मधेश प्रदेशका शहीद परिवारलाई भरणपोषण र छात्रवृत्ति

मधेश आन्दोलन र जनयुद्धका क्रममा शहीद भएकाको परिवारलाई भरणपोषणबापत मधेश प्रदेश सरकारले आर्थिक सहयोग प्रदान गर्ने भएको छ । शहीद परिवारको भरणपोषणबापत प्रदेशको गृह तथा सञ्चार मन्त्रालयले मधेशी शहीद प्रतिष्ठानमार्फत शहीद परिवारलाई मासिक रु १२ हजारका दरले आर्थिक सहयोग प्रदान गर्न लागेको हो ।

यस्तै शहीद परिवारका छोराछोरीलाई निःशुल्क पठनपाठनका लागि छात्रवृत्तिसमेत दिन लागिएको मन्त्रालयका सचिव रामकुमार महतोले जानकारी दिनुभयो । ‘‘शहीद परिवारको भरणपोषण तथा छात्रवृत्तिका लागि आवेदन दिन हामीले सूचना जारी गरेका छौँ”, उहाँले भन्नुभयो,‘‘यसका लागि प्रदेश सरकारले यस वर्ष रु एक करोड विनियोजन गरेको छ, अब कतिको सङ्ख्यामा आवेदन आउँछ त्यही हिसाबले हामी रकम वितरण गर्छाँै तर कार्यविधिमा रु २१ हजारसम्म दिने भनिएको छ, निवेदन कतिको सङ्ख्यामा आउँछ त्यही अनुसार रकम घटबढ पनि हुनसक्छ ।”

शहीद परिवारको छोराछोरीलाई कक्षा १ देखि ६ सम्मलाई रु १६ हजार र कक्षा ७ देखि १२ सम्मलाई रु १८ हजार एकमुष्ट वार्षिक रुपमा छात्रवृत्ति दिन लागिएको सचिव महतोले बताउनुभयो । प्रदेश सरकारको भरणपोषण तथा छात्रवृत्तिसम्बन्धी कार्यविधि २०७९ को दफा (६) बमोजिम मधेश आन्दोलन तथा जनयुद्धमा शहीद भएका परिवारमध्ये आर्थिक अवस्था कमजोर भएको परिवारलाई पहिलो प्राथमिकतामा राखी भरणपोषणबापत आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको मन्त्रालयले जनाएको छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *