अन्तरसमन्वय बैठक सम्पन्न

सुदूरपश्चिम प्रदेशका पहाडी चार जिल्लाको अन्तर समन्वय बैठक बैतडीको पाटनमा सम्पन्न भएको छ । बैतडीसहित बझाङ, डडेल्धुरा र डोटीको अन्तर जिल्ला समन्वय बैठक सम्पन्न भएको हो ।

बैठकमा चारवटै जिल्लामा शान्ति सुरक्षा, विपद् व्यवस्थापन,आपराधिक क्रियाकलाप न्यूनीकरण, लागुऔषध ओसारपसार नियन्त्रण, सार्वजनिक यातायात व्यवस्थित, मदिरा बिक्रीवितरणको व्यवस्थापनलगायतका विषयमा छलफल भएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय बैतडीले आयोजना गरेको बैठकमा शान्ति सुरक्षाका लागि आपसी सहयोग आदान–प्रदान गर्ने, एक अर्का जिल्लाको असल अभ्यास कार्यान्वयन गर्ने, राजमार्गलाई अवरुद्ध हुन नदिन आ–आफ्नातर्फबाट पहल गर्ने र त्यसका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने निर्णय भएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताउनुभयो । महाकाली राजमार्ग, दशरथचन्द राजमार्ग, भीमदत्त राजमार्ग, डा केआइसिंह राजमार्ग र जयपृथ्वी राजमार्ग बर्सातका बेला अवरुद्ध हुनसक्ने भएकाले ती राजमार्ग सुचारुका लागि संयुक्त पहल गर्ने निर्णयसमेत भएको छ ।

यस्तै जिल्लाका सीमानाकामा नियमित चेकगरी लागुऔषध नियन्त्रण, मानव बेचबिखन रोकथाम, आपराधिक क्रियाकलाप नियन्त्रण गर्न समन्वय गर्नेलगायतका कार्यमा संयुक्त पहल गर्ने निर्णय भएको छ । यस्तै सार्वजनिक सवारी साधनमा सिट क्षमताभन्दा बढी यात्रु नराख्ने प्रावधानलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्ने र मदिरा बिक्री वितरणलाई निश्चित समय तोकी व्यवस्थापन गर्ने निर्णयसमेत भएको छ ।

बैठकमा ती चारै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखलगायतको सहभागिता थियो ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *