पानी परेपछि किसान खुसी

दाङ, १५ असार (रासस) ः असारको दोस्रो हप्तासम्म दाङमा ५ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी मनोजकुमार सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार गतवर्ष सो अवधिमा जिल्लामा ६० प्रतिशत रोपाइँ सम्पन्न भएको थियो ।

अहिलेसम्म जिल्लाको देउखुरी क्षेत्रका केही गाउँमा रोपाइँ सम्पन्न भइसकेको छ । घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, बबई, शान्तिनगर, दङ्गीशरण, गढवा, राजपुरलगायतका गाउँपालिकाका केही ठाउँमा छिट्पुट रुपमा मात्र रोपाइँ सम्पन्न भएका छन् । तीमध्ये केही ठाउँमा रोपाइँका लागि तयार भइसकेको बीऊ पनि मर्न थालेकोमा गएराति परेको पानीले धेरै राहत मिलेको किसान बताउँछन् । केही ठाउँमा किसानले जसोतसो गरेर धानको बीउसम्म राखेका छन् । कुनै ठाउँमा भने अझै बीउसमेत राख्न सकेका छैनन् ।

यसैबीच गएरातिदेखि यस जिल्लामा पानी परेकाले किसान खुसी भएका छन् ।

आज बिहानैदेखि यहाँका किसान खेतीपातीको काममा व्यस्त छन् । मानो छरेर मुरी फलाउने यस समयमा किसान दिनभर खेतपातीको काममा व्यस्त देखिन्छन् । जिल्लामा छिटपुट रुपमा वर्षा भए पनि खोला नै आउने गरी अझै पानी परेको थिएन, गएरातिदेखि पानी परेकाले अब खेतीपाती हुन्छकी भन्ने आशा पलाएको छ, पश्चिम दाङको शान्ति नगर गाउँपालिका–७ धनौराका ४० वर्र्षीय भानु चौधरीले भन्नुभयो ।

उहाँले भन्नुभयो,“कुुलोमा केहिले पानी आउला र धान रोपाइँ गरौँला भनी कुरेर बसेको थिएँ । रातिदेखि ठूलो पानी परेपछि आज बिहानैदेखि खेत जोत्न सुरु गरेको छु ।” यसैगरी पानी परे अबको चार दिनमा धान रोपाइँ सुरु गर्ने सकिने बताउनुभयो । उहाँले थप्नुभयो,“ब्याड रोप्नका लागि तयार भइसकेको छ अब यसैगरी निरन्तर पानी परेपछि ट्र्याक्टर प्रयोग गरेपछि तीन चार दिनमै रोपाइँ गर्ने गरी तयारीमा छु ।” उहाँले यसपटक धान रोपाइँ गर्दा आवश्यक पर्ने मल नहुँदा उत्पादनमा कमी आउने बताउनुभयो ।

त्यसैगरी तुलसीपुर उपमहानगरपालिका–१३ ढकनाका ५० वर्षीया रेशमी भट्टराईले पनि पर्याप्त पानी नहुँदा धान रोपाइँ गर्न नसकेको बताउनुभयो । समयमा पानी नपरेपछि धानको बीउ बोरिङको पानी प्रयोग गरेर राखेको बताउनुहुने उहाँले गएराति परेको पानीले केही आशा पलाएको बताउनभयो । उहाँले यहाँका अधिकांश खेत आकाशे पानीको भरमा हुने र पर्याप्त वर्षा नहुँदा रोपाइँ गर्न समस्या हुने बताउनुभयो ।

तुलसीपुर नगरपालिका–६ रजौराका ५५ वर्षीया ज्ञानु चौधरीले पनि गएराति परेको पानीले आफूजस्ता सयाँै किसानलाई धेरै राहत मिलेको बताउनुभयो । वर्षा निरन्तर भएमा एक हप्ताभित्र धान रोपाइँ सुरु गर्ने चौधरीले बताउनुभयो ।

यसैबीच १९आँै राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव यस जिल्लामा पनि सम्पन्न भएको छ । जिल्लाको तुलसीपुर, घोराही, लमही ,राप्ती गाउँपालिका लगायतका स्थानमा रोपाइँ महोत्सव गरिएको छ । त्ुालसीपुर उपमहानगरपालिकाले आयोजना गरेको धान रोपाइँ वडा नं १ को भमके गाउँमा सम्पन्न भएको छ ।

धान रोपाइँ कार्यक्रममा नगरप्रमुख टीकाराम खड्का उपप्रमुख स्यानी चौधरी, नेकपा (एमाले)का केन्द्रिय सदस्य कोमल बलीसहित, विभिन्न दलका प्रतिनिधि,महिला अधिकारकर्मी लगायतको सहभागिता रहेको थियो ।

जिल्लामा गत वर्ष ३८ हजार हेक्टर क्षेत्रफल जग्गामा धानखेती गरिएकोमा यसवर्ष ३९ हजार ४०० हेक्टर क्षेत्रफल जग्गामा धानखेती गरिने अनुमान गरिएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । केन्द्रका अनुसार यहाँका किसानले सावित्री, राधा ४, सुनौलो सुगन्ध, लोकतन्त्र, गोरखनाथ, लोकनाथ, युएस ३१२, लगायतका वर्णसङ्कर जातका धान लगाएका छन् । यस्तै कम पानी हुने ठाउँमा सुक्खा–१, सुक्खा –२, सुक्खा–३ जातका धान लगाउने गरिएको छ । जिल्लामा यसपटक धान रोपाइँको लागि आवश्यक पर्ने रासायनिक मलकासमेत अभाव रहेको

छ । जिल्लामा युरिया मलको अभाव भएपछि किसानले मल नहालेर नै धान रोपाइँ गर्न थालेका छन् ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *