पर्साका उद्योगी व्यवसायीद्वारा मन्त्री भुसालसँग भेटघाट

पर्साका उद्योगी व्यवसायीको टोलीले काठमाडाँै पुगेर ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग भेटघाट गरेको छ । टोलीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँगसमेत भेटघाट गरेको छ ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा सुबोधकुमार गुप्ताको नेतृत्वमा गएको टोलीले मन्त्री भुसाल र कार्यकारी निर्देशक घिसिङको कार्यकक्षमा छुट्टाछुट्टै भेटघाट गरी विद्युत् आपूर्तिमा देखिएको समस्याबारे छलफल गरेको हो । भेटघाटका क्रममा सङ्घका अध्यक्ष डा गुप्ताले विद्युत् उत्पादन र प्रभावकारी वितरण व्यवस्था नभएकाले मुलुकभर विद्युत् आपूर्तिमा समस्या आइरहेको बताउनुभयो । बारा–पर्सा औद्योगिक कोरिडोरमा विद्युत्को घोषित लोडसेडिङ हटे पनि नियमित विद्युत् आपूर्ति हुन नसकेको र प्राप्त विद्युत्को गुणस्तर कमजोर भएकोले औद्योगिक उत्पादनमा नकारात्मक प्रभाव परेको उहाँले बताउनुभयो ।

बारा–पर्सा औद्योगिक कोरिडोरको विद्युत् वितरण प्रणाली करिब २०–२५ वर्ष पुरानो रहेको र त्यस बेलाको तुलनामा अहिले विद्युत् माग बढेको, नयाँ नयाँ उद्योग स्थापना भएको, गार्हस्थ्य विद्युत् खपत दर बढेको, प्राधिकरणको बढी विद्युत् खपत गराउने नीतिअनुसार इन्डक्शन चुल्हो, विद्युतीय सवारी साधनको वृद्धिसँग विद्युत् खपत बढेको भए पनि सोअनुसार आपूर्तिका लागि वितरण लाइनको क्षमता कम भएको, ट्रान्सफर्मरको कमी रहेको, दक्ष जनशक्तिको कमी र व्यवस्थापकीय कमजोरीका कारण उद्योगी व्यवसायीलाई गुणस्तरीय विद्युत् आपूर्ति हुन नसकेकोबारे टोलीले अवगत गराएको थियो ।

त्यस्तै तराई क्षेत्रमा विद्युत्को लाइनका लागि सिमेन्टको पोल जमिनमा गाड्दा जरामा ढलान नगरिएका कारण पोल ढल्कने, तारहरु लतरिने र समय समयमा दुर्घटना हुने गरेकाले पोल गाड्दा जरामा ढलानको व्यवस्थापन गर्न टोलीले सुझाव दिएको छ । सो अवसरमा मन्त्री भुसालले विगत केही दिनदेखि विद्युत् आपूर्तिमा भइरहेको ट्रिपिङ र नियमित आपूर्तिमा देखिएको समस्याप्रति आपूm गम्भीर रहेको बताउनुभयो । उहाँले औद्योगिक फिडरहरुमा गुणस्तरीय ट्रिपिङ समस्या समाधान गर्न नियमित विद्युत् आपूर्ति गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिइसकेको बताउनुभयो ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले प्राधिकरणले आन्तरिक स्रोत साधनबाट कार्य सञ्चालन गर्दै आइरहेको र नेपाल सरकारबाट पर्याप्त बजेट प्राप्त हुन नसकेकले प्राधिकरणका परियोजनाहरु तीव्र गतिमा अघि बढ्न नसकेको सो अवसरमा टोलीलाई जानकारी दिनुभयो । भेटघाटका क्रममा सङ्घका उपाध्यक्षद्वय हरि गौतम र माधव राजपाल, महासचिव मनोजकुमार दास, सचिव आशीष लाठ, सह–कोषाध्यक्ष प्रेमचन्द्र गोयललगायतको उपस्थिति थियो ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *