि बनाइएको बेर्नालाई एक महिनासम्म रोपिसक्नुपर्छ उहाँले भन्नुभयो, “बेर्नालाई २१ देखि ३० दिनभित्र रोपिसक्नुपर्छ, यो अवधिमा रोप्न सकिएन भने उत्पादन कम हुन्छ ।”

यस वर्ष समयमा रोपाइँ सुरु हुन नसक्दा बेर्ना सुक्दै गएका र ढिला रोप्दा रोगकिराको समस्या देखा पर्ने गर्दछ । कृषि प्रचार अधिकृत चन्दले भन्नुभयो, “बेर्नालाई समयमै रोप्न सकिएन भने पछि गएर धानमा रोगकिराले आक्रमण गर्ने, टुप्पो सुक्नेजस्ता रोग देखा पर्छन् र उत्पादनमा ह्रास आउँछ ।” जिल्लाको सुर्नया नदी किनार, चौलानी नदी किनार, पुर्चौडीको हाट, पाटन, पञ्चेश्वरलगायतका बेँसी क्षेत्रमा रोपाइँ भए पनि अन्य क्षेत्रमा बाँकी छ । पाटन नगरपालिकाको पाटन फाँट, सलेना, डिलाशैनी र सिगास गाउँपालिकाका विभिन्न क्षेत्र, दशरथचन्द नगरपालिकाको सेरालाई धानखेतीको पकेट क्षेत्र हुन् ।

धानबाली बर्खेबालीमध्ये मुख्यबालीको रुपमा रहेको छ । यो बैतडीका बेँसी क्षेत्रमा बढी उत्पादन हुने गरेको छ । बैतडीमा नौ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *