बर्खा लागेपछि हुल्दीवासीलाई पहिराको चिन्ता

बर्खा लाग्यो की हुल्दीवासीको मनमा चिसो पस्छ । गाउँको चारैतिर ठूलाठूला चिरा परेको पहिरोको बीचमा रहेको छ हुल्दी गाउँ । बागलुङको निसीखोला गाउँपालिका–१ मा पर्ने हुल्दी गाउँ वर्षौदेखि पहिरोको चपेटामा पर्दै आएकाले उनीहरुलाई बर्खा लागेपछि पहिराले पिरोल्ने गरेको हो । सानोतिनो पहिरो वषँै पहिलेदेखि झदै आएको हुल्दी गाउँमा २०७३ असारमा परेको पानीले धेरै स्थानमा पहिरा जनाका साथै घरहरु पनि चर्किएका थिए ।

जब वर्षायाम सुरु हुन्छ तब उनीहरुमा मरिन्छ की भन्ने चिन्ताले पिरोली रहन्छ । हिउँदको समय बस्तीमा त्रास कम भए पनि ठूलो वर्षा हुनासाथ भयले उनीहरुको मन ग्रस्त हुन्छ । बर्खालागेपछि कतै पहिरोले गाउँनै बगाउने पो हो की भनेर हुल्दीबासी रातभर सुत्न सक्दैनन्। हुल्दी गाउँ चारैतिरबाट पहिरोले घेरिएको हुँदा कतै सुरक्षित भएर बस्न सक्ने अवस्था नभएका करण त्यहाँका बासिन्दा विस्थापित हुने अवस्थामा पुगेका

छन् ।

लगातार ठूलो वर्षा हुन थाल्यो भने यहाँका अधिकांश मानिस आफ्ना पशुचौपाया लिएर गाउँभन्दा माथिको जङ्गलको दह भन्ने स्थानमा अस्थायी बसोबास गर्न बाध्य हुने पहिरोपीडित चन्द्रबहादुर सिञ्जाली मगरको गुनासो थियो । उहाँले हिउँदमा जसोतसो गाउँमै बस्नु बस्ने गरेको र बर्खा लागेपछि पहिरो छल्न घरमाथिको जङ्गलमा बस्नुपर्ने अवस्था रहेको बताउनुभयो । हुल्दी गाउँमा साना ठूलो गरी करिब १०० स्थानमा पहिरो गएको छ । जमिन पहिरोले चिराचिरा परे पनि कतिपय स्थानीयवासी ज्यान हत्केलामा राखेर गाउँमै बस्न विवश छन् ।

गाउँमा हरेक वर्ष पहिरोले घर र खेतबारी बगाउने गरेको छ । सिङ्गो गाउँनै पहिरोको उच्च जोखिममा परेपछि भूगर्भविदले यसको अध्ययन गरेर बस्न नमिल्ने निचोड निकालिसके पनि स्थानीयवासी विकल्प नपाउँदा सोही स्थानमा बस्दै आएका छन् । हुल्दी गाउँसँगै देवीस्थानको खारा बजार, खाडु बजार, काँडा कटेनी र बाहुन गाउँको हालत पनि उस्तै छ । स्थानीयवासीले गाउँ छोड्न सकेका छैनन् । निसिखोला गाउँपालिका जिल्लाकै सबैभन्दा बढी बाढीपहिरो पीडित पालिका हो । उक्त पालिकामा २८२ घरपरिवार पहिरोले विस्थापित भएका छन् ।

त्यहाँ रहेका घरमध्ये २६० घर स्थानान्तरण गर्नुपर्ने अवस्थामा रहेको निसिखोला गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले बताउनुभयो । गाउँपालिका–१ को देवीस्थान, खारा बजारका ४१ घर, हुल्दी गाउँका १०० घर, वडा नं २ खाडुका ११ घर, वडा नं २ कै काँडा, किटेनी र बाहुनगाउँका ६० घर, वडा नं ३ धाराखर्क खग्रेनीका ४८ घर स्थान्तरण गर्नुपर्ने अवस्थामा रहेको छ ।

वडा नं ४ का तीन घर वडा नं ५ का ८ घर, वडा नं ६ का ४ घर र वडा नं ७ मा सातवटा घर पहिरोको उच्च जोखिममा रहेको गाउँपालिकाले जनाएको छ । ती घरलाई ग्याबिन निर्माण वा अन्यत्र व्यवस्थापन गरेर सुरक्षित गर्न सकिने विकल्प रहेपनि सरकारले आफूहरुको समस्या बुझ्न र समाधानमा बेवास्ता गरेको स्थानीयवासीको भनाइ थियो । पहिरोले गाउँ छियाछिया पारे पनि सरकारले बेवास्था गरेकामा स्थानीयवासी आक्रोशित छन् । पहिरोपीडित खिमकुमारी रामजालीले पानी पर्दा दौडिएर जङ्गलमा जानुपर्ने भएकाले आफूहरुका लागि सरकारले उचित व्यवस्था गर्नुपर्ने बताउनुभयो । यस क्षेत्रका बासिन्दाले हिउँदको समयमा जसोतसो जीवन निर्वाह गरे पनि बर्खामा गाँस, बास र कपासको ठेगान नभएको बताए ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *