बागमती प्रदेशसभा ः बजेटसम्बन्धी छलफल सकियो

 

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि ल्याएको विनियोजित बजेटमाथिको छलफल सकिएको छ । यही असार १२ गतेदेखि सुरु भएको उक्त छलफल गए राति सकिएको हो ।

प्रदेशसभाको दशौँ अधिवेशनअन्तर्गत बुधबारको बैठकमा प्रदेशसभा सदस्यहरुले मन्त्रालयको विषयगत शीर्षकमाथि उठाएका प्रश्नको सम्बन्धित मन्त्री तथा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले जवाफ दिनुभएको थियो । बैठकमा मुख्यमन्त्री पाण्डेसहित, संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठ, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठ, भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री बलराम पौडेल, युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकाल, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री वसन्त मानन्धर, श्रम रोजगार तथा यातायातमन्त्री घनश्याम दाहाल, वन तथा वातावरणमन्त्री विशाल खड्का, कृषि तथा पशुपन्छी विकासमन्त्री वसुन्धरा हुमागाई, स्वास्थ्यमन्त्री निमा लामा, सामाजिक विकासमन्त्री कुमारी मोक्तान, भौतिक पूर्वाधार विकासमन्त्री कृष्णलाल भण्डेल, आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनाल, आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले बजेटबारे उठाएका प्रश्नको जवाफ दिनुभएको हो ।

प्रश्नको जवाफ दिँदै उहाँहरुले समग्र प्रदेशको विकासका लागि आएका योजनाका लागि बजेट प्रर्याप्त नभए पनि सरकारले सक्दो प्रयास गर्ने गरेर आवश्यक योजनामा बजेट विनियोजन गरेको बताउनुभयो । उहाँहरुले योजना र गर्नुपर्ने काम बढी भएकाले आर्थिक वर्षको बीचमा पनि आवश्यकताको आधारमा योजना तथा बजेट थप गरेर काम गर्नुपर्ने बताउनुभयो ।

विगतका सरकारले ल्याएको जस्तो हचुवाको योजना र काम गर्न नसकिने महत्वकांक्षी योजना वर्तमान सरकारले बजेटमा समावेश नगरेको उहाँहरुले उल्लेख गर्नुभयो । सरकारले लक्ष्यअनुसार, योजना कार्यान्वयन गरेर खर्च गर्ने गरी बजेट विनियोजन गरेको र क्रमागत योजनाका लागि कार्यविधि नै तयार पारेर अघि बढाएको उहाँहरुले उल्लेख गर्नुभयो ।

बागमती प्रदेशसभाको बैठक आज बिहान ११ बजे बस्ने तय भएको छ । बैठकमा बजेट पारित गर्ने तयारी गरिएको बताइएको छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *