साझेदारी वनद्वारा साढे तीन लाख बिरुवा उत्पादन

कपिलवस्तुका तीन साझेदारी वनले साढे तीन लाख बिरुवा उत्पादन गरेका छन । कपिलवस्तु साझेदारी वन, शिवराज साझेदारी वन र गौतमबुद्ध साझेदारी वनले विभिन्न बिरुवा उत्पादन गरी वितरणको तयारी गरेका छन् ।

उजाड र वन अतिक्रमित क्षेत्रमा वृक्षरोपण गर्नका लागि बिरुवा उत्पादन गरी वितरण गर्ने कार्यक्रम राखिएको डिभिजन वन कार्यालयका प्रमुख दधिलाल कँडेलले जानकारी दिनुभयो । बिहीबार वन अतिक्रमित क्षेत्र तथा नर्सरी क्षेत्रको अनुगमनका क्रममा वातावरण हरियाली र वन क्षेत्र बढाउने उद्देश्यले कपिलवस्तुको शिवराज नगरपालिका, महाराजगञ्ज नगरपालिका, कृष्णनगर नगरपालिका र विजयनगर गाउँपालिकामा वृक्षरोपणका लागि सबै साझेदारी तथा डिभिजन वनले बिरुवा उत्पादन गरिरहेको बताउनुभयो ।

विगतका वर्षमा जस्तै यस वर्ष पनि साझेदारी वनले उपभोक्तालाई ध्यानमा राखी फलफूलका बिरुवा वितरण गर्ने कपिलवस्तु साझेदारी वनका अध्यक्ष गणेश तिवारीले बताउनुभयो । बिरुवाको मागसहित निवेदन दिने क्रम सुरु भएकाले अब केही दिनमा वितरण सुरु गरिने तिवारीले बताउनुभयो ।

कपिलवस्तु साझेदारी वनले एक लाख ३० हजार बिरुवा उत्पादन गरेको छ । महाराजगञ्ज नगरपालिका क्षेत्रमा विभिन्न नर्सरीमा बिरुवा उत्पादन गरेको सहायक वन अधिकृत एजाज अन्सारीले बताउनुभयो । यस्तै शिवराज साझेदारी वनले यस वर्ष एक लाख २० हजार र गौतमबुद्ध साझेदारी वनले एक लाख १० हजार बिरुवा उत्पादन गरेका छन् । टिक, मसाला, सफेता, निम, तेजपात बकाइनो, जमुनालगायत बिरुवा उत्पादन भएको र उपभोक्तालाई निःशुल्करूपमा बिरुवा वितरण गर्ने तयारीमा रहेको सहायक वन अधिकृत प्रेमशङ्कर गुप्ताले बताउनुभयो ।

डिभिजन वन कार्यालय गौतमबुद्धले यस वर्ष दुई लाख ८७ हजार बिरुवा उत्पादन गरेको छ । बहुवर्षीय बिरुवाअन्तर्गत गत वर्षका ९१ हजार बिरुवा पनि यसै वर्ष वितरण गरिने डिभिजन वन कार्यालय योजना शाखाका अधिकृत गणेश चौधरीले बताउनुभयो ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *